बैंकिङ खबर । नेपालको व्यापार अवरोधलाई सुधार गर्न समेत ४ गुणासम्म निर्यात वृद्धि गर्न सकिने विश्व बैंकले जनाएको छ । शुक्रबार नेपालमा रिपोर्ट सार्वजनिक गर्ने क्रममा विश्व बैंकले वैदेशिक व्यापार नबढ्नुमा व्यापार अवरोध नै मुख्य कारण रहेको भन्दै यसमा सुधार गर्न सके मात्रै पनि निर्यातमा तत्काल उल्लेख्य वृद्धि हुने बताएको हो ।
विश्व बैंक र व्यापार, अर्थशास्त्र र पर्यावरणमाथि दक्षिण एशियाली दृष्टि (सावती)को सहकार्यमा दक्षिण एशियाका पाँच मुलुकहरु अफगानिस्तान, भारत, श्रीलंका, पाकिस्तान र नेपालमा तयार गरिएको रिपोर्टमा दक्षिण एशियाको अन्तरक्षेत्रीय व्यापारको हिस्सा विश्वकै सबैभन्दा कम अर्थात् ५ प्रतिशत मात्र रहेको देखाइएको छ । जबकि पूर्वी एशिया प्यासिफिक क्षेत्रमा यो हिस्सा ५० प्रतिशत रहेको पाइएको छ ।
नेपाल लगायत दक्षिण एशियाली क्षेत्रमा हुने अन्तरक्षेत्रीय व्यापार भन्दा बाह्य क्षेत्रीय व्यापार सहज भएको समेत रिपोर्टमा उल्लेख गरिएको छ । यसको कारण सुरक्षा चुनौती रहेको र एक तिहाई भन्दा बढी व्यापार संवेदनशील सूचीमा रहेको बताइएको छ । रिपोर्टले भन्सार, शुल्क र अन्य वास्तविक तथा अनुमानिक गैरभन्सार अवरोधहरु, कनेक्टिभिटी लागत र बोर्डर ट्रष्ट डेफिसिटलाई व्यापार अवरोधको मुख्य कारकको रुपमा रिपोर्टले देखाएको छ ।