बैंकिङ खबर । कामना सेवा विकास बैंकले चालु आर्थिक बर्षमा २२ वटा शाखा विस्तार गर्ने भएको छ । बैंकले एक वर्षभित्रमा काठमाडौं उपत्यकाभित्र ६ वटा, प्रदेश नं. १मा ७ वटा, प्रदेश नं. २ मा ७ वटा, प्रदेश नं. ४ मा १ र प्रदेश नं. ५ मा १ गरी कुल २२ वटा शाखा विस्तार गर्न लागेको प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले बताए । उपत्यकाभित्र न्यूरोड, कलंकी र गोङ्गबुको लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको बैंक नयाँ बानेश्वर, काटे्श्वर र चाबहिलको लागि स्वीकृति लिने प्रक्रियामा रहेको छ । बैंकले चालु आर्थिक बर्षमा नै बुटवल, पोखरा, भरतपुर र नेपालगञ्जमा गरी ४ वटा क्षेत्रीय कार्यलय पनि संचालनमा ल्याउन लागेको छ ।
हाल ५८ वटा शाखा मार्फत बैंकिङ कारोबार गरीरहेको बैंकले १० वटा शाखा कार्यलय मार्फत लघुवित्त कार्यक्रम पनि संचालन गरिरहेको छ । हाल संचालनमा रहेकामध्ये, प्रदेश नं. २ मा १ वटा, प्रदेश नं. ३ मा ९ वटा, प्रदेश नं. ४मा २० वटा, प्रदेश नं. ५ मा २४ वटा शाखा, प्रदेश नं. ६मा १ वटा र प्रदेश नंं. ७ मा ३ वटा शाखा संचालनमा रहेको छ ।
असार मसान्तसम्ममा बैंकको कुल ग्राहक संख्या तीन लाख ५० हजार भन्दा बढी रहेको छ भने कर्मचारी संख्या करीब ४५० जना रहेको छ । प्रधान कार्यलयमा समेत गरी १७ वटा एटिएम बुथ संचालन गरीरहेका बैंकको एटीएम प्रयोगकर्ताको संख्या १६ हजारभन्दा माथि रहेको काफ्लेले जानकारी दिए । त्यस्तै, मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या ५० हजार भन्दा माथि रहेको छ ।
असार मसान्त सम्ममा १५ अर्ब ७५ करोड निक्षेप संकलन गरेको बैंकले उक्त अबधिमा १३ अर्ब ४४ करोड कर्जा लगानी गरेको छ । लगानी गरेको कर्जामध्ये उत्पादन क्षेत्रको हिस्सा २३ प्रतिशत रहेका छ भने विपन्न बर्गमा मात्र बैंकले ६० करोडभन्दा बढी लगानी गरेको छ । असार मसान्तसम्ममा कामना सेवा विकास बैंकको खराब कर्जा ०.६९ प्रतिशत रहेको छ । बैंकको स्प्रेट रेट ५.२२ प्रतिशत तथा बेस रेट १२.५८ प्रतिशत छ । त्यस्तै बैंकको कर्जा निक्षेप अनुपात ७०.०५ प्रतिशत मात्र रहेको छ ।