October 15th, 2018

दशैँमैत्री छैन नेपालको बजार

बैंकिङ खबर । घटस्थापनाको दिनदेखि नै सुरु हुने नेपाली हरुको महान् चाड दशैँले फुलपातीको दिनदेखि पूर्ण रुपमा प्रभाव पार्दछ । यो समयमा प्रायः नेपालीहरु आआफ्नो घरमा जम्मा भएर मिठा मिठा परिकार बनाउने र खानेका काममा व्यस्त हुन्छन् । त्यसैले यो समयमा कारोबारहरु नै बन्द हुन्छन् । बजारमा पसल खुलेका हुँदैनन्, मेडिकलहरु पनि बन्द हुन्छन् । तरकारी पसल कतैकतै खुलेको हुने भए पनि प्रायः बन्द नै रहन्छन् । सपिङ सेन्टरहरु सब यो समयमा बन्द रहन्छन् । अरु समयमा जनसंख्याको चाप अत्याधिक हुने राजधानी सहर काठमाडौँमा समेत फुलपातीदेखि टीकाको भाली अथवा पर्सीपल्टसम्म चहलपहल हुँदैन । 

यद्यपि, दशैँको समयमा सबै नेपालीले घरमै बसेर समय विताउँछन् भन्ने हुँदैन । नेपालमा विभिन्न जातजाती र संस्कृति भएका मानिसहरु बस्छन् । नेपालमा हिन्दु धर्म नमान्ने र दशैँतिहास नमनाउने वर्गहरु पनि छन् । दशैँको समयमा सार्वजनिक विदाको घोषणा गरिने भएकाले यो समयमा उनीहरु घुमफिर गर्ने, किनमेल गर्ने सोच बनाइरहेका हुन सक्छन् । तर, यो समयमा होटलका स्टाफदेखि लिएर सपिङ मलका सेल्स म्यानहरुसम्म सबै छुट्टीमा हुन्छन् । सहरबाहिरबाट व्यवसायको शिलशिलामा सहर छिरेकाहरु व्यवसाय बन्द गरेर आफ्नै घर पुगेका हुन्छन् । 

दशैँ तिहारको समयमा मात्रै नभएर हरेक शनिबार यस्तै समस्या हुन्छ बजारमा । सबैको फुर्सद शनिबार हुन्छ । अफिस, स्कुल, कलेजहरु बन्द भएको दिन अधिकांशको बजारमा सामान किन्न जाने योजना बनिरहेको हुन्छ । उता, बजारमा भने फाट्टफुट्ट पसलहरु खुलिरहेका हुन्छन् । 

यसरी मानिसहरुको फुर्सद हुने समयमा नै बजारहरु बन्द हुँदा न त व्यवसायीहरुको लागि फाइदाजनक हुन्छ न त सर्वसाधारणका लागि सुविधाजनक नै । वास्तवमा बजारहरु शनिबार नै अथवा अन्य विदाहरुको दिन नै बन्द गर्नुको सट्टा मानिसहरु व्यस्त हुने दिनमा बन्द गर्ने गर्दा दुवै पक्ष लाभान्वित हुने सम्भावना अधिकतम रहन्छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]