Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आइपिओ निष्कासनलाई थप सहज बनाउँदै बोर्ड, न्यूनतम १० कित्ता आवेदन दिन सकिने

२०७५ चैत्र २७ गते

बैंकिङ खबर । धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्ता आवेदन दिन पाउने व्यवस्था गरेको छ । यस अघि सार्वजनिक निष्काशनमा कम्तिमा ५० कित्ता आवेदन दिनु पर्ने व्यवस्था थियो । तथापि कम्पनीहरुले विवरण पत्रमा न्यूनतम १० कित्ता आवेदनको व्यवस्था खुलाईएमा न्यूनतम १० कित्ता आवेदन दिन पाउने व्यवस्था रहेको थियो । जसमा केही साना कम्पनीहरुले आइपिओ निष्कासन का लागि १० कित्ता आवेदन दिन पाउने गरिएता पनि अन्य कम्पनीहरुले भने न्यूनतम ५० कित्ता नै आवेदन दिनु पर्ने व्यवस्था रहेको थियो ।

नयाँ व्यवस्थाले विद्यार्थी तथा स–साना पूँजी भएका वर्गको पूँजीबजारमा पहँुच बढाउने र एक नेपाली एक डिम्याट खाता अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्ता पनि आवेदन गर्न पाउने व्यवस्था गरेको बोर्डले जनाएको छ । सेबोनले यस व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित सबै निकायहरुलाई परिपत्र समेत गरि सकेको छ ।

सवै वर्गका लगानीकर्ताहरुको सहभागिता बढाउन उपलब्ध भएसम्म सबै आवेदकहरुले १० कित्ता शेयर पाउने समावेशी वितरण प्रणाली र आश्वा व्यवस्था २०७३ साल देखि लागू भएपश्चात काठमाडौं बाहिर सहित देशैभर साना तथा आम लगानीकर्ताको सहभागिता बढ्दै गएको सेबोनले जनाएको छ । जसलाई अझ व्यवस्थित गर्नु पर्ने आवश्यकता नियमनकारी निकायले औल्याएको छ ।

यस्तो समावेशी व्यवस्थाले पूँजी बजारमा विद्यार्थी सहित स–सानापूँजी भएको वर्ग समेतको सहभागिता बढ्ने र यो वर्षको एक नेपाली एक डिम्याट खाता अभियानमा समेत व्यापक सहभागिता बढी पूँजीबजारको विकास तथा विस्तारमा थप टेवा पुग्ने बोर्डले अपेक्षा रहेको छ ।

Ad