Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

ठगीको नयाँ तरिका, हुँदै नभएको गाडी धितोमा तीन करोड कर्जा

२०७५ माघ १५ गते

हुँदै नभएको गाडीको नाममा समेत कर्जा प्रवाह गरी बैंकबाट कर्जा लिएर ठगी भएको खुलेको छ । यो प्रकरणमा झन्डै तीन करोड अनियमितता गर्ने बैंकका कर्मचारीसहित आठजना पक्राउ परेका छन् ।

सुन्धारामा केन्द्रीय कार्यालय रहेको देवः विकास बैंकमा अनियमितता गर्ने बैंकका शाखा प्रबन्धक सरिनशंकर श्रेष्ठसहित आठैजनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ प्रक्रिया अघि बढाएको हो । सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । थप आठजनालाई फरार प्रतिवादीका रूपमा मुद्दा दायर गर्न लागेको छ ।

गिरोहका मुख्य नाइके केदार ढुंगाना र नारायण श्रेष्ठ हुन् । ढुंगाना विदेश पुगिसकेका छन् भने श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ढुंगाना पोर्चुगल पुगिसकेको प्रहरीले बतायो । उनलाई नेपाल ल्याउन अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन ९इन्टरपोल०मार्फत डिफ्युजन नोटिस जारी गरिएको छ । अनियमित तरिकाले प्रवाह भएकोमध्ये एउटा कर्जा उनको नाममा जारी भएको थियो ।

श्रेष्ठले आफन्तहरूलाई नै फसाएका छन् । उनीसहित प्रहरीले ऋणीहरू बालकृष्ण श्रेष्ठ, नवीन श्रेष्ठ, चेतबहादुर श्रेष्ठ, विकास श्रेष्ठलाई पक्राउ गरेको हो । बालकृष्ण काभ्रेको भुम्लु गाउँपालिकाका वडा सदस्य समेत हुन् । त्यस्तै, बैंकका शाखा प्रबन्धक सरिन शंकर श्रेष्ठ र धितो मूल्यांकनकर्ता नरेशमान अमात्यसमेत पक्राउ परेका छन् । ऋणीहरू कृष्णबहादुर खत्री, विजयबहादुर श्रेष्ठ, डाँकबहादुर श्रेष्ठ, दुवालाल श्रेष्ठ, सम्झना श्रेष्ठ र लोकबहादुर श्रेष्ठ फरार छन् । उनीहरू सबै नारायण श्रेष्ठका आफन्त हुन् ।

त्यसरी निकालिएको पैसामध्ये धेरै नारायण श्रेष्ठले लिएका थिए । आफन्तलाई केही खर्च दिएर हस्ताक्षर गर्न लगाइएको उनीहरूले बताएका छन् । पक्राउ परेका श्रेष्ठले पनि धेरै पैसा आफैँले लिएको स्वीकार गरेका छन् । ०७२ मा भूकम्पमा आफ्ना तीन कन्टेनर पहिरोमा पुरिएपछि आर्थिक समस्यामा फसेको र कर्जा तिर्न नसकेको उनले बताएका छन् ।
घटनामा यातायात व्यवस्था कार्यालयका केही कर्मचारीको समेत मिलेमतोको आशंका गरिएको छ । उनीहरूले गाडी दर्ता नै नभई ब्लुबुकहरू दिएका थिए ।

त्यसरी ब्लुबुक दिने कर्मचारीको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । पाँच जना यातायातका कर्मचारीहरूमाथि अनुसन्धान जारी रहेको सिआईबीका अधिकारीले जनाएका छन् । अनुसन्धान पूरा गरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको सिआईबीका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदीले बताए । उनीहरूविरुद्ध सरकारी छाप, दस्तखत कीर्ते मुद्दा पनि दायर हुने भएको छ । नयाँ पत्रिका दैनिकबाट ।

Ad