पुँजी वृद्धिको समयावधि बढाउन बीमा समिति सकारात्मक
बीमा कम्पनीहरूको चुक्ता पुँजी र्पुयाउने अवधिको विषयमा बीमा समितिले लचकता देखाएको छ । समितिले बिमकको दर्ता र व्यवसाय सञ्चालनसम्बन्धी निर्दे्शिका २०७३ जारी गर्दै आर्थिक वर्ष ०७४र७५ को अन्त्यसम्ममा पुँजी बढाउन निर्देशन दिएको थियो । सो अवधिमा निर्जीवन बीमा कम्पनीले १ अर्ब र जीवन बिमा कम्पनीले २ अर्ब रुपैयाँ चुक्ता पुँजी र्पुयाउनुपर्नेछ । निर्दे्शिकामा उक्त अवधिमा पुँजी जुटाउन नसकेमा पहिलोपटक तीन महिना समय थप गर्न सक्ने व्यवस्था छ । समितिले दुईपटकसम्म समय थप गर्न सक्छ । यसरी समितिले थप गरेको ६ महिनाको समय आगामी पुसमा सकिँदै छ । तर, २२ वटा इन्स्योरेन्स कम्पनीले अझै तोकेको पुँजी कायम गर्न सकेका छैनन् ।
चारले मात्रै र्पुयाए पुँजी
चारवटा बीमा कम्पनीले मात्रै समितिले तोकेको पुँजी कायम गरेका छन् । समितिका अनुसार नेपाल लाइफ, शिखर इन्स्योरेन्स, हिमालयन इन्स्योरेन्स र नेको इन्स्योरेन्सले पुँजी कायम गरिसकेका छन् । नेपाल लाइफको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ छ । त्यस्तै, शिखर इन्स्योरेन्सको १ अर्ब ५ करोड, हिमालयन जनरल इन्स्योरेन्सको १ अर्ब २ करोड रुपैयाँ र नेको इन्स्योरेन्सको १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । हाल नेपालमा १८ वटा जीवन बिमा कम्पनी सञ्चालनमा छन् । त्यस्तै, महालक्ष्मी जीवन बिमा कम्पनी सञ्चालनको तयारीमा छ । त्यसैगरी, २० वटा निर्जीवन बीमा कम्पनी छन् । तर, पुँजी वृद्धिको प्रावधान पुराना २६ वटा कम्पनीलाई मात्रै लागू हुनेछ ।
विदेशी शाखा कम्पनीको पुँजी अन्योलमा
बीमा समितिले तोकेको पुँजी वृद्धिको विषय विदेशी शाखा कम्पनीको हकमा भने अन्योल देखिएको छ । नेपालमा तीनवटा विदेशी कम्पनीका शाखा नेसनल, ओरिएन्टल र मेट लाइफ इन्स्योरेन्स कम्पनी छन् । मेट लाइफले यसअघि नै समितिले तोकेको पुँजी जुटाउन नसक्ने भनी पत्राचार गरिसकेको छ । त्यसैगरी, ओरिएन्टल र नेसनल जनरल इन्स्योरेन्सका माउ कम्पनी मर्जरमा जाने भएपछि नेपालमा रहेका शाखाको अवस्था के हुने भन्ने विषय अन्योलमा छ ।
एनएफआरएसका कारण वृद्धि हुन सकेन पुँजी
बीमा समितिले लागू गरेको एनएफआरएस (नेपाल फाइनान्स रिपोर्टिङ स्याट्यान्डर्ड)का कारण कम्पनीहरू तोकिएको समयमा पुँजी बढाउन असमर्थ देखिएका छन् । समितिले चालू आर्थिक वर्षदेखि लागू गरेको यो प्रणालीअनुसार कम्पनीहरूले प्रत्येक वर्ष सम्पति तथा दायित्वको मूल्यांकन गराउनुपर्छ । कम्पनीहरूको सम्पत्ति र दायित्वको मूल्यांकन बिमांकीले नै गराउनुपर्छ । नेपालमा बिमांकी नभएका कारणले बीमा कम्पनीहरूको वित्तीय विवरण मूल्यांकन गर्न लामो समय लाग्छ । फलस्वरूप कुनै पनि बिमा कम्पनीहरूले हालसम्म वित्तीय विवरण पारित गर्न सकेका छैनन् । गत आवको वित्तीय विवरण तयार नभएकै कारण कम्पनीहरूले पुँजी वृद्धिको योजना कार्यान्वयन गर्न नसकेको बीमा समितिले बताएको छ ।
समय थप गर्ने मनस्थितिमा समिति
एनएफआरएसका कारण बीमा कम्पनीहरूले समयमा नै वित्तीय विवरण तयारी गर्न नसक्ने भएपछि बीमा समिति चुक्ता पुँजीको अवधि थप गर्ने मनस्थितिमा पुगेको हो । एनएफआरएसको प्रक्रिया लामो हुने कारण पुँजी वृद्धिका लागि समय थप गर्नुपर्ने अवस्था देखिएको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । ‘एनएफआरएसको निर्देशन हामीले नै दिएका हौँ । यसको प्रक्रिया लामो हुन्छ भन्ने थाहा हुँदाहुँदै कम्पनीहरूलाई दबाब दिन पनि मिलेन’ उनले भने । नयाँ पत्रिकामा प्रकाशित समाचार