बैंकिङ खबर । नेपालको बैकिङ क्षेत्रमा अब्बल मानिएका बैंकहरु पनि व्याजदर वृद्धिको प्रतिष्पर्धामा उत्रिन थालेका छन् । यसको सुरुवात नविल बैंकले गरेको छ । बैंकले मंगलबार व्यक्तिगत मुद्धति निक्षेपमा १३ प्रतिशत व्याजदर दिने घोषणा गरेको छ ।
तीन साताअघि बैंकहरुबीचको भद्र सहमति खारेज भई व्यक्तिगत मुद्दति निक्षेपमा व्याजदर नियन्त्रण गर्न स्वतन्त्र छोडिएसँगै जनता बैंकले १२ प्रतिशत व्याजदर पुर्याएर प्रतिष्पर्धाको सुरुवात गरेको थियो । त्यसपछि, कुमारी बैंक, माछापूच्छ्रे बैंक, सेञ्चुरी बैंक, सिभिल बैंक लगायत साना बैंकहरुले जनता बैंकलाई उछिन्ने गरी व्याजदर प्रकाशन गरे । फलस्वरुप एक साताभित्रै व्याजदर बढेर साढे १३ प्रतिशतसम्म पुग्यो ।
अर्थमन्त्री, गभर्नर लगायतले व्याजदर नबढाउन भनेपछि केही समय व्याजदर बढाउने प्रतिष्पर्धामा ब्रेक लागेको जस्तो देखिएका थियो । तर, फेरि उक्त प्रतिष्पर्धाले निरन्तरता पाएको छ ।
नेपालको बैंकिङ क्षेत्रमा अब्बल मानिने ५।६ वटा बैंकमध्येमा एक रहेको नविल बैंकले विगतका वर्षहरुमा लगानीयोग्य पुँजीको अभाव हुँदा व्याजदर बढाएको थिएन । यद्यपि, यसपटक नविल जस्तो बैंक पनि व्याजदर वृद्धिको प्रतिष्पर्धामा उत्रिनुपर्ने अवस्थामा आइपुग्नुले बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजी अभाव रहेको वास्तविकतातर्फ संकेत गरेको छ । आगामी दिनमा अन्य बैंकहरु पनि प्रतिष्पर्धामा उत्रिन सक्नेतर्फ पनि यसले संकेत गरेको छ ।