November 6th, 2018

‘अनलाइन ट्रेडिङ सिस्टम’ पूर्ण रुपमा सुरु

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार(कात्तिक २० गते)देखि पूर्ण रुपमा अनलाइन कारोबार प्रणालीको सुरुवात गरेको छ । होटल याक एण्ड यतिमा आयोजित एक विशेष समारोहकाबीच अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन कारोबार प्रणालीको उद्घाटन गरे ।

यो प्रणाली सुरु भएसँगै अब सेयर लगानीकर्ताहरुलाई ब्रोकर कार्यालय धाइरहनु पर्ने बाध्यता हटेको छ । दिनदिनै ब्रोकर अफिस धाइराख्नु पर्ने बाध्यता हटाउन तथा स्वदेश तथा विदेशमा छरिएर रहेका सबै नेपालीले सहज तरिकाले सेयर कारोबार गर्न पाउन भन्ने उद्देश्यले अनलाइन कारोबार प्रणाली सुरु गरेको नेप्सेले जनाएको छ । अब इन्टरनेटको पहुँच भएको जुनसुकै स्थानबाट सेयर खरिदविक्री गर्न सकिने भएको छ ।

अनलाइन ट्रेडिङ सिस्टमको उद्घाटन गर्दै अर्थमन्त्री युवराज खतिवडाले पछिल्लो समय देखिएको तरलता समस्या छिटै हट्ने बताए । उनले आर्थिक वृद्धि ६।८ प्रतिशत हुँदा पनि सेयर बजार नबढेकोमा असन्तुष्टि समेत व्यक्त गरे । त्यस्तै, उनले पुँजीगत कर लाभ बारे विवाद टुङ्गिएको जानकारी पनि दिए । म्यूचल फण्डहरूले पुँजीबजारमा सेयर कारोबारीको भूमिका मात्र निभाएकोप्रति उनले असन्तुष्टी जनाए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बैंकले सेयर ब्रोकर लाइसेन्स दिने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै ब्रोकर लाइसेन्स दिएपछि रियल टाइम सेटलमेन्ट हुने र अनलाइन सेयर कारोबार प्रभावकारी हुने बताए । उनले नेपाल स्टक एक्सचेञ्जमा भएको राष्ट्र बैंकको सेयर बेच्न उपयुक्त लगानीकर्ता खोजेको समेत जानकारी दिए ।

त्यस्तै, धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले पुँजी बजारमा रियल सेक्टर ल्याउने प्रयास भइरहेको जानकारी दिए । त्यस्तै, छिट्टै मार्जिन ट्रेडिङ शुरू गर्ने तयारी भएको पनि उनले बताए ।

कार्यक्रममा बोल्दै बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँले अनलाइनबाट सेयर खरिद बिक्री गर्न सकिने प्रणालीको विकास पुँजी बजारको लागि महत्वपूर्ण भएको बताए । 

नेपाल स्टक ब्रोकर एशोसिएशनमा अध्यक्ष भरत रानाभाटले अनलाइन कारोबारमा बैंकलाई सहभागी गराउनुपर्ने धारणा राखे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]