बैंकिङ खबर । इजाजतपत्रप्राप्त संस्थाले प्रवाह गरेको कर्जा/सापटको साँवा वा ब्याज भुक्तानी हुनुपर्ने भाखा नाघेको अवधिका आधारमा नेपाल राष्ट्र बैंकले सम्पूर्ण कर्जा सापटलाई देहाय बमोजिम वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको छ ।
(क) सक्रिय कर्जा : सक्रिय कर्जामा असल र सूक्ष्म निगरानी कर्जा पर्छन् ।
१. असल
असल कर्जाभित्र भाखा ननाघेका र एक महिनासम्म भाखा नाघेका कर्जा/सापट, मुद्दती रसिदको धितोमा गएका कर्जा तथा सापट, नेपाल सरकारको सुरक्षणपत्र तथा नेपाल राष्ट्र बैंक ऋणपत्रको धितोमा गएका कर्जा तथा सापट र पर्याप्त सुरक्षण लिई प्रति ग्राहक बढीमा रु. १० लाखसम्म प्रवाह भएको सुनचाँदी कर्जा पर्दछन् । तर, अतिरिक्त धितो सुरक्षण वापत मुद्दती रसिद वा नेपाल सरकारको सुरक्षणपत्र वा नेपाल राष्ट्र बैंक ऋणपत्र धितो राखी कर्जा प्रवाह गरेमा त्यस्ता कर्जा तथा सापट र रु. १० लाखभन्दा बढीको सुनचाँदी धितो कर्जालाई भने भाखा नाघेको आधारमा वर्गीकरण गर्नु पर्ने व्यवस्था गरिएको छ ।
बढीमा एक वर्षसम्म भुक्तानी अवधि भएको चालु पुँजी कर्जालाई नवीकरण गर्दा असल कर्जामा समावेश गर्न सकिने छ । इजाजतपत्रप्राप्त संस्थाले ऋणीको कर्जा तिर्न सक्ने क्षमता, भावी नगद प्रवाह, आम्दानीको स्रोत जस्ता कर्जा प्रवाहका न्यूनतम आधारहरुको विश्लेषण पश्चात कर्जा सदुपयोगको सुनिश्चितता हुने गरी मात्र कर्जा नवीकरण गर्नुपर्नेछ । चालु पुँजी प्रकृतिका कर्जाहरुमा प्राप्त हुनु पर्ने ब्याज नियमित नभएको अवस्थामा त्यस्तो कर्जालाई ब्याज वक्यौता अवधिको आधारमा वर्गीकरण गर्नु पर्नेछ ।
२. सूक्ष्म निगरानी
१ महिनादेखि तीन महिनासम्म भाखा नाघेका कर्जा÷सापट, नवीकरण नभई अस्थायी रुपमा भुक्तानी अवधि बढाईएका अल्पकालीन वा चालुपुँजी कर्जा, अन्य कुनै पनि बैंक वा वित्तीय संस्थामा निष्कृय कर्जामा वर्गीकरण भएको ऋणीलाई प्रवाहित कर्जा तथा साँवा र व्याज नियमित रुपमा भुक्तानी भएतापनि लगातार दुई वर्षदेखि खुद नोक्सानीमा रहेको वा नेटवर्थ ऋणात्मक रहेको फर्म, कम्पनी वा संस्थालाई प्रवाहित कर्जालाई सूक्ष्म निगरानीभित्र राखिएको छ । तर, निर्माणाधीन अवस्थामा रहेका परियोजनालाई प्रदान गरिएको कर्जाको हकमा परियोजनाले व्यावसायिक उत्पादन शुरु गरेपछि मात्र यो व्यवस्था लागू हुने प्रष्ट पारिएको छ । त्यस्तै, रु. १ अर्ब वा सो भन्दा बढी रकमका सह–वित्तीयकरण कर्जामापरिणत नभएका बहुबैंकिङ्ग कर्जाहरु एवम् राष्ट्र बैंकले निरीक्षण गर्दा ऋणीको नगद प्रवाह तथा परियोजना सञ्चालनको अवस्था कमजोर भएको आधारमा सूक्ष्म निगरानीमा राख्ने भनी निर्देशन दिइएका कर्जालाई पनि सूक्ष्म निगरानीभित्र राखिएको छ ।
(ख) निष्कृय कर्जा : निष्कृय कर्जालाई चार प्रकारमा वर्गीकरण गरिएको छ ः
(१) ३ महिनादेखि ६ महिनासम्म भाखा नाघेका कर्जा÷सापटलाई कमसल कर्जा भनिएको छ ।
(२) ६ महिनादेखि बढीमा १ वर्षसम्म भाखा नाघेका कर्जा÷सापटलाई शंकाष्पद कर्जा भनिएको छ ।
(३) १ वर्षभन्दा बढी अवधिले भाखा नाघेका कर्जा÷सापटलाई भने खराब कर्जा भनिएको छ ।
(४) ऋणीले पेश गरेको लिखित कार्य योजनामा उल्लिखित आधारहरुमा इजाजतपत्रप्राप्त संस्था विश्वस्त भई पुनरतालिकीकरण वा पुनरसंरचना गरिएका कर्जाहरुलाई पनि निष्कृय कर्जाभित्र राखिएको छ ।
खराव कर्जामा वर्गीकरण हुने आधारहरु
भाखा नाघेको वा ननाघेको कुनै पनि कर्जामा देहायको कुनै कैफियत देखिएमा त्यस्तो कर्जा तथा सापटलाई खराव कर्जामा वर्गीकरण गर्नु पर्नेछ र त्यस्तो कर्जा असुलीको प्रकृया अगाडि बढाउनु पर्नेछ ।
(क) ऋणी टाट पल्टेमा वा टाट पल्टेको घोषणा भएमा,
(ख) ऋणी हराएमा वा गायव भएमा,
(ग) कर्जा दुरुपयोग भएमा,
(घ) परियोजना/व्यवसाय सञ्चालन हुने अवस्था नरहेमा, परियोजना वा व्यवसाय सञ्चालनमा नभएमा,
(ङ) प्रतीतपत्र, जमानत तथा अन्य सम्भावित दायित्वहरु फोर्स लोनको रुपमा कोषमा आधारित कर्जामा परिणत भएको अवस्थामा त्यसरी कर्जामा परिणत भएको मितिले नब्बे दिनसम्म असुली नभएमा,
(च) कर्जा असुल हुन नसकी लिलामी प्रक्रिया शुरु भएको १८० दिन नाघेमा वा असुली प्रक्रिया अन्तर्गत अदालतमा मुद्दा चलिरहेको अवस्थामा,
(छ) कर्जा सूचना केन्द्रको कालोसूचीमा कायम रहेका ऋणीलाई कर्जा प्रदान गरेको अवस्थामा,
(ज) सुरक्षणको बजार मूल्यले कर्जाको सुरक्षण हुन नसक्ने भएमा,
(झ) खरिद वा डिस्काउन्ट गरेको बिल्सको भुक्तानी मितिले नब्बे दिनसम्म असुली नभएमा,
(ट) टि.आर.कर्जा भुक्तानी गर्ने प्रयोजनको लागि प्रतीतपत्र खोल्दाका बखत उल्लेख नगरिएको अन्य कुनै नयाँ कर्जा स्वीकृत गरी प्रवाह भएमा ।
(ठ) क्रेडिट कार्ड कर्जा भाखा नाघेको मितिले नब्बे दिनभित्र अपलेखन नभएमा ।
(ड) ऋणीले एउटै मिति वा अवधिको अलग अलग वित्तीय विवरण पेश गरेको अवस्थामा ।