प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । उनीहरुले लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण द्रुत गतिमा अगाडि बढाउन र सबै गाउँपालिका तथा नगरपालिकामा बैंकिङ सेवा पुर्याउन माग गरेका छन् ।
सांसदहरुले थारु जातीमा मात्र देखिने सिकलसेल रोगको उपचार निःशुल्क गर्न, स्वास्थ्य बीमा भएका जिल्लामा औषधि अभाव देखिएको र आन्दोलनमा रहेका चिकित्सकका माग सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
यसरी ध्यानाकर्षण गराउने सांसदहरुमा अतहरकमाल मुसलमान, आशाकुमारी विक, उमा रेग्मी, कुमारी मेचे, कृष्णकुमारी श्रेष्ठ, खगराज अधिकारी, गौरीशंकर चौधरी र केदार सिग्देल छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महरासित विशेष समय माग गरी नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कञ्चनपुरमा बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्याराको खोजी गरी कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् । रासस