Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

३ हजार २६६ शाखा सञ्चालन गरेका वाणिज्य बैंकहरु कहिले पुग्लान ४२ स्थानीय तहमा

२०७५ चैत्र ३ गते

बैंकिङ खबर । सरकारले सबै स्थानीय तहका निकायहरुको कारोबार वाणिज्य बैंकबाट हुनै पर्ने प्रावधान लयाएपछि बैंकहरुले स्थानीय तहमा शाखा विस्तार गरिरहेका छन् । तर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्याङ्क अनुसार अझै ४२ वटा स्थानीय तहमा बैंक पुग्न बाँकी देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ११ तहमा मात्रै बैंकका शाखा कार्यालय विस्तार भएको छ ।

सरकारी लक्ष्य अनुसार सबै स्थानीय सरकारको कारोबार बैंकमार्फत हुनुपर्ने भएपनि बैंक तथा वित्तीय संस्थाहरुलाई आवस्यक पर्ने विद्युत, इन्टरनेट, पूर्वाधार तथा सुरक्षाका कारण केही रुथानीय तहमा शाखा विस्तारमा कठिनाई भइराखेको बैंकर्सहरुको भनाई छ । सरकारले स्थानीय तहमा वित्तीय पहुँच पुर्याउने र हरेक नेपालीको बैंक खाता खोल्ने अभियान सञ्चालन गरिरहेको छ । सोही अनुसार चालू आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय तहमा बैंकका शाखा पु-याउने लक्ष्य सरकारको छ । तर विकट हिमाली तथा पहाडी क्षेत्रमा बैंकका शाखा पुग्दैमा भौगोलिक स्थितिका कारण वित्तीय पहुँच नपुग्ने बैंकिङ विज्ञहरुको भनाई छ ।

कुन प्रदेशका कति स्थानीय तहमा पुगे बैंकका शाखा ?
राष्ट्र बैंकको तथ्याङ्क अनुसार प्रदेश एकमा १ सय ३७ स्थानीय तहमध्ये १ सय २९ तहमा बैंकका शाखा खुलेका छन् । प्रदेश दुईमा रहेका १ सय ३६ स्थानीय तहमध्ये १ सय ३३ तहमा बैंकका शाखा खुलेका छन् । प्रदेश तीनमा १ सय १९ स्थानीय तहमध्ये १ सय १४ वटा तहमा शाखा खुलेका छन् । गण्डकी प्रदेशका रहेका ८५ स्थानीय तहमध्ये हालसम्म ८२ वटा स्थानीय तहमा बैंकका शाखा खुलेका छन्, प्रदेश पाँचमा रहेका १ सय ९ स्थानीय तहमध्ये १ सय ७ तहमा बैंकका शाखा खुलेका छन् । कर्णाली प्रदेशमा रहेका ७९ स्थानीय तहमध्ये ६४ वटा तहमा बैंकका शाखा पुगेका छन् । सुदूरपश्चिममा रहेका ८८ स्थानीय तहमध्ये ८२ वटामा तहमा बैंकका शाखा पुगेका छन् । 

कुन प्रदेशमा र्बैंकका कति शाखा ?
मुलुकभर बैंक तथा वित्तीय संस्थाका कुल शाखा माघ मसान्त सम्म ७ हजार ७ सय ३१ वटा खुलेका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आसार मसान्तमा बैंक तथा वित्तीय संस्थाका शाखा ६ हजार ६ सय ५१ रहेको थियो । केन्द्रीय बैंकको इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको सङ्ख्या पनि असार भसान्तमा भन्दा बढेको छ । गत असार मसान्तमा १ सय ५१ वटा बैंक तथा वित्तीय संस्था रहेकामा माघ मसान्तमा बढेर १ सय ५७ पुगेका छन् ।

७ सय ११ स्थानीय तहमा पुगेको वाणिज्य बैंकहरुको कुल साखा चालु आर्थिक वर्षमो माघ मसान्त सम्ममा ३ हजार २ सय ६६ वटा पुगेको छ । जुन असार मसान्त सम्ममा ३ हजार २३ वटा रहेको थियो ।

Ad