September 1st, 2018

बीमा शिक्षा र पहुँच वृद्धिका लागि यस्ता छन्, बीमा समितिका योजनाहरु

चिरञ्जीवी चापागाईँ, अध्यक्ष बीमा समिति । नेपालमा बीमा पहुँच र बीमा साक्षरता कम छ । बीमा र बैंकिङ क्षेत्रलाई तुलना गर्ने हो भने बैंकिङ पहुँच ५० प्रतिशत जनतामा पुग्दा बीमा पहुँच १० प्रतिशत जनतामा मात्र पुग्न सफल भएको छ । विगतका बर्षहरुमा झन् बीमा पहुँच अत्यन्त थोरै ७ प्रतिशतको हाराहारीमा मात्र सिमित थियो । अहिले विस्तारै बीमा साक्षरता र पहुँच बृद्धि हुँदै आएको छ । बीमा समितिले सबै मानिसहरुमा बीमा सम्बन्धी चेतना फैलाउन विगतको वर्षहरुदेखि धेरै ठुलो मिहिनेत गर्दै आफ्नो कामलाई निरन्तरता दिँदै आएको छ । 

नेपालमा बीमा साक्षरता अभिबृद्धिका लागि बीमा समितिका योजनाहरु यसप्रकार छन् :
अभिकर्ताहरुलाई तालिमको व्यवस्था : बीमा कम्पनीहरुको पोलिसी विक्री बढि मात्रामा गर्नेे भनेका अभिकर्ताहरु नै हुन् ।  तर, अभिकर्ताहरुमा बीमा सम्बन्धी ज्ञानको कमी छ । अभिकर्ताहरुमा क्षमता बृद्धिकालागि बीमा समितिले लालिम केन्द्रको स्थापना गरेको छ । अबका दिनहरुमा बीमा अभिकर्ताहरुलाई तालिम दिएर मात्र गाउँ गाउँमा पोलिसी विक्रीका लागि पठाउने योजना बनाएका छौँ । 

प्रचारप्रसारमा जोड : बीमा सम्बन्धी प्रचारप्रसारमा कमी भएर बीमा पहुँच कम भएको हो । पहिला पहिला घरमै पैसा राखिन्थ्यो, बैंक भन्ने शब्द नै थिएन । पछि पैसा चोरी हुन लागेपछि बैंकमा राख्नुपर्छ भन्ने जनचेतना फैलिएको हो । बैंकको बारेमा चेतना विश्वभर फैलिएता पनि नेपालमा जम्मा ५० प्रतिशत मानिसहरुमा मात्र सिमित छ । झन् बीमाको बारेमा थाहा हुने मानिसहरु त बैंकको तुलनामा अत्यन्त कम छन् । बीमा गरेर के हुन्छ र ? क्षतिपुर्ति दिने निकाय पनि छ र ? के पैसा दिन्थ्यो ? भन्ने यस्ता कमजोर धारणा समाजमा छन् । त्यसैले, अबका दिनहरुमा प्रचारप्रसारलाई महत्व दिँदै गाउँ गाउँमा विधि कार्यक्रमहरु संचालन गर्ने योजना बनाएका छौँ । 

स्थानीय तहसम्म बीमालाई समेट्नका लागि बीमा समितिले विभिन्न योजनाहरु बनाउँदै आएको छ ।

बीमा  पहुँच वृद्धिका लागि बीमा समितिका योजनाहरु यसप्रकार छन् : 

हालै बीमा समितिले नयाँ ऐनको विधेयक अघि सारेको छ । त्यो विधेयकमा माइक्रोइन्स्योरेन्सको धारणालाई समेटिएको छ । 
प्रादेशिक संरचनामा बीमालाई कसरी लैजाने भन्ने विषयमा छलफल भइरहेको छ । बीमा कम्पनीहरुलाई आगामी दिनहरुमा ७५३ वटै स्थानीय तहसम्म शाखा विस्तार गर्नुपर्छ भन्ने हिसाबले अगाडी बढिरहेका छौँ । चालु आर्थिक वर्षमा सबै स्थानीय तह अर्थात दुर्गम भेगमासम्म बीमाका शाखा विस्तार गर्ने बीमा समितिको मुख्य योजना हो । 
त्यस्तै, आगामी दिनमा बीमा क्षेत्रको संस्थागत सुशासन कायम गर्ने बीमा समितिको सुपरिवेक्षण र निरक्षणलाई निरन्तरताको साथ अगाडी लैजाने बीमा समितिको योजना रहेको छ । 
अन्तराष्ट्रिय क्षेत्रमा भएका बीमा कम्पनिका मुलभुत सिद्धान्तहरुलाई आत्मसात गर्दै नेपाली बीमा बजारमा लागु गरी बीमा क्षेत्रलाई प्रतिष्पर्धात्मक बनाउने योजना रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]