नेपालको आर्थिक तथा वित्तीय स्थिती : असोज मसान्तसम्मको तथ्यांक

November 27, 2018

बैंकिङ खबर नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७५।७६ को पहिलो तीन महिना अर्थात असोज मसान्तसम्मको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय स्थितीको प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांकअनुसार, वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.७ प्रतिशत रहेको छ । आयातको वृद्धिदर ४३.६ प्रतिशत र निर्यातको वृद्धिदर १६.१ प्रतिशत रहेको छ । विप्रेषण आप्रवाह ७.३ प्रतिशतले बढेको छ । शोधानान्तर स्थिति रु.३५ अर्ब ४२ करोडले घाटामा रहेको छ । सरकारको नगद प्रवाहमा आधारित कुल खर्च २३.१ प्रतिशतले र राजस्व संकलन ४३.४ प्रतिशतले बढेको छ । विस्तृत मुद्राप्रदाय ३.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १८.६ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन २.४ प्रतिशतले र कर्जा प्रवाह ७.२ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.७ प्रतिशत र कर्जाको वृद्धिदर २५.५ प्रतिशत रहेको छ ।

मुद्रास्फीति 
उपभोक्ता मुद्रास्फीति 

१. २०७५ असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.७ प्रतिशत रहेको छ । २०७४ असोजमा यस्तो मुद्रास्फीति ३.१ प्रतिशत रहेको थियो । खासगरी, खाद्यान्न, तरकारी, माछामासु र पेय पदार्थको मूल्य तथा घरभाडा बढेका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीति बढ्न गएको हो ।

खाद्य तथा पेय पदार्थ मुद्रास्फीति 
२. २०७५ असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त समूहको मुद्रास्फीति ०.५ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा मूलतः खाद्यान्न तथा खाद्यजन्य पदार्थ, मासु तथा माछा, घिउ तथा तेल एवम् सुर्तीजन्य पदार्थलगायतका उप–समूहका वस्तुहरुको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति बढ्न गएको हो । 

गैर–खाद्य तथा सेवा मुद्रास्फीति 
३. समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त मुद्रास्फीति ५.२ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको यातायात, फर्निसिङ तथा घरायसी उपकरण, मनोरञ्जन तथा संस्कृति एवम् घरायसी उपयोगिता तथा सेवालगायतका उप–समूहका वस्तु तथा सेवाहरुको मूल्यमा वृद्धि भएकोले समग्र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति बढ्न गएको हो । 

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति 
४. २०७५ असोज महिनामा उपभोक्ता मुद्रास्फीति पहाडमा ६.१ प्रतिशत, तराईमा ४.३ प्रतिशत, हिमालमा ४.२ प्रतिशत र काठमाडौं उपत्यकामा ४.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ३.० प्रतिशत, ३.६ प्रतिशत, ५.१ प्रतिशत र २.३ प्रतिशत रहेको थियो । 

नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति 
५. २०७५ असोज महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.७ प्रतिशत र भारतको ३.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ३.१ प्रतिशत र भारतको ३.६ प्रतिशत रहेको थियो । 

थोक मुद्रास्फीति 
६. २०७५ असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९.२ प्रतिशत रहेको छ । पेट्रोलियम पदार्थ, आधारभूत धातु, निर्माण सामग्री, तथा खाद्य एवम्पेय पदार्थको मूल्यमा भएको वृद्धिका कारण समग्र थोक मुद्रास्फीति बढ्न गएको हो ।

राष्ट्रिय तलव तथा ज्यालादर सूचकाङ्क 
७. समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ८.७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ४.७ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्क ६.६ प्रतिशत र ज्यालादर सूचकाङ्क ९.३ प्रतिशतले वृद्धि भएको छ । 

बाह्य क्षेत्र 
वैदेशिक व्यापार 

८. आर्थिक आर्थिक वर्ष २०७५/७६ को तीन महिनामा कुल वस्तु निर्यात १६.१ प्रतिशतले वृद्धि भई रु. २३ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ २०.२ प्रतिशत, चीनतर्फ १४.४ प्रतिशत र अन्य मुलुकतर्फ ११.२ प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, ऊनी गलैचा, पश्मिना, दन्तमञ्जन लगायतका वस्तुको निर्यात बढेको छ भने अलंैची, रोजिन, छाला, जि.आई. पाईप, अल्मुनियम लगायतका वस्तुहरुको निर्यात घटेको छ । 
९. समीक्षा अवधिमा कुल वस्तु आयात ४३.६ प्रतिशतले बढेर रु. ३७३ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १७.९ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ४०.८ प्रतिशत, चीनबाट भएको आयात ४५.९ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ५०.५ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपूजा, एम.एस. बिलेट, सवारी साधन तथा पार्टपूर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने दुरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, भिडियो टेलिभिजन तथा पार्टपुर्जा, स्वास्थ्य सम्बन्धी उपकरण तथा औजार लगायतका वस्तुहरुको आयात घटेको छ । 
१०. भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाहा भन्सार कार्यालय, नेपालगञ्ज भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय, कन्चनपुर भन्सार कार्यालयबाट गरिएको निर्यातमा ह्रास आएको छ भने अन्य भन्सार नाकाहरूबाट गरिएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा कन्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा ह्रास आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 
११. समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ४५.९ प्रतिशतले विस्तार भई रु. ३४९ अर्ब ८४ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.४ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७.९ प्रतिशत रहेको थियो ।

सेवा 
१२. समीक्षा अवधिमा खुद सेवा आय रु.१९ अर्ब ८१ करोडले घाटामा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.६ अर्ब १३ करोड रहेको थियो । 
१३. सेवा खाता अन्र्तगत पर्यटन आय समीक्षा अवधिमा ५.६ प्रतिशतले वृद्धि भई रु.१५ अर्ब ६९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७.४ प्रतिशतले वृद्धि भएको थियो । 

विप्रेषण आप्रवाह 
१४. समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३७.३ प्रतिशतले वृद्धि भई रु.२४२ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ६.६ प्रतिशतले बढेको थियो । 
१५. समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३३.४ प्रतिशतले वृद्धि भई रु.२७० अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४.३ प्रतिशतले बढेको थियो । 
१६. समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३६.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ । 

चालु खाता एवम् शोधनान्तर स्थिति 
१७. समीक्षा अवधिमा चालु खाता घाटा विस्तार भई रु.८१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु. २५ अर्ब ५२ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २४ करोड ८२ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा ७१ करोड ६९ लाख पुगेको छ । 
१८. समीक्षा अवधिमा शोधनान्तर खाता रु.३५ अर्ब ४२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर खाता रु.४ अर्ब २७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर खाता अघिल्लो वर्षको सोही अवधिमा ४ करोड ३ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा ३१ करोड ६२ लाखले घाटामा रहेको छ ।
१९. समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर रु.३ अर्ब ५५ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु.१ अर्ब ५४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर र र प्रत्यक्ष वैदेशिक लगानी क्रमशः रु.४ अर्ब ९६ करोड र रु.६ अर्ब ७ करोड रहेको थियो । 

विदेशी विनिमय सञ्चिति 
२०. कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तको रु.११०२ अर्ब ५९ करोडबाट १.७ प्रतिशतले वृद्धि भई २०७५ असोज मसान्तमा रु.११२० अर्ब ९२ करोड पुगेको छ । अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७५ असार मसान्तको १० अर्ब ८ करोडबाट ५.२ प्रतिशतले कमी आई २०७५ असोज मसान्तमा ९ अर्ब ५६ करोड रहेको छ । 
२१. कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तको रु.९८९ अर्ब ४० करोडको तुलनामा २०७५ असोज मसान्तमा रु. २४ करोडले वृद्धि भई रु.९८९ अर्ब ६४ करोड रहेको छ । अर्कोतर्फ, बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा रु.११३ अर्ब १९ करोड रहेकोमा २०७५ असोज मसान्तमा १६ प्रतिशतले वृद्धि भई रु.१३१ अर्ब २८ करोड पुगेको छ । २०७५ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.२ प्रतिशत रहेको छ । 

सञ्चिति पर्याप्तता सूचकहरू 
२२. आर्थिक वर्ष २०७५/७६ को पहिलो तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.२ महिनाको वस्तु आयात र ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३७.३ प्रतिशत, ६५.७ प्रतिशत र ३५ प्रतिशत रहेका छन् । २०७५ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ३६.७ प्रतिशत, ७८.६ प्रतिशत र ३५.६ प्रतिशत रहेका थिए । 

कच्चा पेट्रोलियम एवम् सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य 
२३. २०७४ असोज मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ५७.४९ रहेकोमा २०७५ असोज मसान्तमा ३९ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ७९.९१ पुगेको छ । अर्कोतर्फ, सुनको मूल्य २०७४ असोज मसान्तमा प्रति आउन्स अमेरिकी डलर १३०३.३० रहेकोमा २०७५ असोज मसान्तमा ५.७ प्रतिशतले कमी आई प्रति आउन्स अमेरिकी डलर १२२९.०५ कायम भएको छ । 

विनिमय दर 
२४. २०७५ असार मसान्तको तुलनामा २०७५ असोज मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ६.७ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर ०.४ प्रतिशतले अवमूल्यन भएको थियो । २०७५ असोज मसान्तमा अमेरिकी डलर एकको खरिद दर रु.११७.२४ पुगेको छ । २०७५ असार मसान्तमा उक्त दर रु.१०९.३४ रहेको थियो ।

सरकारी वित्त स्थिति 
बजेट घाटा/बचत 

२५. आर्थिक वर्ष २०७५/७६ को तीन महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट रु.३२ अर्ब ८३ करोडलेबचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु.११ अर्ब ६३ करोड रहेकोथियो । 

सरकारी खर्च 
२६. समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च रु.१७० अर्ब ९५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१३८ अर्ब ८४ करोड रहेको थियो । समीक्षा अवधिमा चालू खर्च रु.१४९ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१२६ अर्ब ३५ करोड रहेको थियो । 
२७. समीक्षा अवधिमा रु.१८ अर्ब ७८ करोड पूँजीगत खर्च भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.११ अर्ब ६४ करोड भएको थियो । 

सरकारी राजस्व 
२८. समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन ४३.४ प्रतिशतले वृद्धि भई रु.२०० अर्ब ३२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व १०.७ प्रतिशतले वृद्धि भई रु.१३९ अर्ब ६५ करोड पुगेको थियो । 

सरकारको नगद मौज्दात 
२९. २०७५ असोज मसान्तमा सरकारी ढुकुटीमा रु.१८१ अर्ब ८८ करोड नगद मौज्दात कायम रहेको छ ।

मौद्रिक स्थिति 
मुद्राप्रदाय 

३०. आर्थिक वर्ष २०७५/७६ को तीन महिनामा विस्तृत मुद्राप्रदाय ३.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ४.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ असोज मसान्तमा विस्तृत मुद्राप्रदाय १८.६ प्रतिशतले बढेको छ । 
३१. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु. ३५ अर्ब ४२ करोड (३.४ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. ४ अर्ब २७ करोड (०.४ प्रतिशत) ले बढेको थियो । 
३२. समीक्षा अवधिमा सञ्चित मुद्रा १०.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ६.० प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ असोज मसान्तमा सञ्चित मुद्रा २.८ प्रतिशतले बढेको छ । 

कुल आन्तरिक कर्जा 
३३. समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ०.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ असोज मसान्तमा यस्तो कर्जा २९.६ प्रतिशतले बढेको छ । 
३४. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ७.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ४.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ असोज मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २५.२ प्रतिशतले बढेको छ ।

निक्षेप संकलन 
३५. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १७.७ प्रतिशतले बढेको छ । 
३६. २०७५ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.० प्रतिशत, ३५.० प्रतिशत र ४६.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.३ प्रतिशत, ३६.१ प्रतिशत र ४२.५ प्रतिशत रहेको थियो ।
३७. २०७५ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४३.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४५.९ प्रतिशत रहेको थियो । 

कर्जा प्रवाह 
३८. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.६ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७.२ प्रतिशतले, विकास बैंकहरुको ८.० प्रतिशतले र वित्त कम्पनीहरुको ३.८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७५ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २५.५ प्रतिशतले बढेको छ । 
३९. २०७५ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६३.१ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७४ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.० प्रतिशत र १४.५ प्रतिशत रहेको थियो । 
४०. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ८.८ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ४.१ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १०.१ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा १२.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ४.४ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ०.६ प्रतिशतले तथा हायर पर्चेज कर्जा २.८ प्रतिशतले बढेको छ । 

तरलता व्यवस्थापन 
४१. आर्थिक वर्ष २०७५/७६ को तीन महिनामा खुलाबजार कारोबारका विभिन्न उपकरणहरुमार्फत् पटक–पटक गरी रु. ९५ अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको छ । यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत्रु. ७९ अर्ब ६५ करोड र रिभर्स रिपोमार्पmत् रु. १५ अर्ब ७० करोड प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु. ११५ अर्ब ४० करोड तरलता प्रशोचन भएको थियो । 
४२. समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ६९ करोड ९१ लाख खूद खरीद गरी रु.८० अर्ब ७५ करोड खूद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ९३ करोड १ लाख खूद खरीद गरी रु.९५ अर्ब ९६ करोड खूद तरलता प्रवाह गरिएको थियो । 
४३. समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब २ करोड, यूरो १ करोड ६० लाख, पाउण्ड स्टर्लिङ्ग २ करोड र जापानी येन १० अर्ब बिक्री गरी रु.१२० अर्ब ९१ करोड बराबरको भारतीय रुपैँया खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ८६ करोड बिक्री गरी रु.८८ अर्ब ४७ करोड बराबरको भारतीय रुपैँया खरीद भएको थियो । 

पुनरकर्जा 
४४. उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । २०७५ असोज मसान्तसम्ममा यस बैंककोरु.१८ अर्ब ५ करोड पुनरकर्जा लगानीमा रहेको छ ।
४५. भूकम्प पीडितहरूलाई बढीमा २.० प्रतिशत ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७५ असोज मसान्तसम्ममा रु.२ अर्ब १७ करोड पुनरकर्जा प्रदान गरिएको छ । यस्तो कर्जा १२७४ जना ऋणीले उपयोग गरेका छन् । 
४६. २०७५ असोज मसान्तसम्ममा नेपाल सरकारबाट ५ प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ९५६३ जना ऋणीले उपयोग गरेका छन् । यस अन्तर्गत रु.१४ अर्ब १२ करोड कर्जा बक्यौता रहेको छ भने रु.६७ करोड ९२ लाख ब्याज अनुदान प्रदान गरिएको छ । 

अन्तर–बैंक कारोबार 
४७. आर्थिक वर्ष २०७५/७६ को तीन महिनामा वाणिज्य बैंकहरूले रु.३३६ अर्ब ८७ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले रु.३२ अर्ब ४४ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु.२०२ अर्ब ४० करोड र रु.७ अर्ब ८ करोड कारोबार गरेका थिए । 

ब्याजदर 
४८. २०७४ असोजमा ९१–दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर १.१८ प्रतिशत रहेकोमा २०७५ असोजमा १.७७ प्रतिशत पुगेको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७४ असोजको १.१३ प्रतिशतको तुलनामा २०७५ असोजमा १.८६ प्रतिशत पुगेको छ । त्यसैगरी, वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७४ असोजको १०.०८ प्रतिशतको तुलनामा २०७५ असोजमा १०.२३ प्रतिशत कायम भएको छ । 

मर्जर/प्राप्ति
४९. यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७५ असोज मसान्तसम्म कूल १६४ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १२२ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४२ संस्था कायम भएका छन् ।

वित्तीय पहुँच 
५०. ७५३ स्थानीय तह मध्ये २०७५ असोज मसान्तसम्म ६७७ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । प्रदेशगतरुपमा वाणिज्य बैंकको उपस्थिति तालिका ६ मा प्रस्तुत गरिएको छ । 
५१. यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७५ असार मसान्तमा १५१ रहेकोमा २०७५ असोज मसान्तमा १५४ पुगेको छ । यस अनुसार २०७५ असोज मसान्तमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ६९ लघुवित्त संस्थाहरु संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा सञ्जाल २०७५ असार मसान्तमा ६६५१ रहेकोमा २०७५ असोज मसान्तमा ७०१४ पुगेको छ ।

पूँजी बजार 
५२. नेप्से सूचकाङ्क वार्षिक विन्दुगत आधारमा २०.४ प्रतिशतले ह्रास भई २०७५ असोज मसान्तमा १२४१.६ विन्दुमा सीमित भएको छ । २०७४ असोज मसान्तमा उक्त सूचकाङ्क १३.६ प्रतिशतले ह्रास भई १५५९.२ विन्दु कायम भएको थियो । २०७५ असार मसान्तमा भने नेप्से सूचकाङ्क १२१२.४ विन्दु कायम भएको थियो । 
५३. धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा १८.२ प्रतिशतले ह्रास भई २०७५ असोज मसान्तमा रु.१४८१ अर्ब २२ करोड कायम भएको छ । बजार पूँजीकरण २०७४ असोज मसान्तमा ९.४ प्रतिशतले ह्रास भएको थियो । समीक्षा अवधिको बजार पूँजीकरणको आर्थिक वर्ष २०७४/७५ को कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४९.३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६८.५ प्रतिशत रहेको थियो । बजार पूँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको अंश ८०.९ प्रतिशत रहेको छ भने जलविद्युत्क्षेत्रको ४.३ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.७ प्रतिशत, होटलहरूको १.७ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको १०.४ प्रतिशत रहेको छ । 
५४. २०७५ असोजमा कुल शेयर कारोबार रकम २०७४ असोजको तुलनामा ४५.२ प्रतिशतले ह्रास भई रु.२२ अर्ब ९२ करोड कायम भएको छ । यस्तो कारोबार रकम २०७४ असोजमा ४४.१ प्रतिशतले ह्रास भई रु.४१ अर्ब ८५ करोड रहेको थियो । 
५५. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७५ असोज मसान्तमा १९८ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये १४७ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, २१ वटा जलविद्युत्कम्पनी, ४÷४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन् । 
५६. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य वार्षिक विन्दुगत आधारमा २०.९ प्रतिशतले वृद्धि भई २०७५ असोज मसान्तमा रु.३६० अर्ब ९९ करोड पुगेको छ । समीक्षा अवधिमा रु.३ अर्ब ५ करोड बराबरको साधारण शेयर, रु.३ अर्ब १२ करोड बराबरको हकप्रद शेयर, रु.५ अर्ब १६ करोड बराबरको बोनस शेयर गरी कुल रु.११ अर्ब ३२ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *