बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा देखिएको लगानीयोग्य तरलता अभावकको समस्यालई मध्यनजर गर्दै गत असारमा चालु आर्थिक बर्षको मौद्रिक नीति ल्याउँदा सिसिडी गणना विधिमा केही परिवर्तन गरेको थियो । राष्ट्र बैंकको उक्त नीतिको फाईदा उठाउँदै बैंकहरुले अन्तर बैंक कारोबार बढाएका छन् ।
नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्याङ हेर्दा बैंक तथा वित्तीय संस्थाहरुले ८ खर्ब ८५ अर्ब ७३ करोड बराबरको अन्तर बैंक कारोबार गरेका छन् । जुन गत आर्थिक वर्षको भन्दा ४८ प्रतिशत भन्दा बढी हो । गत आर्थिक बर्षको वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ५ खर्ब ९४ अर्ब ९१ करोड बराबरको अन्तर कारोबार गरेका थिए ।
आक्रमक लगानी विस्तार गरिरहेका बैंकहरुले त्यही अनुपातमा निक्षेप नबढ्दा सिसिडी राष्ट्र बैंकले तोकेको सिमा पार गर्ने अवस्था पुगेको थियो । यस्तो अवस्थामा दैनिक रुपमा सिसिडी रेसियो गणना गर्न बैंकहरुलाई असहज भयो भन्दै राष्ट्र बैंकले ब्यवस्थामा परिमार्जन गरी प्रत्येक महिनाको अन्त्यमा मात्र गणना गर्ने व्यवस्था गरिदिएको थियो । राष्ट्र बैंकको उक्त ब्यवस्थाले बैंकहरुको आक्रामक कर्जा विस्तारलाई झन प्रोत्साहन गरेको देखिन्छ । जसको परिणाम स्वरुप बैंकहरुको अन्तर बैंक कारेबारमा उच्च वृद्धि हुँदै गएको छ ।
पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री पनि राष्ट्र बैंकको उक्त ब्यवस्थाको बैंकहरुले गलत फाइदा उठाईरहेको बताउँछन् । बैंकहरुले दैनिक रुपमा सिसिडी रेसियो निकाल्दा ८० प्रतिशत भन्दा माथि जान थालेपछि महिनामा एकपटक मात्र गणना गर्ने व्यवस्था गरिदिएको क्षेत्रीको भनाई छ । त्यसअघि सिसिडीको गणनामा ८० प्रतिशतलाई ख्याल गरेर बैंकहरुले कर्जा लगानी गर्दथे तर अहिले महिनामा एक पटक मात्र सिसिडी गणना गर्दा महिनाको २९ दिन बैंकहरुले निवार्द रुपमा कर्जा लगानी गर्ने र अन्तिम दिनमा अन्तर बैंक कारोबार गरी सिसिडी रेसियो मिलाउने गरेका छन् । यसले बैंकहरुको अन्तरबैंक कारोबारमा उच्च वृद्धि भएको क्षेत्रीको भनाई छ । क्षेत्रीले यसलाई बैंकहरुको बदमासी भनेका छन् ।