September 3rd, 2018

बैंकमा खाता संख्या बढ्दैमा  बैंकिङ पहुँच बढ्दैन

राष्ट्रिय स्तरको कामना सेवा विकास बैंकले उत्पादनशील क्षेत्रको लगानी तथा ग्रामीण क्षेत्रमा शाखा विस्तारलाई प्राथमिकतामा राख्दै आएको छ । अबका दिनमा पनि बैंकले सोही रणनीतिलाई अगाडी बढाउँदै लैजाने जनाएको छ । चालू आर्थिक वर्षभित्रमा नै २२ नयाँ  शाखा विस्तार गर्ने योजना बनाएको यसै बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेसँग बैंकिङ खबर डट कमका लागि सहकर्मी विलय पराजुलीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

व्यवसायी एवम् उद्योगीहरु र बैंकिङ क्षेत्रबीचमा देखिएको व्याजदरको द्धन्द्धलाई कसरी समधान गर्न सकिन्छ ?
एकातिर निजीस्तरका बैंकहरु बढी नाफामुखी हुँदै गइरहेका छन् । हुन त उनीहरुले पनि व्यवसायीहलाई अप्ठेरामा पार्ने मनशाय राखेका हुँदैनन् । कर्जाको व्याज बढाउनु पनि उनीहरुका लागि एक किसिमको बाध्यता हो । तर, व्यवसायीहरु सँधै कम व्याजदरमा कर्जा खोज्छन् । त्यसैले, यो द्धन्द्ध कहिल्यै समाप्त हुन्छ जस्तो मलाई लाग्दैन ।

तरलता संकटका कारण निक्षेपमा व्याज बढाउनुपर्ने भएपछि कर्जाको व्याज पनि बढाउने स्थिती आएको हो । वास्तवमा मार्केटमा भएको डिमान्ड र सप्लाईकोे आधारमा व्याजदर निर्धारण हुन्छ । बैंकहरुले व्यवसायीहरुलाई कम व्याजमा ऋण दिन सक्यो भने व्यवसाय फस्टाउन सक्छ भन्ने बैंकहरुको मान्यता हुन्छ । विभिन्न संकटले गर्दा बैंकले व्याजदर बढाउनु परेको अवस्थामा सर्वसाधरणहरुको गुनासो आउँछ । तत्कालको लागि बढि व्याज देखिएता पनि नेपालको बजार समय समयमा परिवर्तण्न हुन्छ । जसले गर्दा कुनै समयमा व्यवसायीहरुलाई मर्का पर्छ भने कुनै समयमा बैंकहरुलाई मर्का पर्न सक्छ । त्यसैले बैंकहरु बढि नाफमुखी भन्दा पनि सेवामुखी भएर काम गर्दै आए भने व्याजदरमा देखिएको समस्या पुरै हट्न नसकेता पनि केही हदसम्म कम गर्न सकिन्छ । 

कामना सेवा विकास बैंकमा व्याजदरको अवस्था कस्तो छ ?
कामना सेवा विकास बैंकमा व्याजदरको अवस्था अरु बैंकहरुको जस्तै छ । कामना सेवा विकास बैंकले डिपोजिट र सेभिङमा ५ देखि ५.५ प्रतिशतसम्म व्याज दिएको छ । त्यसैगरी कर्जातर्फ बेस रेट १२.५८ रहेको छ । बेस रेट भन्दा तल लगानी गर्न पाइँदैन । १२.५८ भन्दा माथि १।२ प्रतिशत मार्जिनमा मार्जिनमा वा राम्रो व्यवसाय छ भने थोरै मार्जिन लिएर पनि लगानी गरेको छ । 

शाखा विस्तार बृद्धिसँगै ग्रामीण भेगमा निक्षेप संकलन र कर्जाको अवस्था कस्तो रहेको छ ?
राष्ट्र बैंकले सबै कमर्सियल बैंकहरुलाई ग्रामीण भेगमा जान निर्देशन दिएको थियो । जसले गर्दा ग्रामीण क्षेत्रमा बैंकहरुको राम्रो उपस्थिती रहेको छ । कमर्सियल बैंक मात्र नभएर अरु वित्तीय संस्थाहरु पनि गाउँ गाउँमा शाखा विस्तार गर्दै आएका छन् । ग्रामीण क्षेत्रमा शाखाको राम्रो उपस्थितीसँगै निक्षेप संकलनको अवस्था पनि राम्रो छ । ग्रामीण क्षेत्रको निक्षेप स्थिर रहन्छ । ग्रामीण भेगका सर्वसाधरणहरु पैसाको सुरक्षाका लागि बैंकमा आउँछन् र बजारमा जस्तो व्याजको लागि बारगेनिङ पनि गर्दैनन् । यद्यपि, निक्षेपको तुलनामा कर्जाको अवस्था राम्रो छैन । भौतिक पूर्वाधारको अभावका कारण कर्जा प्रवाह गर्दा यातायात लगायतको सुविधाको आवश्यकता पर्दछ । यो सुविधा ग्रामीण भेगमा नहुँदा समस्या पर्ने गरेको छ ।

कामना सेवा विकास बैंकका आगामी योजनाहरु के के छन् ? 
कामना सेवा विकास बैंकले सहरी क्षेत्रका सुगम ठाउँहरु लगायत ग्रामीण भेगका अति दुर्गम ठाउँहरुमा समेत शाखा विस्तार गर्दै आएको  छ । कामना सेवा विकास बैंकका कुल ५८ वटा शाखा संचालनमा रहेका छन् । चालु आर्थिक वर्षमा कामना सेवा विकास बैंकले कुल २२ वटा नयाँ शाखा विस्तार गर्ने योजना राखेको छ । जसमध्ये उपत्यकाभित्र ६ वटा र उपत्यका बाहिरका विभिन्न ठाउँहरुमा १६ वटा शाखा विस्तार गर्ने योजना रहेको छ । पहाडी भेगका अति विकट क्षेत्रहरुमा समेत शाखा विस्तार गर्ने लक्ष्य लिएको छ । 

चालु आर्थिक बर्षमै कामना सेवा विकास बैंकले कामना सेवा रेमिट्यान्स भनेर आफ्नै रेमिट संचालनमा ल्याउने, माइक्रोफाइनान्स मार्फत गाउँ गाउँमा लघुवित्त कर्जा कार्यक्रमहरुलाई पनि अगाडी बढाउने र कर्मचारीहरुलाई प्रभावकारी तालिम दिने योजना बनाएको छ ।

कामना सेवा विकास बैंकले मर्जर वा एक्विजिसजमा जाने योजना बनाएको छ कि छैन ?
कामना विकास बैंकको मर्जरमा जाने कुनै योजना छैन । कामना विकास बैंकसँग सेवा विकास बैंक मर्ज भए पश्चात काठमाडौँमा केन्द्रीय कार्यालय सारी आफ्नै भवन समेत किनिसकेका छौँ । यदि राम्रो कमर्सियल बैंकले मर्ज गर्छ भने हामीलाई कुनै आपत्ति छैन । तर, तत्कालै मर्जरमा जाने नै भनेर योजना बनाएका छैनौँ । राष्ट्र बैंक्ले नै कुनै योजना बतायो भने सोही अनुरुप जान कामना सेवा विकास बैंक तयार छ ।

आर्थिक समृद्धिका लागि सरकारले गर्नुपर्ने कामहरु के के हुन सक्छन् ?
विशेष गरि सरकारले अर्थिक समृद्धिका लागि कृषि र पर्यटना क्षेत्रलाई प्रथामिकता दिएर सहजिकरण को वातावरण बनाउन पर्छ । करको विषयमा सर्वसाधरण, उद्योगी तथा व्यापारीहरुबाट धेरै कुराहरु आइरहेको छ ।  त्यसकारण करको दायरालाई चुस्तदुस्त बनाउनुपर्छ । भौतिक पुर्वधारहरुको विकास नभएको ठाउँहरुमा पुर्वधारको सुविधा लैजानुपर्छ । सरकारले यी विभिन्न पक्षमा ध्यान दिन सक्यो भने नेपालको आर्थिक अवस्था सुधार हुन सक्छ । 

नेपालको बैकिङ क्षेत्रमा देखिएका चुनौतिहरु के के हुन सक्छन् ?
नेपालको बैंकिङ क्षेत्रमा चुनौति बैकिङ क्षेत्र आफैँबाट सिर्जना हुँदै आएको छ । बैंकिङ क्षेत्रले दिर्घकालिन पोलिसीहरुलाई फलो गर्न सकिरहेका छैनन् । बैंकिङ क्षेत्र अझै पनि अन्योलमै छ । बैंकहरुले गर्ने काम नै ठम्याउन नसक्ने अवस्था छ । विकास बैंक ऐन २०५२ मा आएको हो । यति धेरै लामो समयको अन्तरालमा हामीलाई विकास बैंकहरुले कमर्सियल बैंकहरुसँग प्रतिष्पर्धा गर्नुपर्छ भन्ने कुरा मात्र थाहा छ । यो हाम्रो सिमित बुझाई हो । तर, विकास बैंक के हो त ? भन्ने कुरा विकास बैंकका अधिकृतदेखि कर्मचारीहरु समेतलाई अन्यौलको विषय छ । विकास बैंक मात्र हैन नेपालको पुरै बैंकिङ क्षेत्रको अवस्था अन्योलग्रस्त छ । 
नेपालको बैकिङ क्षेत्रलाई (क, ख, ग र घ वर्गका बैंकहरुलाई) हेर्ने मानिसहरुको साँघुरो सोच पनि बैंकिङ क्षेत्रको जटिल चुनौति हो । त्यसकारण सर्वसाधारणहरुमा यो विवेधकारी सोच हुनुहुँदैन । सबै बैंकहरुले निक्षेप लिन्छन् र कर्जा प्रवाह गर्छन् भन्ने कुरामा सर्वसाधारणहरुको विश्वास अब्बल हुनुपर्छ । 

बैंकिङ पहुँच र वित्तीय साक्षरता अभिबृद्धिका लागि के के गर्न सकिन्छ ?
अन्य देशको तुलनामा नेपालको बैंकिङ पहुँच र बित्तीय साक्षरता अत्यन्त कम छ । पछिल्लो समयमा शुन्य रकमका खाताहरुले गर्दा एउटै व्यक्तिले ३/४ वटा बैंकमा खाता खोल्ने प्रक्रियाले गर्दा खाता गणना मात्र भएको छ । खाता संख्या बृद्धिको आधारमा नेपालको बैंंकिङ पहुँच बृद्धि भएको हो भन्ने कुरा सुनिएको छ । तर, खाता संख्या बृद्धि हुँदैमा बैंकिङ पहुँच बढेको जस्तो मलाई लाग्दैन । 

बैंकिङ पहुँच बृद्धिका लागि नेटर्वकको विस्तार गर्नुपर्छ । बैंकिङ पहुँच नपुगेका ठाउँहरुमा शाखा विस्तार गर्नुपर्छ । यस कुरामा सरकारले पनि ध्यानआकर्षण गर्नुपर्ने हुन्छ । वित्तीय साक्षरता शाखासँगै बृद्धि हुन्छ । विकट क्षेत्रमा पहिले पूर्वाधारको विकास गरी बैंकको  शाखा संचालन गर्ने वातावरण तयार गर्नुपर्छ । वित्तीय साक्षरता बढाउनका लागि बेलाबेलामा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरुलाई पनि गाउँ गाउँसम्म लैजानुपर्छ । 

बैंकिङ क्षेत्रमा जागिरका लागि जाने नव प्रवेशीहरुमा हुनुपर्ने गुणहरु के के हुन् ?
बैंकमा जागिरका लागि जाने व्यक्तिहरु उत्सुक र क्षमतावान् हुनुपर्छ । बैंंक चलाउनलाई शैक्षिक योग्यताका साथमा बाहिरी ज्ञानहरुको पनि उत्तिकै खाँचो पर्छ । किताबी  ज्ञानको सिमितताले बैंकमा जागीर खान सकिँदैन । बैंक एउटा सिसाको घर हो । यसको मतलब बैंकिङ क्षेत्रमभा जोखिम धेरै हुन्छ । त्यसैले, जोखिम बहन गर्न सक्ने क्षमता भएका व्यक्ति मात्रै बैंकमा जागीर गर्न सक्छन् । बैंकहरुमा कर्मचारी प्रशस्त भएर पनि कामप्रति दक्ष नभएको अवस्था छ । त्यसैले, आफू का मगर्न आएको कार्यक्षेत्रभित्र रहेर उक्त बैंकको बारेमा सम्पस्र्ण जानकारी हासिल गर्नु आवश्यक हुन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]