November 18th, 2018

  नेपाल लायन बहुउद्देश्यीय सहकारीको अध्यक्षमा बाबुराम अधिकारी निर्वाचित

बैंकिङ खबर । काठमाडौंको त्रिपुरेश्वरमा रहेको नेपाल लायन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका सञ्चालक समिति सदस्य रामचन्द्र भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने का.वा. अध्यक्ष बाबुराम अधिकारीले संस्थाको आ.व. २०७४/०७५ को प्रगति र भावि कार्यक्रमको वारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभामा प्रतिवेदन प्रस्तुत गर्दै का.वा. अध्यक्ष अधिकारीले संस्थामा कात्तिक मसान्तसम्म सेयर सदस्य संख्या १०८९ पुगेको, सेयरपूँजी ३ करोड ९४ लाख ९३ हजार पुगेको, ३० करोड ६४ लाख २४ हजार र कर्जा लगानी ३२ करोड ४६ लाख ६३ हजार रहेको जानकारी गराए । संस्थाले यस बर्ष ४६ लाख ६० हजार खुद नाफा गरेको पनि साधारणसभामा जानकारी दिइयो । संस्थासँग विभिन्न  शिर्षकमा गरी १ करोड ५८ लाख ८७ हजार रुपैयाँको कोष रहेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिक र असक्त व्यक्तिलाई राहतस्वरुप १ जनालाई मासिक १ हजार रुपैयाँको दरले आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । 

संस्थाले आगामी आर्थिक बर्षको बजेटको लागि ५ करोड ३९ लाख ८७ हजार रुपैयाँ आम्दानी गरी ४ करोड ८२ लाख ६६ हजार रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको प्रस्ताव पनि सभामा राखिएको थियो ।

सभामा अतिथि वडा नं. ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले सहकारीलाई स्थानीय निकायले हेर्ने भएकाले स्थानीय निकायले बनाएका नीति नियमलाई अध्ययन गरी पालना गर्न अनुरोध गरे ।

सञ्चालक समितिको अध्यक्षमा अधिकारी निर्वाचित
सभाले मौजुदा सञ्चालक समितिमा वर्तमान का.ब. अध्यक्ष बाबुराम अधिकारीलाई अध्यक्षमा निर्वाचित गरेको छ । संस्थाका अध्यक्ष कुबेरबहादुर राउत क्षत्रीको निधन भएपछि खाली भएको सो पदमा बाँकी अवधिको लागि अधिकारीलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । त्यसैगरी गरी खाली भएको उपाध्यक्ष पदमा सभाले बालकृष्ण उपाध्यायलाई निर्वाचित गरेको छ । उनी संस्थाको सञ्चालक थिए ।

त्यस्तै उपाध्याय उपाध्यक्ष बनेपछि खाली भएको सदस्य पदका लागि निरजबहादुर राउतलाई सभाले सदस्य पदमा निर्वाचित गरेको छ । संस्थाको मौजुदा सञ्चालक समितिको सचिवमा सुरेन्द्रबहादुर राउत क्षत्री रहेका छन् भने सञ्चालकहरुमा रामचन्द्र भण्डारी माधवप्रसाद सिवाकोटी र भोजबहादुर ढकाल रहेका छन् ।

लेखा समितिको संयोजकमा देवराज सुवेदी रहेका छन् भने सदस्यहरुमा प्रमिला थापा र मुकुन्दप्रसाद सिवाकोटी रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]