बैंकिङ खबर । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा आठ वटा वाणिज्य बैंकले ५० करोडभन्दा बढी खुद मुनाफा आर्जन गरेका छन् । जसमध्ये, दुई वटा बैंकको नाफा एक अर्ब नाघेको छ ।
अर्बमाथि नाफा गर्ने बैंकहरु
राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक तीन महिनामा नै अर्बमाथि नाफा कमाउन सफल भएका छन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै एक अर्ब ११ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । निजी स्तरबाट संचालित नेपाल इन्भेष्टमेन्ट बैंकले भने एक अर्ब पाँच करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
अन्य छ बैंकको नाफा ५० करोडमाथि
राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबाहेक छ वटा बैंकको नाफा ५० करोडमाथि रहेको छ । नेपाल बैंकले ९७ करोड ९१ लाख ७६ हजार रुपैयाँ र नविल बैंकले ९३ करोड ३१ लाख ९० हजार रुपैयाँ नाफा गरेको छ । प्रभु बैंकले ६४ करोड ४४ लाख चार हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने एनआईसी एशिया बैंकले ५८ करोड २२ लाख १८ हजार रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, स्टान्डर्ड चार्टर्ड बैंकले ५८ करोड ३५ लाख ३४ हजार रुपैयाँ खुद नाफा गरेको छ भने ग्लोबल आईएमई बैंकले ५१ करोड ७६ लाख ८३ हजार रुपैयाँ नाफा गरेको छ ।