बैंकिङ खबर । फाइनान्स कम्पनीहरुले पनि निक्षेपको व्याजदर बढाएर १३ प्रतिशत पुर्याएका छन् । यसअघि १२ प्रतिशतभन्दा बढी व्याज नदिने भनेका फाइनान्सहरुले भइरहेको निक्षेप जोगाउन १३ प्रतिशत व्याजदर दिनुपर्ने निष्कर्ष निकालेका छन् ।
वित्त कम्पनीहरूको संगठन नेपाल वित्तीय संस्था संघको सोमबार बसेको आकस्मिक बैठकमा यो निर्णय भएको हो । वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म ब्याज दिन थालेपछि आफूसँग भएको निक्षेप पनि गुम्ने डरले फाइनान्सहरुले पनि मुद्दती बचतमा १३ प्रतिशतसम्म व्याज दिएर निक्षेप संकलन गर्ने औपचारिक निर्णय गरेका हुन् ।
संघको निर्णयसँगै मंगलबार अधिकांश फाइनान्स कम्पनीले मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म ब्याज दिने सूचना प्रकाशित गरेका छन् । मंगलबार गुडबिल फाइनान्स, गोर्खाज् फाइनान्स, मञ्जुश्री फाइनान्स, आइसीएफसी फाइनान्स, युुनाइटेड फाइनान्स, बेष्ट फाइनान्स, सेन्ट्रल फाइनान्स लगायतका फाइनान्स कम्पनीहरुले १३ प्रतिशत ब्याज दिने सूचना प्रकाशित गरेका छन् ।
विकास बैंकहरु भने हालसम्म अधिकतम १२.५ प्रतिशत ब्याजदरको सीमामा कायमै छन् ।