October 20th, 2018

न सिप न साथ दिने कोही, आफ्नै आत्मविश्वासले व्यवसायी बनिन् धुम्बु

बैंकिङ खबर । हातमा न सिप न तालिम केही थिएन । पुरानो परम्परा थियो । छोरी मान्छेलाई स्कुल पठाएर पढाउनु पर्छ भन्ने धारणा न त घरमा नै थियो न त समाजमा नै । शिक्षा लिनु त कहाँ हो कहाँ स्कुलसम्म पनि देखेको थिएन । आँट र भरोसा दिने आफन्त पनि कोही थिएनन् । तर, पनि जुम्लाको डाँडाँकोट नगरपालिकाकी धुम्बु नेपालीले हार मानिनन् । उनलाई पहिले घर व्यवहार चलाउन समेत धौ धौ थियो । एक छाक मिठो खान पनि गाह्रो थियो । यस्तो अवस्थामा गाँउका धनी भनौदाले पनि कहाँ विश्वास गर्थे र उनलाई । केही व्यवसाय गर्छु भनेर आँट र भरोसा बोकेकी धुम्बु नेपालीलाई गाउँका धनी मानीसले थोरै कर्जा समेत पनि पत्याएनन् । 

हुनेखानेले नपत्याएपनि उनले आफ्नो परिवारबाट राम्रो साथ पाइन् । केही व्यवसाय गर्नलाई धुम्बु नेपालीको घरपरिवारले उत्प्रेरणा थपिदिए । घरपरिवारको यही साथ र सहयोगबाट उनले एउटा जनरल फेन्सी स्टोर नामक कपडा पसल खोलिन् । त्यही पसलमा उनले कपडा पनि सिलाउन थालीन । सुरु सुरुमा पसलबाट दिनमा ५।७ हजार रुपैयाँसम्मको व्यापार हुन्थ्यो । त्यतिबेला उनका घरमा श्रीमान, सासु ससुरा, अनि चार जना बालबच्चाहरु थिए । यस्तो अवस्थामा सानो कपडा पसलको आम्दानीले बालबच्चा पढाउन र घर खर्च चलाउन असम्भव जस्तै थियो । थोरै खेतबारी पनि थियो । तर, जुम्ला जस्तो सँधै चिसो भईरहने ठाउँमा खासै उब्जनी हुदैनथ्यो । त्यसकारण उनलाई खेतीबाट भन्दा पनि केही सानोतिनो व्यवसायबाट नै जीवन चलाउन सकिन्छ जस्तो लाग्यो ।

धुम्बु नेपाली दोधारमा थिइन्–अब के गर्ने ? त्यसैबेला गाउँमा स्वाबलम्बन लघुवित्त पुग्यो । लघुवित्तिले उद्यमी बन्ने बाटो देखायो र अवसर पनि दियोे । स्वाबलम्बन लघुवित्तका कर्मचारीहरु घरघरमा, पुगेर अवसरहरु देखाईरहेका थिए । स्वाबलम्बनका कर्मचारीहरुले सहयोग गर्ने बाचा पनि गरिरहेका थिए । यही मौकामा धुम्बुले पनि स्वाबलम्बन लघुवित्त संस्थाका बारेमा थप बुझ्न थालिन् । धुम्बु नेपालीले स्वाबलम्बन लघुवित्तबाट कर्जा लिएर उद्यमी बन्न सकिने जानकारी पाइन् । उनको खुसिको सीमा रहेन । अब उनले सोचिन् ‘यो लघुवित्तबाट कर्जा लिएर आफ्नो व्यवसाय अझै सुधार्छु ।’

धुम्बु नेपालीले गाउँका अन्य महिलाहरुलाई पनि जम्मा पारेर एउटा समुह बनाइन् । समुहमा रहेर सुरुमा उनले ५० हजार रुपैया कर्जा लिइन् । यो कर्जाबाट उनले भइरहेको कपडा पसल नै बढाउने सोचिन् । ५० हजारको सामान थप गरेपछि उनको व्यवसाय राम्रो हुँदै गयो । बढी मानीसहरुको आवातजावत हुने ठाउँ जुम्लाको खलङगाा बजार नजिकै पसल सारिन । कमाई पनि राम्रो हुँदै गयो । फेरी उनले उक्त समुहमा नै रहेर दोस्रो पटक १ लाख कर्जा थप गरी पसलमा सामान थपिन् । उनको त्यो व्यवसाय झन फस्टाउँदै गयो । राम्रो काम गरेको देखेर स्वाबलम्बन लघुवित्तले थप हौसला दिँदै गयो । 

अहिले धुम्बु नेपालीले कर्जा लिन थालेको तीन वर्ष भयो । पहिलो पटक पचास हजार, दोस्रो पटक एक लाख र हाल उनले आफुसँग भएको सानो जग्गा धितो राखेर तीन लाख कर्जा लिएकी छिन् । उक्त रकम पनि उनले व्यवसाय  विस्तारमै लगाइन् । पहिलो र दोस्रो कर्जा उनले चुक्ता गरिसकेकि छिन् । तेस्रो कर्जा पनि आधा चुक्ता गरिसकेको उनले बताइन् । अहिले उनले दिनमा १०।१५ हजार कमाउँछिन् । चाडपर्वको बेलामा एक दिनमा ५०।६० हजारसम्म कमाई हुने उनी बताउँछिन् । धुम्बु आाफ्नो कमाईबाट सन्तुष्ट छिन् । ‘उनी भन्छिन् – परिवारमा सबै जना खुसि हुनुहुन्छ । यही पसलको कमाईबाट सबै घरखर्च पुगेको छ । दिनमा सात हजार बचत पनि गर्छु । साथै, गाउँमा २ वटा समुह छ, मासिक एउटा समुहमा १ हजार र अर्को समुहमा ३ सय बचत पनि छ ।’ 

उनी आफ्नो व्यवसायलाई राम्रो बनाउनेतर्फ अग्रसर भएकी छिन् । आफ्नो पसलमा दक्ष जनशक्ति राखेर ग्राहकको इच्छाअनुसारको कपडा सिलाएर ग्राहक सन्तुष्ट पार्ने उनको सोच रहेको छ । कहिलेकाँही कुनै संस्थाहरुले सिपमुलक तालीम दिए उक्त तालीमबाट सिप सिकेर समाजका मानिसहरुलाई सेवा दिन पाए हुन्थ्यो भन्ने धारणा उनमा रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]