बैंकिङ खबर । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले दुई दिने तेश्रो त्रैमासिक समिक्षा तथा कार्ययोजना गोष्ठी सम्पन्न गरेको छ । २६ वटा शाखा प्रमुख र अन्य कर्मचारी सहभागी रहेको गोष्ठीको उद्घाटन गर्दै नेपाल एग्रो लघुवित्तका सञ्चालक समितिका अध्यक्ष रमेश कुमार कर्माचार्यले ग्राहक सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गरी उनीहरुको आयस्तरमा बृद्धि भएमा मात्र लघुवित्त संस्थाहरुको कर्जा लगानी सुरक्षित हुने बताए ।
वित्तीय संस्थाले हालसालै सर्वसाधारणको शेयर निष्काशन गरेर चुक्ता तथा जारी पुँजी रु.४ करोड ९७ लाख ७७ हजार ८ सय पुगेको र नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार मर्जरमा जानको लागि उपयुक्त संस्थाहरुको खोजी भइरहेको अध्यक्ष कर्माचार्यले जानकारी दिए ।
उक्त गोष्ठीलाई सम्वोधन गर्दै सञ्चालक विनिता कोइराला पिएचडीले अहिले बजारमा लघुवित्त संस्थाहरु बढि भएकोले वित्तीय सेवा प्रदान गर्दा थप सजग हुनुपर्ने धारणा राखिन् ।
प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालका अनुसार नेपाल एग्रो लघुवित्तले बैशाखसम्ममा १७,४०० सदस्यबाट रु.१७ करोड ९० लाख वचत संकलन गरी रु.५९ करोड ११ लाख लगानीमा रहेको हुनेगरी कर्जा प्रवाह गरेको छ । सर्वसाधारणको निक्षेपको जतन गर्न र कुनै कारणले ऋणको किस्ता प्राप्त नभएमा असुल गर्ने कानूनी प्रकृयाको लागि लेखा र अभिलेख व्यवस्थित हुनुपर्ने, साथै वजारको थप जोखिमलाई मध्यनजर गर्दै ऋण प्रदान गर्नुपुर्व सदस्यको अनुशासन, क्षमता जस्ता कुराहरुको बारेमा छरछिमेकसम्म पुग्नुपर्ने भएको प्रमुख कार्यकारी अधिकृत लम्सालले बताए ।
कार्यक्रममा २६ वटै शाखा प्रमुखहरुले आफ्नो शाखाको प्रगति तथा लक्ष बताएपछि कार्यसञ्चालक तथा कर्जा विभाग प्रमुख नयन देवकोटा, सूचना प्रविधि विभाग प्रमुख रमेश बस्याल, जनशक्ति विभाग प्रमुख भिमसेन माझी, लेखा विभाग प्रमुख भावना पौडेल र सामान्य सेवा विभाग प्रमुख पवित्रा कोइरालाले आफ्नो विभाग सम्वन्धी नीतिगत विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागीहरुलाई तीनवटा समूहमा विभाजन गरी असल सदस्यको खोजी गर्दा ध्यान दिनुपर्ने कुराहरु, कर्जाको भाखा नाग्न नदिन ध्यान दिनुपर्ने कुराहरु र गुणस्तरिय सेवा विस्तार गर्दा ध्यान दिनुपर्ने कुराहरु मध्ये कुनै एक एक विषयमा समुहगत शोधपत्र तयार गरी सम्वन्धित टोली नेताहरु बुुद्ध राज थापा, अजय कुमार मिश्र र हेमराज बस्नेतबाट प्रस्तुतिकरण तथा सहभागीहरुबाट टिप्पणी समेत गरी विषयबस्तुको गहिराइमा पुग्ने प्रयास समेत गरिएको थियो ।