बैंकिङ खबर । गत असारमा वीरगञ्ज–१२, रानीघाटबाट हुन्डी कारोबार गर्ने गरेका राहुल केशरी पक्राउ परे। असारमै हुन्डी कारोबारमा संलग्न भएको पाइएपछि धरानका विष्णु गुरुङ, इटहरीका सुरज गुरुङ, सङ्खुवासभाका भीमबहादुर खत्री र दीपेश गुरुङ पक्राउ परे।
त्यस्तै साउनमा दिल्ली घर भइ काठमाडौं महानगरपालिका कुलेश्वर बस्ने विजय गुप्ता, महालक्ष्मी नगरपालिकाका दीपक श्रेष्ठ, चितवन खैरेनीका संजित पाण्डे, भारतीय नागरिक अंकित अग्रवाल र महालक्ष्मी नगरपालिकाका पुजन छाला जिमी पक्राउ परे।
मनिट्रान्सफरमा अवैध तरीकाले हुन्डी कारोबार गरेको पाइएपछि पोखराबाट मंसिरमा नेत्रलाल ज्ञवाली र प्रकाश थापा पक्राउ परे।
प्रहरीले हुन्डी कारोबारमा निगरानी बढाई धमाधम संलग्नहरु पक्राउ परेपछि हुन्डी कारोबार निरुत्साहित हुँदै गएको छ। कारोबारीहरु पक्राउ पर्ने र पठाएको रकम समेत जोखिममा पर्ने भएपछि विदेशबाट पैसा पठाउनेहरु समेत सचेत हुन थालेका छन्। हुन्डीबाट आउने गरेको रकम औपचारिक माध्यमतिर सरेपछि रेमिट्यान्समा समेत उल्लेख्य सुधार देखिएको छ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६. ४ प्रतिशतले रेमिट्यान्स बढेको छ। जवकि अघिल्लो वर्ष १. ४ प्रतिशतले रेमिट्यान्स घटेको थियो।
साउनदेखि कात्तिकसम्म ३ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। कामका लागि विदेसिनेको संख्या घट्दा समेत रेमिट्यान्समा उच्च वृद्धि देखिनुका पछाडिको प्रमुख कारण नै औपचारिक माध्यममा पैसा आउनु रहेको राष्ट्र बैंकका उच्च अधिकारीहरु बताउँछन्।
हुन्डी कारोबार निरुत्साहित हुनुमा रेमिट्यान्स कम्पनीहरुको विदेशमा बढ्दो प्रभाव पनि एउटा कारण हो। दक्षिण कोरियासहित जापान, मलेसिया, भारत लगायत देशहरुमा रेमिट्यान्स कम्पनीहरु थपिँदै जाँदा हुन्डी कारोबार निरुत्साहित हुँदै गएको अधिकारीहरु बताउँछन् ।
ति देशहरुमा अहिले रेमिट्यान्स कम्पनीहरु बढेको र तिनै कम्पनीबाट पैसा पठाउने चलन बढेको छ। त्यस्तै बैंकहरुबीचको सहकार्यले पनि औपचारिक रेमिट्यान्सलाई मद्दत गरेको छ।
अमेरिकी डलर महँगो भएकाले पनि रेमिट्यान्स वृद्धिमा केही टेवा पुगेको जानकार बताउँछन्। यद्यपी राष्ट्र बैंकको तथ्याङ्कअनुसार अमेरिकी डलरमै रेमिट्यान्स २३. १ प्रतिशतले बढेको छ। डलरमै पनि रेमिट्यान्स बढ्नु भनेको औपचारिक माध्यमबाट पैसा भित्रिनु नै प्रमुख कारण रहेको विज्ञ बताउँछन्।