September 2nd, 2018

बीमा अभिकर्तामै बीमा शिक्षाको अभाव

रुपा कोइराला/बैंकिङ खबर । बीमा कम्पनीको तर्फबाट तलबी कर्मचारीको रुपमा निश्चित कमिसनका आधारमा बिमकको तर्फबाट बिमित सक्षम भई प्रवद्र्धन कार्य गर्ने व्यक्तिलाई बीमा अभिकर्ता भनिन्छ । बीमा कम्पनीको तर्फबाट प्रतिनिधीको रुपमा बीमा गराउन चाहने मानिसको सम्पर्कमा पुग्ने, बीमा प्रस्ताव फारम भराउन सहयोग गर्ने, बिमितलाई बीमासम्बन्धी आवश्यक सरसल्लाह दिने तथा दाबी भुक्तानीको समयमा बिमितको परिवारलाई आवश्यक सहयोग गर्ने काम अभिकर्ताको हो ।

कम्पनीका तर्फबाट जनतासँग जोडिने माध्यम नै अभिकर्ता भएकाले अभिकर्ताहरुमा राम्रो बीमा शिक्षा हुनु आवश्यक छ । वास्तवमा बीमा शिक्षा अभिवृद्धि र बीमा पहुँच विस्तारमा अभिकर्ताको भूमिका नै मूख्य हुन आउँछ । जीवन बीमा कम्पनीहरुको ९० प्रतिशत विजनेश बीमा अभिकर्तामार्फत आउने गर्दछ । तर, नेपालको सन्दर्भमा हेर्दा, बीमा अभिकर्ताहरुमा नै बीमा सम्बन्धी ज्ञानको अभाव भएको ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री बताउँछन् । कतिपय अभिकर्तामा ज्ञान भएर पनि मानिसहरुलाई बुझाउन सक्ने क्षमताको अभाव भएका कारण नेपालमा बीमा पहुँच कम भएको उनको बुझाई छ । 

युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटडेका कामु प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई अभिकर्तामा मात्र नभएर बीमा कम्पनीका कर्मचारीहरुमा समेत बीमा ज्ञानको अभाव रहेको बताउँछन् । ‘मानिसहरुलाई बीमा गर्दाको फाइदाको बारेमा सर्वसाधरणहरुलाई बुझाएर भन्न सक्ने क्षमताको पनि कमी भएको कारण बीमा पहुँच कम भएको हो,’ उनी भन्छन्, ‘त्यसकारण बीमा क्षेत्रमा बीमा सम्बन्धी राम्रो ज्ञान भएको मानिसले जनचेतना फैलाउने खालको विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नु आवश्यक छ ।’

बीमा कम्पनीहरुको पोलिसी विक्री बढि मात्रामा गर्नेे भनेका अभिकर्ताहरु नै भएपनि अभिकर्ताहरुमा बीमा सम्बन्धी ज्ञानको कमी भएको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ पनि स्वीकार्छन् । अभिकर्ताहरुमा क्षमता बृद्धिकै लागि भनेर बीमा समिति र बीमा कम्पनीहरुबीचको सहकार्यमा बीमा तालिम केन्द्रको समेत सुरुवात भइसकेको छ । अबका दिनहरुमा बीमा अभिकर्ताहरुलाई तालिम दिएर मात्र गाउँ गाउँमा पोलिसी विक्रीका लागि पठाउने योजना बनाएको चापागाईँको भनाई छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]