बैंकिङ खबर । उद्योगी व्यवसायीहरुले सरकारले निजी क्षेत्रलाई बुझ्न नसकेको बताएका छन् । उनीहरुले सरकारले निजी क्षेत्रसँग सुमधुर सम्बन्ध बनाउन नसकेको आरोप समेत लगाए । मुलुकको आर्थतन्त्रले गति लिन नसक्नुमा सरकार र निजी क्षेत्रबीच राम्रो सम्बन्ध नहुनु नै मुख्य कारण भएको तर्क उनीहरुले गरेका छन् ।
आइतबार बिराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश-१ को दोस्रो अधिवेशनको उद्धघाटन समारोहमा उद्योगी व्यवसायीहरुले सरकारले लगानीकर्तालाई विश्वासमा लिन नसकेको आरोप लगाएका हुन् । उनीहरुले एकअर्काबीच विश्वासको अभावकै कारण सम्बन्ध सुमधुर हुन नसकेको बताउँदै सरकार र निजी क्षेत्रको सम्बन्ध बलियो नभएसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताए ।
उद्योगीहरुले बैंकको ब्याजदर घटाउने सहमति गरेपनि अझै कार्यान्वयनमा आउन नसकेको बताउँदै सरकारले निजी क्षेत्रलाई उपेक्षा गरेको बताए । उद्योग वाणिज्य महासंघका वरिष्ठ सल्लाहकार चण्डीराज ढकालले भने “बैंक ब्याज घटाउँछु भनेर सहमति गरेको महिनौं भइसक्यो तर अहिलेसम्म ब्याजदर घटेको छैन, यस्तो अवस्थामा सरकारलाई कसरी विश्वास गर्नु ? अनि सरकारसँगको सम्बन्ध कसरी सुमधुर हुन्छ ? निजी क्षेत्रसँगको सम्बन्धलाई बलियो बनाउन सरकारले नै चाहेको छैन ।”
उद्योगीहरुले सरकारले स्वदेशी लगानीकर्तालाई विश्वास लिन नचाहने तर वैदेशिक लगानी खोजेको बताउँदै सरकार उल्टो बाटोमा हिडिरहको उल्लेख गरे । उद्योगीहरुले अधिकांश समय सरकारको आलोचना गर्न खर्चेका थिए । उनीहरुले स्वदेशी लगानीकर्तालाई विश्वासमा लिन सके वैदेशिक लगानी आवश्यक नपर्ने समेत बताए ।