बैंकिंग खबर । नेपाल धितोपत्र बोर्ड इन्टरनेसनल नेटवर्क अफ फाईनन्सियल एजुकेसन (ओइसीडी) को जनवरी १, २०१९ बाट नै लागु हुने गरि पूर्णकालिन सदस्यता प्राप्त गरेको छ । ओइसीडी धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धि नीति तथा कार्यक्रमका साथै वित्तिय साक्षरता प्रवर्धन गर्ने अन्तर्राष्ट्रिय संस्था हो । यससँगै OECD INFE को पूर्ण सदस्यता प्राप्त गर्ने बोर्ड नेपालको पहिलो निकाय हो ।
नेपालमा वित्तीय साक्षरता न्यून रहेको सन्दर्भमा विश्वव्यापी रुपमा वित्तीय साक्षरतासम्बन्धी कार्य गर्ने गरी स्थापित उक्त संस्थाको सदस्यता लिँदा पछिल्लो समय वित्तीय क्षेत्रमा विकास भएका नवीनतम ज्ञान तथा प्रविधिको जानकारी भई देशमा वित्तीय साक्षरता अभिवृद्धि सम्बन्धी विभिन्न कार्यक्रमलाई समन्वयात्मक तथा स्तरीय रुपमा सञ्चालन गर्न उपयुक्त वातावरण तयार हुन सहयोग पुग्ने विश्वास बोर्डले लिएको छ ।
ओइसीडीले वित्तीय साक्षरताको महत्वलाई आत्मसात गर्दै यस सम्बन्धी गतिविधि विस्तार गर्न एक विशिष्ट संस्थाको रुपमा स्थापना भएको हो । हाल यस संस्थामा विश्वका ६४ देशका ८६ संस्थाहरु पूर्ण सदस्यको रुपमा रहेका छन् भने नियमित सदस्यतर्फ ९५ देशका १७२ संस्थाहरु रहेका छन् ।
यससँगै बोर्ड र OECD INFE को संयुक्त आयोजनामा आगामी जुलाई २–३, २०१९ (तदनुसार असार १७–१८, २०७६) मा दुई दिने OECD-Nepal Conference on Financial Education and Financial Consumer Protection in Developing Countries विषयक प्रथम अन्तर्राष्ट्रिय स्तरको वित्तीय साक्षरता सम्मेलन गर्ने निर्णय गरेको छ । जसको लागी आवश्यक तयारी बोर्डले गरिरहेको छ ।