December 3rd, 2018

तरलता अभाव उच्च आर्थिक वृद्धिदरको संकेत : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव उच्च आर्थिक वृद्धिदरको संकेत भएको दाबी गरेका छन् । काठमाडौंमा भएको लघुवित्त सदस्य सम्मेलनको समापन गर्दै अर्थमन्त्री खतिवडाले भने, “बच्चाको दाँत आउने बेलामा पखाला लागेको जस्तै अहिलेको तरलता समस्या पनि आर्थिक वृद्धि हुन लागेको संकेत हो । कामहरू हुन थालेपछि चारैतिरबाट पैसाको माग आउँछ र अभाव हुन थाल्छ । अहिलेको अवस्था पनि यस्तै भएको हो ।”
लघुवित्तलाई सहयोग गर्न सरकार तयार भएको भन्दै मन्त्री खतिवडाले सम्मेलनले जारी गरेको घोषणा कार्यान्वयनमा सरकारले सघाउने प्रतिबद्धतासमेत व्यक्त गरे । “तपाईंहरू अघि–अघि दौडनु भएको छ, लघुवित्तको पछाडि सरकार दौडिरहेको छ,” उनले भने, “राष्ट्र बैंकको व्यवस्था, ऐन नियममा कहाँ समस्या हुन्छ त्यसमा कार्यदल बनाएर अघि बढौं, समस्या भएका व्यवस्था संशोधन गर्न सरकार तयार छ ।”

कार्यक्रममा सांसद लीलानाथ श्रेष्ठले केही लघुवित्तहरू आफ्नो क्षमताभन्दा बाहिर गएको भन्दै चिन्ता व्यक्त गरे । ऋणीको क्षमता नहेरी आवश्यकताभन्दा बढी कर्जा दिने, ऋण लिनेले पनि बढी माग गर्ने जस्ता कुरा सिद्धान्त भन्दा बाहिर भएको उनको भनाइ थियो । अर्का सांसद तुलसा थापाले विपन्न वर्गलाई उठाउन र विशेष गरी महिलालाई अगाडि बढाउन लघुवित्तले ठूलो भूमिका खेलेको बताइन् । किसान लघुवित्त विकास बैंकका सञ्चालक शुभनाथ देवकोटाले लघुवित्तबाट हुने कर्जा प्रवाहमा इमान्दारिता र प्रयोगमा पनि इमान्दारिता भयो भने विपन्नको जीवनस्तर सुधार्न मद्दत पुग्ने बताए । उनले बैंकहरूले धनीलाई मात्र ऋण दिने तर लघुवित्तले विपन्नलाई ऋण दिने भएकाले त्यसको सही सदुपयोगका लागि सचेत गराए ।
स्वावलम्बन विकास केन्द्रकी सदस्य पद्यमासना शाक्यले लघुवित्तले विपन्नलाई बाहिर ल्याएको र महिला सशक्तीकरणमा टेवा दिएको बताइन् । ऋणको रकमलाई सदुपयोग गर्न सकियो भने असल व्यवसायी बन्न सकिन्छ भन्ने उदाहरण सम्मेलनमा उपस्थित महिलाहरूले प्रस्तुत गरेको स्मरण उनले गराइन् । 
‘स्वच्छ सहकारी, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ दुई दिन चलेको सम्मेलनमा ७० संस्था ५०० भन्दा बढीको सहभागिता छ । सम्मेलनमा लघुवित्त संस्थाका अवसर र चुनौति, लघुवित्तबाट सदस्यमा पारेको प्रभाव, लघुवित्तमा देखा परेको विचलनका विषयमा विज्ञहरूको कार्यपत्र प्रस्तुती तथा सदस्यहरूको अनुभव आदानप्रदान गरी १५ बुँदे घोषणापत्र जारी गरिएको छ । घोषणापत्रमा परिणाममुखी कार्यमा केन्द्रित हुनुपर्ने, वित्तीय साक्षरतालाई सबै लघुवित्तले सञ्चालन गर्नुपर्ने, लघुवित्तको पहुँच विस्तारमा अघि बढ्नुपर्ने, स्वास्थ्य तथा कर्जा बिमा कार्यान्वयनमा बिमा प्रदायक संस्थासँग समन्वय गर्ने, सदस्यलाई ऋणको भार पर्न नदिने गरी कर्जा प्रवाह गर्नुपर्ने, लघुवित्तले जीवनस्तरमा पारेको प्रभाव मापन गरी स्तर वृद्धि मापन कार्ड प्रदान गर्नेलगायत प्रतिबद्धता समेटिएको छ । कारोबार दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]