October 14th, 2018

८० प्रतिशत रेमिट्यान्स अनुत्पादक क्षेत्रमा

विदेशमा नेपाली श्रमिकले श्रम गरेर पठाएको विप्रेषण ऊर्जा तथा जलस्रोत क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ । विप्रेषणबाट प्राप्त रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको र त्यसले कुनै पनि आर्थिक गतिविधिलाई बढवा नदिएको भन्दै बृहत्रुपमा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औल्याएको हो ।

नेपाल राष्ट्र बैंकको पछिल्लो जानकारीअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा रु ७३ अर्ब ९५ करोड बराबरको विप्रेषण आय भएको छ । नेपालीको महत्वपूर्ण चाडको रुपमा रहेको दशैं तथा तिहारमा विप्रेषण खर्ब माथि पुग्ने प्रक्षेपण गरिएको छ । वार्षिक रुपमा रु सात खर्ब भन्दा माथि विप्रेषण आय भएपनि ८० प्रतिशत बढी रकम अनुत्पादक क्षेत्रमा खेर गइरहेकाले सदुपयोगमा जोड दिइएको हो ।

गैरआवासीय नेपाली संघले आयोजना गरेको ‘गैरआवासीय नेपाली दिवस प्रथम विज्ञ सम्मेलन’का अवसरमा नेपालका जलविद्युत्मा लगानीका अवसर खोजी विषयक छलफलमा विप्रेषण मात्रै सदुपयोग गरे ऊर्जा क्षेत्रको लगानीका लागि अन्य स्रोतको खोजी गर्नु नपर्ने बताइएको हो ।

केन्द्रीय बैंकका अनुसार आर्थिक बर्ष २०७४÷७५ मा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई रु सात खर्ब ५५ अर्ब ६ करोड पुगेको थियो । गत आवमा विप्रेषण आप्रवाह ४.६ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो वर्ष २६.३ प्रतिशत रहेको विप्रेषण आप्रवाहको कुल गार्हस्थ उत्पादनसँगको अनुपात समीक्षा वर्षमा २५.१ प्रतिशत छ ।

ऊर्जा क्षेत्रका जानकार डा गोविन्द तिमिल्सिनाले विप्रेषणको कम्तीका वार्षिक २५ प्रतिशत मात्रै लगानी गर्न सकिए ८६६ मेगावाट क्षमताका आयोजना निर्माण हुन सक्ने बताए । उनले विप्रेषण गलत तवरले अनुत्पादक क्षेत्रमा खर्च भइरहेको भन्दै त्यसलाई व्यवस्थित रुपमा लगानीका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिए । सामान्यतया विप्रेषणको ५० प्रतिशत हिस्सा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसबाट आर्थिक विकासको आधार तयार पार्नुपर्ने भन्दै डा तिमिल्सिनाले राज्यले स्पष्ट नीति तथा कार्ययोजना बनाउन आग्रह गरे ।

वाइन्ड पावर नेपालका प्रमुख कार्यकारी अधिकृत कुशल गुरुङले नवीकरणीय ऊर्जाको क्षेत्रमा समेत विप्रेषण र गैरआवासीय नेपालीका लगानीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । पछिल्ला दिनमा सौर्य र वायु ऊर्जालाई एकीकृत गरेर लगानी गर्ने प्रचलन समेत बढेको भन्दै उनले लगानीको खुला क्षेत्र ऊर्जा नै भएकाले त्यसलाई व्यवहारिक रुपमा कार्ययोजना बनाएर लागू गर्नुपर्ने बताए ।

वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रका पूर्व प्रमुख कार्यकारी अधिकृत रामप्रसाद धितालले ऊर्जा क्षेत्रको लगानी भावी पुस्ताका लागि हो भन्ने मानसिकताको विकास गर्न सबैको साझा सहयोग जरुरी रहेको बताए । दक्षिण एशियामा वैकल्पिक ऊर्जाको क्षेत्रमा नेपाल अग्रस्थानमा रहेकाले स्वदेशी लगानीलाई प्रवद्र्धन एवम् विप्रेषणलाई पनि त्यसमा केन्द्रित गर्नुपर्नेमा जोड दिए । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]