बैंकिङ खबर । नेपाल सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विहीबार एक सम्मेलन गरी प्रविधिको उच्चतम प्रयोग गर्दै धितोपत्रको कारोबारलाई थप सहज, सरल एवम लगानीकर्ता मैत्री बनाउने उद्देश्यले दोस्रो बजारमा धितोपत्रको कारोबार पश्चात् लगानीकर्ताले बिक्रि गरेको धितोपत्रको राफसाफ प्रयोजनका लागि जारी गरिने निर्देशन पुर्जिलाई बिद्युतीय रुपमा नै जारी गर्न सकिने व्यवस्था गरेको छ । यस प्रयोजनका लागि लगानीकर्ताले हाल प्रयोग गर्दै आईरहेको अनलाईन सफ्टवेयर “मेरो सेयर” मा बिद्युतीय पुर्जि (Electronic Delivery Instruction Slip) जारी गर्ने सुविधा थप गरेको छ ।
अब लगानीकर्ताहरुले “मेरो सेयर मार्फत नै आफुले बिक्रि गरेको धितोपत्रको कारोबार सम्बन्धी विवरण हेर्न र सो को राफसाफका लागि कारोबार सम्पन्न भएको दिन देखि कारोबार भएपछिको दोस्रो कार्य दिन (T†2) सम्मको समयभित्र जुनसुकै समयमा पनि आफ्नो खाता रहेको निक्षेप सदस्यलाई निर्देशन पुर्जि जारी गर्न सक्नेछन् ।
बिद्युतीय निर्देशन पुर्जि २०७५/६/२१ गतेको कारोबार समय पश्चात् सम्पुर्ण विक्रिकर्ता र लगानीकर्ताले आफ्नो “मेरो सेयर” पोर्टल मार्फत नै विद्युतीय निर्देशन पुर्जि जारी गर्न सक्ने व्यवस्था गरिएको हो । साथै उक्त मितिदेखि कारोबार भएका धितोपत्रको हकमा लाग्ने हस्तान्तरण शुल्क लगानीकर्ताले आफ्ना राफसाफ सदस्य लाई बुझाउने र सो शुल्क सम्बन्धि राफसाफ सदस्य मार्फत कारोबारको राफसाफ तथा पछर्योट प्रणली मार्फत नै संकलन थर्ने व्यवस्था गरिएको छ ।
बिद्युतीय निर्देशन पुर्जिको प्रयोगसँगै लगानीकर्तालाई कारोबार गर्न सहज बनाउनका लागि नेपाल स्टक एक्सचेन्चले पुर्ण स्वचालित कारोबार प्रणाली छोटो समयमा संचालनमा ल्याउने तयारी गरिरहेको छ । उक्त प्रणाली ल्याउनका लागि नेपाल स्टक एक्सचेन्चले परीक्षण गरिरहेको छ । कारोबार राफसाफकै लागि लगानीकर्ताहरु निक्षेप सदस्यको कार्यलय धाउनुपर्ने बाध्यतात्मक अवस्था तथा समयमा नै निर्देशन पुर्जि जारी हुन नसकेको कारणले गर्दा क्लोज आउट सम्बन्धि समस्याको समेत निरुपन गर्ने उद्देश्यले उक्त कारोबार प्रणालीको संचालन गर्न लागेको हो ।
बिद्युतीय निर्देशन पुर्जि प्रयोगबाट सबै लगानीकर्ताहरु लाभन्वित हुन्छन् भन्ने कुरामा नेपाल सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विश्वास व्यक्त गरेको छ ।