June 19th, 2019

व्यापारघाटा ११ खर्ब, चिनतर्फको निर्यात घट्यो

बैंकिङ खबर । आर्थिक वर्ष २०७५/७६ को दश महिनामा कुल वस्तु व्यापार घाटा ११ खर्ब नजिक पुगेको छ । गत आर्थिक वर्षको १० महिनाको तुलनामा व्यापारघाटा १९.७ प्रतिशतले बढेर १० खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ पुगेको हो ।

यो अवधिमा निर्यात–आयात अनुपात ६.७ प्रतिशत कायम भएको छ जबकी अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.८ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, वस्तु निर्यात १८.१ प्रतिशतले बढेर ७८ अर्ब ५३ करोड रुपैयाँ पुग्दा आयात भने १९.६ प्रतिशतले बढेर ११ खर्ब ७८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।

आयात निर्यात बिचमा अझै पनि ठूलो अन्तर देखिएतापनि आयात वृद्धिदर घट्दो र निर्यात वृद्धिदर बढ्दो क्रममा देखिएको छ । गत आर्थिक वर्षको १० महिनामा निर्यात वृद्धिदर ९ प्रतिशत रहेकोमा अहिले दोब्बर पुगेको छ भने आयात वृद्धिदर पनि २१.८ प्रतिशतबाट एक वर्षमा १९.६ प्रतिशतमा झरेको छ । आयात वृद्धिदरको घट्दो दर सुस्त रहेपनि निर्यात वृद्धिदरको तीव्र रुपमा बढ्दो अवस्थाले अर्थतन्त्रको सकारात्मक विकासको संकेत गरेको छ ।

गन्तव्यका आधारमा हेर्दा, निर्यात वृद्धि भारततर्फ ३१.९ प्रतिशत र अन्य मुलुकतर्फ २.३ प्रतिशत छ । चिनतर्फको निर्यात भने २९ प्रतिशतले घटेको छ । आयात भने भारत र चीन दुवै मुलुकबाट बढेको छ । बैशाख मसान्तसम्मको तथ्यांक अनुसार, भारतबाट भएको आयात १७.२ प्रतिशत, चीनबाट भएको आयात ३३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.८ प्रतिशतले बढेको छ ।

यो अवधिमा पोलिष्टर यार्न, जुटका सामान, जस्तापाता, ऊनी गलैंचा, जडीबुटी लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, जुत्ता तथा चप्पल, छाला, तयारी पोशाक, पश्मिना लगायतका वस्तुहरुको निर्यात घटेको छ । त्यस्तै, पेट्रोलियम पदार्थ, तयारी पोशाक, हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, अन्य मेसिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार लगायतका वस्तुहरुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयहरु बाहेक अन्य मुख्य भन्सार नाकाहरूबाट गरिएको निर्यातमा वृद्धि भएको छ भने सबै नाकाहरुबाट भएको आयातमा वृद्धि भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]