October 17th, 2018

विकास बैंकको संख्या अझै घट्ने सम्भावना, कतिमा झर्ला ?

रुपा कोइराला/बैंकिङ खबर । केही वर्षअघिसम्म ८७ वटा रहेको विकास बैंकको संख्या ३३ मा झरेको छ । नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिसन नीति ल्याएपछि घट्न थालेको विकास बैंकको संख्या पुँजी वृद्धिको योजना कार्यान्वयनमा आएसँगै उल्लेख्य रुपमा घटेको हो । जसअनुसार, छोटो समयमा नै ५४ वटा घटेर विकास बैंकको संख्या ३३ कायम भएको छ ।

विशेषगरी साना अर्थात क्षेत्रीय स्तरका विकास बैंकहरुको संख्या उल्लेख्य रुपमा गिरावट आएको छ । राष्ट्र बैंकको गत असार मसान्तको तथ्यांकअनुसार, अहिले राष्ट्रिय स्तरका विकास बैंकहरु ११ वटा संचालनमा छन् । मुक्तिनाथ विकास बैंक, देवः विकास बैंक, कैलाश विकास बैंक, ज्योति विकास बैंक, गरिमा विकास बैंक, ओम डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, गण्डकी विकास बैंक, लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंक राष्ट्रिय स्तरका विकास बैंक हुन् । यसमध्ये, ओम डेभलपमेन्ट बैंक प्राइम कमर्सियल बैंकमा विलय हुने क्रममा रहेको छ । यसपश्चात्, राष्ट्रिय स्तरका विकास बैंकको संख्या १० कायम हुनेछ । राष्ट्रिय स्तरका यी ११ विकास बैंकमध्ये, नौ वटाको केन्द्रीय कार्यालय काठमाडौँमै रहेको छ । ओम र गण्डकीको केन्द्रीय कार्यालय पोखरामा रहेको छ ।   

त्यस्तै, १० जिल्ला कार्यक्षेत्र भएको विकास बैंक एउटा मात्रै बाँकी छ । १० जिल्ले शाइन रेसुंगा डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय रुपन्देही जिल्लाको बुटवलमा रहेको छ । १७ वटा तीन जिल्ले विकास बैंक संचालनमा छन् । नारायणी डेभलपमेन्ट बैंक, सहयोगी विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, तिनाउ विकास बैंक, कन्काई विकास बैंक, भार्गव विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, पूर्णिमा विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, मिसन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र वेष्टर्न डेभलपमेन्ट बैंकले तीन जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा दिइरहेका छन् । 

यसबाहेक, काबेली विकास बैंक, सहारा विकास बैंक र सालपा विकास बैंक गरी एक जिल्ला कार्यक्षेत्र भएका तीन वटा विकास बैंक मात्रै बाँकी छन् । अब मुलुक संघीय संरचनामा गइसकेकाले साना विकास बैंकहरु नरहने सम्भावना रहेको छ । यस्ता विकास बैंकहरु अरु बैंकमा गाभिनुपर्ने अथवा प्रादेशिक स्तरमा स्तरोन्नति हुनुपर्ने अवस्था आउनेछ ।

साना विकास बैंक मात्रै नभएर केही ठूला र नाम चलेका बैंकहरु पनि विलय हुने संकेत देखिएको छ । भर्खरै मात्र बार्षिक साधारणसभा सम्पन्न गरेका महालक्ष्मी विकास बैंक र गरिमा विकास बैंकले साधारणसभाबाटै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभिने वा गाभ्ने आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिईसकेका छन् । यस्तै शाइन रेसुङ्गा विकास बैंकले पनि आजै हुने आफ्नो साधारणसभाबाट मर्जर तथा एक्विजिशनका लागि बाटो खुला राख्ने प्रस्ताव पारित गरेको छ । साधारणसभा आह्वान गरि नसकेका अन्य विकास बैंकहरुले पनि यस्तै प्रस्ताव राखेर साधारणसभा राख्ने तयारीमा छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]