fbpx

औद्योगिक विकासको मुख्य माध्यम ‘लघु, घरेलु तथा साना उद्योग’

October 15, 2018

बैंकिङ खबर । मुलुकमा औद्योगिक विकासको मुख्य माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको सरोकारवालाहरुले बताएका छन् । नेपालीहरुको महान चाड विजयादशमी, दिपावली, छठ पर्व तथा नेपाल संवत् ११३९ को अवसरमा नेपाल घरेलु तथा साना उघोग महासंघद्वारा राजधानीमा आयोजित शुभकामना आदान प्रदान एवम् अन्तरक्रियामा बोल्नेहरुले यस्तो बताएका हुन् ।

उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंहले औद्योगिक विकास गर्नका लागि मुख्य आधार नै साना उद्योग भएको बताए । गाउँघरका स्थानीय कच्चा पदार्थको प्रयोग हुने रैथाने कुटील उद्योगकोे विकासबाट मात्र औद्योगिक विकास सम्भव भएको उनको भनाई थियो । मुलुकमा राजनीतिक माहौल सहज भएर मात्रै नहुने भन्दै महानिर्देशक सिंहले उद्योगधन्दा निर्वाध रुपमा सञ्चालनका लागि धेरै कुराको अनुकुलता मिल्नुपर्ने बताए । कच्चा पदार्थको भन्दा तयारी वस्तुको भन्सार बढी रहेकोतर्फ ध्यानाकर्षण गर्दै उनले राजश्व जम्मा गर्ने नाममा सबै उद्योगहरुलाई एउटै डालोमा राखेर हेर्न नहुने बताए ।

महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले अबका दिनमा देशको विकास गर्ने माध्यम भनेको लघु, घरेलु तथा साना उद्योग भएको बताए । उत्पादन, रोजगारी र कुल गार्हस्थ उत्पादनमा योगदानको हिसाबले यस्ता उद्योगको भूमिका उच्च भएको उनको भनाई थियो । उनले समयक्रममा विकास हुने जटिल अर्थ राजनीतिक परिवेश अनुरुप लघु घरेलु तथा साना उद्योग सम्बन्धि नीतिहरु थप प्रष्ट एवम नियमित रुपमा परिमार्जित भई कार्यान्वयनमा आएमा मात्रै यस्ता उद्योगहरु आर्थिक रुपान्तरणको संवाहक हुन सक्ने बताए ।

कार्यक्रममा श्रम तथा रोजगार विभाग का महानिर्देशक रामप्रसाद भट्टाराई, महासंघ सल्लाहकार समितिका सभापति वासुदेव गिरी तथा महासंघका पदाधिकारीहरु, महिला समितिका पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.