बैंकिङ खबर । धितोपत्र बजार तथा वस्तु विनिमय बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आगामी असोज १९ र २० गते विराटनगरमा पहिलो वृहत प्रादेशिक पुँजी बजारको प्रदर्शनी आयोजना गर्ने भएको छ । बोर्डले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । कार्यक्रमको इभेन्ट मेनेजर मिडिया इन्टरनेशनल रहेको छ ।
बोर्डले धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आईएस्कोको आह्वान अनुसार हाल मनाईरहेको लगानीकर्ता सप्ताहको अवसारमा धितोपत्र बजारको प्रादेशिक स्तरबाट विकासको विगुल फुक्न प्रदेश १ को एैतिहासिक तथा औद्योगिक नगर विराटनगरमा उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रममा धितोपत्र बजारसम्बद्ध सम्पूर्ण पक्षहरुको सहभागीता रहनेछ ।
धितोपत्र बोर्डले चालू आर्थिक वर्ष २०७५।७६ को नीति तथा कार्यक्रममा बोर्डको प्रादेशिक कार्यालय प्रदेश नं. १मा स्थापना गर्ने, प्रदेश तथा स्थानीय तहमा धितोपत्र दलाल व्यवसाय खोल्न अनुमति दिने प्रदेश स्तरमा विभिन्न प्रशिक्षण कार्यक्रमहरु संचालन गर्ने तथा प्रादेशिक पुँजी बजार प्रदर्शनी आयोजना गर्ने जस्ता कार्यक्रम समावेश गरेको छ । त्यसै कार्यअन्तर्गत यो प्रदर्शनीको आयोजना गर्न लागिएको हो ।
यस ऐतिहासिक र पहिलो प्रादेशिक पुँजी बजार प्रदर्शनीमा नेपाल स्टक एक्सचेञ्ज, केन्द्य्रीय निक्षेप प्रणाली, धितोपत्र व्यवसायीहरु, मर्चेन्ट बैंकरहरु, सामुहिक लगानी कोष संचालक, धितोपत्रको प्राथमिक निष्काशनमा सहभागी हुन आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरु र साख मुल्यांकन संस्थाहरुको सक्रिय सहभागीता रहनेछ । प्रदर्शनीमा सहभागी हुन आउनेले एकै छानामुनि धितोपत्र र वस्तु विनिमय बजारसम्बन्धी विवित जानकारी पाउनेछन् । प्रादेशिक पुँजी बजार प्रदर्शनीको अवसर धितोपत्र र वस्तु विनिमय बजारका विविध पक्षहरुलाई समेट्ने गरी देशका ख्यातीप्राप्त विज्ञहरुको कार्यपत्र प्रस्तुती र टिप्पणी रहने गरी दुई छुट्टा छुट्टै विषय शीर्षकमा अन्तरक्रिया कार्यक्रम हुनेछन् ।
प्रदर्शनीमा आर्थिक, बैंकिङ तथा धितोपत्र बजारसम्बन्धी प्रादेशिक परिसूचकको विमोचन हुनुका साथै एक नेपाली एक डिम्याट अभियाको सुरुवात समेत यस प्रदर्शनीमा गरिने बोर्डले जानकारी दिएका छ । सहभागीहरुलाई निःशूल्क डिम्याट खाता खोल्ने सुविधा प्रदान गरिने बताइएको छ । प्रदर्शनीमा नेपालको धितोपत्र र वस्तु विनिमय बजारसम्बन्धी जानकारीमूलक प्रकाशनहरु समेत निःशूल्क पाइनेछ । बजारमा आधारित पुँजी परिचालन व्यवस्था सम्बन्धी जानकारी र प्रदेश तथा स्थानीय क्षेत्रको विकास निर्माणका लागि आवश्यक पुँजी परिचालनको सम्भावनाका सम्बन्धमा जानकारीका साथै धितोपत्र बजार सम्बन्धमा सीधा प्रश्न, गुनासा तथा जिज्ञासा राख्ने अवसर प्रदर्शनीमा पाइनेछ ।
बोर्डले असोज १५ गतेदेखि २१ गतेसम्म धितोपत्र बजारका आम लगानीकर्ताहरुको सशक्तिकरण गर्ने उद्देश्यले विभिन्न सचेतना तथा जानकारीमूलक कार्यक्रमको आयोजना गरी लगानीकर्ता सप्ताह मनाइरहेको छ । सप्ताहको पहिलो दिन विशाल प्रभातभेरी कार्यक्रमको आयोजना गरेको थियो । त्यसपछिका दिनमा पनि बोर्डले विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ ।