बैंकिङ खबर । छायानाथ रारा नगरपालिका वडा नं. २ सितलबजार बस्ने वर्ष ४६ की धनसरा रावत एक सफल ब्यवसायी हुन् । वि.सं. २०७१ सालमा गमगढीबजारमा आएर एउटा सानो लगानीमा गाउँबाट डोकामा ल्याएको तरकारी किनेर तरकारी पसल संचालन गरेकी रावतको पसल आज विस्तार भएको छ । पसलको आम्दानीले छोरा छोरी राम्रै बोर्डिङ स्कुलमा पढ्दै गरेको उनी बताउँछिन् । उनका दुई जना बुढाबुढी र एक छोरी ब्यवसायमा कार्यरत छन् । हाल उनले दैनिक छ देखि १० हजारसम्मको कारोवार गर्दै आएकी छिन् ।
धनसरा रावतको जन्म मूगू जिल्लाको कोटडाडा गाउँपालिकाको वडा नं. ९ मा वि.सं. २०२८ साल जेठमा भएको थियो । गमगढी बजारदेखि झण्डै एक दिन पैदल यात्रा लाग्ने उनको गाउँमा कृषि बाहेक अन्य कूनै जीविकोपार्जन थिएन । उनको बाल्यकाल दूःख कष्टका साथ बित्यो । परिवारकी जेठी छोरी भएकाले चार बहिनी र तीन भाइको हेरचाहमा नै उनको बाल्यकाल नै बित्यो । पढ्ने समयमा भाइ बहिनीको हेरचाहमा बितेकाले उनलाई स्कुल भनेको के हो भन्ने पनि थाहा भएन ।
१२।१३ वर्षको उमेरदेखि गाई, बाख्राको गोठालो गर्ने उनी १८ वर्ष हुँदा सोही गाउँपालिकाका नरदिप रावतसँग विवाह वन्धनमा बाँधिइन् । विवाहपछि उनले कूशल बूहारीको भुमिका निर्वाह गरिन् । एक छोरा र दुई छोरीकी आमा बनिसकेकी रावतलाई दिन प्रतिदिन आर्थिक भार थपिँदै गयो । श्रीमान्को पनि कुनै रोजगार नभएकाले अर्काको काम गरेर जेनतेन गूजारा चलाइन् । वि.सं. २०६५ सालमा उनका श्रीमान्ले गमगढीबजारको जि.वि.स.मा कार्यालय सहयोगीको काम पाए ।
श्रीमान्ले म पैसा कमाउँछु, तिमीले काम गरेर के गर्यौ ? खान पूर्यायौ ? भन्दा उनको मन साह्रै दुख्यो । त्यति बेला देखि नै आफैँ केही गर्छु भन्ने अठोट लिएकी रावतले छोराछोरी सानो छँदासम्म केही गर्न सकिन् । छ वर्षपछि केटाकेटी पनि अलि ठुला भए । अब उनको अठोट पूरा गर्ने समय आयो ।
त्यसको लगतै वि.सं. २०७१ सालमा गमगढीबजारमा आएर एउटा सानो लगानीमा गाउँबाट डोकामा ल्याएको तरकारी किनेर तरकारी पसल संचालन सूरु गरिन् । भतिजीको प्रेरणाले निर्धन उत्थान लघुवित्तको समुहमा बसेकी रावतले सुरुमा ४० हजार रुपैयाँ कर्जा लगेर व्यवसाय बढाइन् । त्यसपछि दोश्रोे कर्जाको रुपमा एक लाख रुपैयाँ र तेस्रो कर्जाको रुपमा एक लाख ५० हजार रुपैयाँ लिइन् । यसबाट स्थानीय मात्रै नभएर नेपालगंजबाट समेत तरकारी तथा बोइलर कुखुरा मगाई तरकारी तथा मासु विक्री गर्न थालिन् । आज उनको व्यवसाय दिनदिनै फस्टाउँदै गएको छ ।
सुरुसुरुमा कुन महिनामा पैसा फल्छ होला भन्ने धनसरा रावत आज भोलि दैनिक पैसा फल्ने कूरा आफ्ना वरपरका दिदीबहिनीलाई सूनाउँछिन् । अरुको आश नगरी आफैँ काम गर्न पर्ने रहेछ भन्ने कुरा बुझेर उनी दंग छिन् ।