November 6th, 2018

कसरी बसाल्ने बचत गर्ने बानी ?

ईश्वर उप्रेती । प्रारम्भिक कालमा बिना पैसा विनिमय हुने भएको भएतापनि अबको अर्थतन्त्रमा पैसा बिना विनिमय असम्भव भइसकेको छ । वर्तमान समयमा प्रत्येक आर्थिक कारोबार मुद्रामा नै हुने हुँदा पैसालाई बृद्धिमतापूर्ण तरिकाले परिचालन गर्न सक्ने मानिस नै धनी हुँदै गइरहेका छन् । आम्दानीको सबै मात्रा खर्च गरेर हुँदैन, केही भाग बचत पनि गर्नु आवश्यक हुन्छ । वर्तमानको आम्दानीबाट भविष्यको लागि केही रकम छुट्याएर राखिन्छ भने त्यसलाई बचत भनिन्छ । अर्थतन्त्रको बृद्धिलाई उकास्न बचत नभई नहुने तत्व हो । किनकि बचत लगानीको स्रोत र अवसर दुबै हो । हामी सबैलाई थाहा छ कि बचत गर्नु भनेको जटिल कार्य हो । कुनै चिज बस्तुमा गरिने खर्च कटौती गरेर सञ्चित गर्नु भनेको बचत गर्नु हो । यसमा उपभोक्ताले त्याग गरेको हुन्छ । अनावश्यक चिज कटौती गरेर भविष्यको लागि सञ्चिति गरिने बचत वित्तीय अनुशासन पनि हो ।

किन र कसरी गर्ने बचत ?
एउटा ब्यक्तिले बचत दुई किसिमबाट गर्न सक्दछ । पहिलो, आम्दानीको केही भाग छुट्याएर र दोश्रो, खर्च कटौती गरेर । खर्च कटौती भन्नाले बस्तु तथा सेवाको भइरहेको उपभोगमा कटौती गर्ने होइन । बरु तीनै बस्तु तथा सेवा खरिद गर्ने समयमै सपिङ्गमलमा केही ध्यान पुर्याउन सकेमा सँधै भुक्तानी गरिरहेको बिल रकममा केही पैसा कटौती भई बचत हुन जान्छ । उदाहरणका लागि बजारमा बस्तु तथा सेवाको पैसा भुक्तानी गर्दा मोलमलाई गर्नु, केही छुट सुविधा छ कि भनेर सेल्समा सोध्नु, नयाँ अफरको बारेमा बुझ्नु, बाइ वान गेट वान जस्ता स्किमका बारेमा थाहा पाउनु, महङ्गो बस्तु तथा सेवा खरिद गर्नु भन्दा पहिला दश मिनेट सोच्नु, सामानको तालिका बनाएर मात्र सपिङ्ग गर्नु, बिल लिन नछुटाउनु, कार्डबाट भुक्तानी गर्दा केही सुविधा छ कि भनेर काउन्टरमा प्रश्न गर्नु जस्ता बानीले एउटा सचेत उपभोक्ताको पहिचान हुनुका साथै ब्यक्तिगत तथा पारिवारिक बचतमा थप बल पुग्न गई सन्तृष्टि प्राप्त हुन्छ ।

बचत के का लागि गर्ने ? भन्ने प्रश्न गर्न सकिन्छ । जस्तै, भविष्यमा आइपर्ने आकस्मिक वित्तीय जोखिमलाई सजिलै पार लगाउन, अवकास पछिको जीवनको लागि, आम्दानी कम भएको समयमा खर्च धान्न, शिक्षा, स्वास्थ्य उपचारका लागि, विबाह, सामाजिक रितीरिवाज मान्न, व्यवसाय संचालन गर्न स्वः पूंजीको लागि, भ्रमण, सामाजिक सुरक्षा, स्तरीय जीवन जीउन, बिलासीलताका सामान खरीद गर्न, बैदेशिक रोजगारीमा जान, घरजग्गा निर्माणरखरीदरमर्मत गर्न, उपहार दिन, सवारी साधन खरीद गर्न, कर्जाको सांवा ब्याज भुक्तानी गर्न, लगानी गर्न आदि प्रयोजनको लागि बचतको उपयोग भविष्यमा गर्न सकिन्छ ।

हामी सबै बचत गर्न चाहन्छौं तर वास्तवमा यो कसरी सम्भब हुन्छ ? के हाम्रो आवश्यकता र इच्छाहरु आम्दानीले पुरा गर्न सक्दछ त ? ब्यक्तिका आवश्यकता र चाहना असिमित हुने गर्दछन्, आफुसँग भएको सिमित पैसाले ती असीमित आवश्यकता र चाहनालाई पूर्ती गर्न मानिस रातदिन कमाउनका लागि परिश्रम गरिरहेको हुन्छ । आवश्यकता र चाहनाका लागि गर्ने खर्चको तालमेल मिलाउन नजानेर सँधै मानिस अभाव जस्तो महशुस गरिरहेकोे हुन्छ । सामान्यतया, आफ्नो आम्दानीको २० प्रतिशत बचत गर्ने र ८० प्रतिशतको खर्च भित्र बस्ने  बानी बसाउन सक्नु पर्दछ । ८० प्रतिशत खर्च मध्ये पनि ५० प्रतिशत आवश्यकता पुर्तीका लागि र ३० प्रतिशत चाहना पुर्तीका लागि खर्च गर्ने बानी बसालेमा हैसियतकै जीवनस्तर ब्यतीत भई नियमित रूपमा बचत गर्ने बानीको बिकास हुन्छ ।

अर्थतन्त्रमा बचतको योगदान
अर्थतन्त्रको विभिन्न आर्थिक इकाईहरुमा बचत छरिएर रहेको हुन्छ । सोही बचत वित्तीय प्रणालीमा आएपछि निक्षेपको रुपमा रहन्छ । संकलित निक्षेपलाई बैंक तथा वित्तीय संस्थाले अर्थतन्त्रको खाँचो परेको क्षेत्रमा नियमित रुपमा कर्जा लगानी गरि देशको आर्थिक बिकासमा अक्सिजनको कार्य गरिरहेको हुन्छ । बि.स.२०७३ पुस मसान्त सम्ममा १ सय ६९ बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ४ हजार ५ सय १४ शाखाहरु बाट २२ खर्व ५५ अर्व निक्षेप संकलन गरी १८ खर्व ९५ अर्व कर्जा लगानी गरिसकेका छन् । यो रकम उद्योग, सेवा, पुर्वाधार, निर्माण, उर्जा, विपन्न वर्ग, कृषि तथा उत्पादनशील क्षेत्रमा कर्जाको रुपमा लगानी हुँदा त्यस क्षेत्रले उत्पादन, आय, रोजगारी, उपभोग, कर बृद्धिमा महत्वपूर्ण योगदान पुर्याईरहेको हुन्छ । निक्षेप खाता खोल्दा न्यूनतम मौज्दात राख्न सक्ने क्षमताको अभाव भएका जनतालाई शुन्य मौज्दातमा खाता खोली निश्चित प्रतिशत ब्याज दिई प्रोत्साहन गर्न सकेमा सन् २०२२ सम्ममा नेपालको वित्तीय समावेशीकरण ६० प्रतिशत बाट ७५ प्रतिशत पुर्याई आर्थिक सशक्तीकरण गर्ने लक्ष्यमा सघाउ पुग्ने थियो ।  

बचत गर्ने साधारण तरिका र यसका दीर्घकालीन फाइदा
बचत गर्न सकिएन भनेर कदापि चिन्तित हुनु हुँदैन । बरु आफ्नो चेतना स्तरको सदुपयोग भरपुर गरिनुपर्दछ । बचत गर्न सबैभन्दा पहिला, आकस्मिक कोषको लागि बचत गर्ने, दोश्रो, उच्च ब्याजदरका ऋण घटाउने, तेस्रो, अवकास पछिको जीवनका लागि रकम जम्मा गरि राख्ने र चौथो, सावधिक जीवन बीमा गर्ने गरेमा वर्तमान तथा भविष्य सँधै सुरक्षित र सुन्दर भइरहने हुन्छ । हामीले दैनिक जीवन ब्यतित गरिरहदा थोरै कुरामा मात्र सचेतना अपनाउन सकियो भने पनि आफ्नो आर्थिक स्थिती सुधार भएर जानेछ । 

वर्तमानमा असल कार्य गरियो भने भविश्य सुरक्षित हुन्छ जस्तै धुम्रमान, मदिरापन नगर्ने, आवश्यक नभएको समयमा टिभि, रेडियो, बत्ति, म्युजिक सिस्टम जस्ता इलेक्ट्रोनिक सामाग्री बन्द गर्ने, घरमा भएका पुराना तथा अनावश्यक बस्तुहरु बिक्री गरिदिने, आवश्यक पर्न सक्ने बिग्रीएका बस्तुहरु तथा कपडाहरु तालिका बनाएर मर्मत गर्ने, खरिद छुट पाएको बेलामा ठूलो मात्रामा सामान उठाउने, तयारी खानेकुरा धेरै नखाने, नियमित योग गर्ने, पानी नियमित पिउने, तनाब नलिने, वार्षिक रुपमा शुल्क बुझाइरहनु पर्ने तर प्रयोग गर्न नभ्याउने संस्थाको कार्ड नविकरण नगर्ने, दराजबाट नलगाउने कपडाहरु हटाउने, लगाउने कपडा मात्र खरीद गर्ने, आफुले प्रयोग गरेर खाली भएको कोठा, फ्ल्याट भाडामा दिने जस्ता सामान्य बानीले हाम्रो बचत बढाउँछ । साथमा एउटा नोटबुक सँधै साथमा लिने गर्नुहोस्, ताकि महत्वपूर्ण र लाभदायिक जानकारी नोट गर्न पाइयोस् ।

त्यस्तै, आफुले नोकरी गर्ने कम्पनीबाट प्राप्त हुने सम्पूर्ण सुविधाको बारेमा जानकारी राख्नुहोस् । सकेसम्म सुरक्षित र ब्याजदर बढि दिने बैंक तथा वित्तीय संस्थामा खाता खोल्नुहोस् । क्रेडिट कार्डको अधिक प्रयोग नगर्नुहोस् । बैंकले प्रदान गर्ने मोवाइल बैकिङ्ग सुविधाको अधिक प्रयोग गर्नुहोस् । सकेसम्म नगदमा कारोबार नगर्नुहोस् । यसबाहेक, आर्थिक कारोबार बैंक तथा वित्तीय संस्थाबाट गर्नुहोस् । सपिङ्ग बिल, स्कुल÷कलेजको बिल, मोवाइलको बिल, बत्ती, पानीको बिलको नियमित मासिक रुपमा अध्ययन गर्ने र छुटको समय भित्रै भुक्तानी गर्ने, भएको खर्चको तालिका बनाउने, प्राथमिकता निर्धारण गर्ने, बजेट बनाउने, बचतको लागि योजना बनाउने, दैनिक वा साप्ताहिक वा मासिक रुपमा नियमित बचत गर्ने र बचत बृद्धिको विश्लेषण गर्ने लगायतका बानी बसाउनाले तपाईँको बचत वृद्धिमा ठूलो मद्दत पुर्याउँछ । 

त्यसैगरी, आफन्त, साथीभाई तथा छिमेकीसंग सुमधुर सम्बन्ध कायम गरिराख्नुहोस ता कि आवश्यक परेको बेलामा सहयोग लिन÷दिन सकियोस् । आफुसँग भएको पैसालाई सुरक्षित र भरपर्दो बैंक तथा वित्तीय संस्थामा खाता खोलेर जम्मा गरी वित्तीय सेवाको प्रयोगमा जोड दिने गरौं । नगदमा कारोबार नगर्ने र बैंक तथा वित्तीय संस्थाबाट मात्र कारोबार गर्ने बानीले छलकपट, जालसाझीं र ठगीआदि बाट बच्न सकिन्छ । घरमा पैसा राख्दा च्यातीने, चोरी हुने, हराउने, डढ्ने, मैला हुने, ज्यानमा जोखिम हुने, तनाब आउने, फजुल खर्च गर्न मन लाग्ने, काम गर्न मन नलाग्ने, अनावश्यक विचार आउने जस्ता जोखिम बहन गर्नुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थामा पैसा राख्दा निश्चित प्रतिशत नियमित रुपमा ब्याज आउनुका साथै सुरक्षित पनि भईन्छ । 

बचतका लागि दुई नियम
सामान्यतया, बचत गर्नको लागि दुईवटा नियममा बांधिनु आवश्यक हुन्छ । पहिलो जति कमाउनु हुन्छ त्यो भन्दा कम खर्च गर्नु पर्दछ अर्थात आम्दानी र खर्चको बीचमा खाडल हुनु पर्दछ । जति बढि आम्दानी गरिन्छ त्यतीनै अनुपातमा बचत गर्दै जानु पर्दछ  मतलब ठूलो आम्दानी ठूलै बचत । दोश्रो बचत गर्ने आदतको बिकास अर्थात हरेक दिन वा सप्ताह वा मासीक रुपमा नियमित रुपमा बचत गर्ने बानी बनाउनु पर्दछ । समय समयमा आफुले गरिरहेको बचत बृद्धिको श्रृंखलालाई चार्टमा अभिब्यक्त गरेर हेर्नुहोस् जसबाट तपाईले आफ्नो समृद्धिको प्रतिबिम्ब देख्नुहुनेछ र भविष्यमा आर्थिक सन्तृष्टि प्राप्त गर्नुहुनेछ । (लेखक वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमका अभियन्ता हुन्)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]