August 27th, 2018

बीमा शूल्क वापत निर्जिवन बीमा कम्पनीहरुले आर्जन गरे २२ अर्ब बढी

बैंकिङ खबर । निर्जीवन बीमा कम्पनीहरुले असार मसान्तसम्ममा बीमा शुल्कवापत २२ अर्व ३५ करोड ७६ लाख १६ हजार रुपैयाँ आर्जन गरेका छन्, जुन जेठ मसान्तको तुलनामा तीन अर्ब ४९ करोड ४१ लाख ९५ हजारले बढी हो । जसमध्ये, अग्नि बीमाबाट ४ अर्व २९ करोड ३२ लाख ५१ हजार, मोटर बीमाबाट ८ अर्व ९७ करोड ८४ लाख २४ हजार, सामुद्रिक बीमाबाट ३ अर्व १४ करोड १४ लाख ६८ हजार, हवाई बीमाबाट ९ करोड ८२ लाख ४४ हजार, इन्जिनिरयरिङ बीमाबाट २ अर्व २९ करोड ८५ लाख ९० हजार, कृषि बाली बीमाबाट ५ कारोड ४२ लाख ७६ हजार र अन्य विविध बीमाबाट २ अर्व १९ करोड ५५ लाख ६३ हजार रुपैया बीमा शुल्क आर्जन गरेका छन् । 

जेठको तुलनामा असारमा बीमा लेखको संख्या भने १६ हजार छ सय ७८ ले घटेको छ । जेठमा एक लाख ९६ हजार छ सय ४१ बीमा लेख जारी भएकोमा असारमा एक लाख ७९ हजार नौ सय ६३ बीमालेख जारी भएको बीमा समितिको तथ्यांक छ । 

असार मसान्तसम्ममा भुक्तानीको लागि ८२ हजार सात सय ८६ वटा दाबी परेकोमा ६६ हजार नौ सय २६ वटा दाबीको भुक्तानी भइसकेको छ । असार मसान्तसम्मको विवरण अनुसार कुल १५ हजार ८ सय ६० वटा दाबीको भुक्तानी गर्न बाँकी रहेको छ । 

त्यस्तै, असार मसान्तसम्ममा पुनर्वीमा शुल्क भुक्तानी रकम ११ अर्व ४९ करोड ५५ लाख १२ हजार रुपैया पुगेको छ । पुनर्वीमा कमिशन वापत निर्जिवन बीमा कम्पनीहरुले दुई अर्ब २६ करोड ६५ लाख ७६ हजार रुपैयाँ आर्जन गरेका छन् । 

असार मसान्तसम्ममा संचालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरुको कुल चुक्ता पुँजी १० अर्ब ८५ करोड ५१ लाख ५५ हजार रुपैयाँ रहेको छ । जेठ मसान्तमा १७ वटा निर्जिवन बीमा कम्पनी संचालनमा थिए । यी कम्पनीहरुको कुल लगानी एक महिनामा दुई अर्ब १२ करोड नब्बे लाख ८५ हजार रुपैयाँले बृद्धि भई २७ अर्ब ४४ करोड ९८ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

निर्जीवन बीमा कम्पनीहरुमा काम गर्ने कर्मचारीहरु जेष्ठ मसान्तसम्म तीन हजार पाँच सय २२ जना रहेकोमा असार मसान्तसम्मा छ सय ३६ जन थपिएका छन् । असार मसान्तको तथ्यांकअनुसार, निर्जिवन बीमा कम्पनीहरुमा चार हजार एक सय ५८ जना कर्मचारी कार्यरत छन् । त्यस्तै, अकिर्ता दुई हजार पाँच सय ११ जना पुगेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]