Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

६३७ स्थानीय तहमा वाणिज्य बैंक, सबैभन्दा धेरै प्रदेश २ मा 

२०७५ भाद्र ६ गते

विजय पराजुली/बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको भदौ ५ गते सम्मको तथ्याङ्क अनुसार ७५३ स्थानीय तह मध्ये ६३७ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । बाँकी रहेको ११६ स्थानीय तहमा पनि अबको ३।४ महिना भित्रमा नै शाखा पुर्याइसक्ने लक्ष्य नेपाल राष्ट्र बैंकले लिएको कार्यकारी निर्देशक नरबहादुर थापा बताउछन् । 

हालसम्म प्रदेश २ मा सबैभन्दा बढी स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । प्रदेश २ को १३६ स्थानीय तहमध्ये १२३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगिसकेको छ । त्यस्तै सबैभन्दा कम बैंक शाखा  प्रदेश ६ अथात् कर्णाली प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा रहेको ७९ स्थानीय तहमध्ये ५६ स्थानीय तहमा मात्रै बैंकको शाखा कार्यलय पुगेको छ । 

यसबाहेक, प्रदेश १ मा सबैभन्दा बढी कुल १३७ स्थानीय तह रहेकोमा ११५ स्थानीय तहमा वाणिज्य बैंक पुगेको छ । केन्द्रीय राजधानी समेत रहेको प्रदेश ३ मा ११९ स्थानीय तह रहेकोमा १०७ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । गण्डकी प्रदेशमा ८५ स्थानीय तह रहेकोमा ७४ स्थानीय तहमा वाणिज्य बैंक पुगेका छ । १०९ स्थानीय तह रहेको प्रदेश ५ को ९९ स्थानीय तहमा वाणिज्य बैंकले शाखा खोलेका छन् भने जम्मा ८८ स्थानीय तह रहेको प्रदेश ७ को ६३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा कार्यलय पुगेको छ । 

वाणिज्य बैंक पुग्न बाँकी स्थानीय तह
बैंकको शाखा नपुगेको स्थानीय तहको संख्याको आधारमा हेर्दा, प्रदेश नं. ५ मा सबैभन्दा कम १० स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न बाँकी रहेको छ । त्यस्तै, प्रदेश नं. ७ को २५ स्थानीय तहमा बैंक पुगेका छैनन् । यसबाहेक, प्रदेश १ को २२,  प्रदेश २को १३, प्रदेश ३ को १२, प्रदेश ४को ११ र प्रदेश ६ को २३ वटा स्थानीय तहमा बाणिज्य बैंक पुग्न सकेका छैनन् ।

Ad