December 7th, 2018

सामाजिक सुरक्षा कोषमा झन्डै दुई सय उद्योग प्रतिष्ठान सामेल

बैंकिङ खबर । सामाजिक सुरक्षा कोषद्धारा लागू गरिएको ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’मा झन्डै दुई सय उद्योग प्रतिष्ठान सामेल भएका छन् । कोषले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी मंसीर २० गतेसम्म सो कार्यक्रममा एक सय ९६ वटा उद्योग प्रतिष्ठान सूचिकरण प्रक्रियामा सामेल भएको जानकारी गराएको हो । कार्यक्रममा सामेल हुनका लागि मंसीर ६ गतेदेखि आवेदन खुला गरिएको थियो । कार्यक्रममा १९४ जना रोजगारदाता पनि सूचिकरण प्रक्रियामा सामेल भएका छन् । 

सूचिकरण प्रक्रियालाई सहज बनाउन कोषले अनलाईन सेवा संचालन गरेको छ । कोषले संस्थामा कार्यरत श्रमिक तथा कर्मचारीको सूचिकरण तीन महिनाभित्र गरिसक्नु पर्ने व्यवस्था गरेको कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले जानकारी दिए । 

श्रमिकले पेन्सनसहित स्वास्थ्य उपचार, दुर्घटना र आश्रित परिवारलाई समेत पेन्सन पाउने व्यवस्थासहित प्रधानमन्त्री केपी ओलीले गत मंसीर ११ गते सो कार्यक्रमको औपचारिक उद्घाटन गरेका हुन् । कोषमा रोजगारदाताको २० प्रतिशत र श्रमिकको ११ प्रतिशत गरी ३१ प्रतिशत योगदान रहने व्यवस्था गरिएको छ । कोषले रोजगारदाता सूचिकरणलाई व्यवस्थित बनाउन ३५ जना कर्मचारीलाई परिचालन गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]