Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

देवः विकासमा साहारा गाभिने प्रक्रिया किन भयो असफल ?

२०७५ चैत्र १८ गते

बैंकिङ खबर । देवः विकास बैंकले साहारा विकास बैंकलाई गाभ्ने प्रक्रिया असफल भएको छ । करिब साढे २ बर्ष पहिले नै देवः विकास बैंकमा साहारा विकास बैंक गाभिने भन्दै दुई बैंक विच सम्झौता भएको थियो । उक्त सम्झौता सँगै नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले साहारा विकास बैंकको शेयर कारोबार रोक्का गरेको थियो । देवः विकास बैंकले साहारा विकास बैंकलाई खरिद गर्न लागेकोले देवः विकास बैंकको भने कारोबार रोक्का भएको थिएन ।

गत साता बसेको साहारा विकास बैंकको साधारण सभाले देवःमा विलय हुने सम्झौंता खारेज गरेसँगै देवःले साहारा विकास बैंकलाई प्राप्ति गर्ने प्रक्रिया असफल भएको हो । साहारा विकास बैंकले प्रदेश स्तरको विकास बैंक बन्नको लागि देवः सँगको सम्झौता तोडेको प्रमुख कार्यकारी अधिकृत विनय कुमार शाहले जानकारी दिए । यता देवः विकास बैंकको प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले पनि साहाराको तर्फबाट प्राप्ति प्रक्रिया तोडिएको बताए । प्रदेश स्तरको विकास बैंक बन्नको लागि सम्झौता तोडेको भन्ने जानकारी पाएका छौं तर वास्तविकता भने मर्जर कमिटीको बैंठक पछि मात्र जानकारी हुने उनले बताए।

यसरी साहारा विकास बैंकले मर्जर तोडेसँगै बैंकको शेयरमा लगानी गरेका लगानीकर्ताहरु झनै निराश बन्न पुगेका छन् । साढे दुई वर्ष देखि रोक्का रहेको शेयर देवः विकास बैंकमा जाने आशामा बसेका शेयरधनीहरुलाई उक्त समाचारले निराश बनाएको हो । देवः विकास बैंकले तीन जिल्ला कार्यक्षेत्र रहेको वेस्र्टन डेभलपमेन्ट बैंकलाई पनि प्राप्ति गर्दै छ । उक्त प्राप्ति प्रक्रियमा भने उल्लेख्य प्रगति भएकोले आगामी जेठ मसान्त भित्रमा नै एकिकृत कारोबार गरिने देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले जानकारी दिए ।

Ad