November 13th, 2018

अर्थमन्त्रालयको टिप्पणी गर्दा अनुसन्धानको जिम्मेवारीबाटै हटाइए नरबहादुर थापा

बैंकिङ खबर । अर्थमन्त्रालयको टिप्पणी गर्दा राष्ट्र बैंकको अनुसन्धान विभागका प्रमुख नरबहादुर थापाले अनुसन्धानको जिम्मेवारी नै छोड्नुपरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकले बुझाएको मुलुकको आर्थिक अवस्थाको भाषा चित्त नबुझ्दा उक्त रिपोर्ट बनाउने थापालाई नै जिम्मेवारीबाट निकालेका छन् । 

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थितीको प्रतिवेदनको सारांश अर्थमन्त्रालयमा बुझाएको थियो । सोही प्रतिवेदनमा लेखिएको भाषा अर्थमन्त्रीलाई चित्त नबुझ्दा उनी राष्ट्र बैंकका अधिकारीहरुमाथि नै जंगिएका थिए ।

हुन त डा. युवराज खतिवडा अर्थमन्त्री भएदेखि नै उनले नेपाल राष्ट्र बैंकका अधिकारीहरुलाई बारम्बार बोलाएर हरेक विषयको रिपोर्ट माग्ने गरेका छन् । अर्थमन्त्रीको यस किसिमको व्यवहारले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि नै अर्थमन्त्रालयले छाँटकाँट गरेको देखिएको छ । पटकपटक अर्थमन्त्रालयमा गएर रिपोर्टिङ गर्नुपर्दा राष्ट्र बैंक एपम् अन्य निमनकारी निकायका कर्मचारीहरु असन्तुष्टी व्यक्त गर्न थालेका छन् ।

नरबहादुर थापा अर्थतन्त्रबारे राम्रो अध्ययन गरेका र ज्ञान भएका विज्ञ व्यक्ति हुन् । यस्ता व्यक्ति राष्ट्र बैंकमा कमै संख्यामा छन् । बैंकिङ बारे कुनै पनि जानकारी चाहिएमा वा विश्लेषण गर्नुपरेमा हरहेक मिडियाको पहिलो नजरमा थापा नै पर्छन् । आर्थिक तथा वित्तीय समीक्षा लगायत मौद्रिक नीति निर्माण एवम् मौद्रिक नीतिको त्रैमासिक समीक्षा जस्ता कार्यमा उनको महत्वपूर्ण भूमिका छ । यस्ता समक्ष व्यक्तिलाई पुँजीगत खर्च नहुँदा तरलता समस्या भएको भन्ने एक वाक्यका कारण अर्थमन्त्री डा. खतिवडाको निर्देशनमा उक्त जिम्मेवारीबाट नै हटाइयो । उनलाई राष्ट्र बैंक व्यवस्थापनले गत मंगलबारदेखि थापालाई अनुन्धान विभागबाट हटाएर राष्ट्र ऋण व्यवस्थापन विभाग पठाएको छ । अनुसन्धान विभागको कार्यकारी निर्देशकमा गुनाकर भट्टलाई ल्याइएको छ । उनी अर्थमन्त्री डा. युवराज खतिवडाका विश्वास पात्रका रुपमा चिनिन्छन् ।

सरकारको यस प्रवृत्तिले नेपाल राष्ट्र बैंकमा रहेका बौद्धिक बैंकिङ विज्ञहरु तथा असल नियतका निर्देशक र कार्यकारी निर्देशकहरु निरुत्साहित भएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]