August 22nd, 2018

खराब कर्जा सुधार गर्दै वाणिज्य बैंकहरु, १७ बैंकको घट्यो

रुपा कोइराला/बैंकिङ खबर । गत आर्थिक वर्षमा ११ वटा वाणिज्य बैंकको खराब कर्जा बढेको छ । बाँकी १७ वटा वाणिज्य बैंकले भने अघिल्लो आर्थिक वर्षको अन्त्यको तुलनामा खराब कर्जा घटाएका छन् । सानिमा बैंकको खराब कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको भएतापनि तुलनात्मक रुपमा २८ वाणिज्य बैंकमध्येमा सबैभन्दा कम रहेको छ । त्यस्तै, सबैभन्दा बढी खराब कर्जा राष्ट्रिय वाणिज्य बैंकमा रहेको छ ।
२८ वटै बैंकको खराब कर्जा पाँच प्रतिशतभन्दा कम रहेको छ । जम्मा आठ वटा बैंकको खराब कर्जा एक प्रतिशतभन्दा तल रहेको छ । तीन प्रतिशतभन्दा बढी खराब कर्जा भएका बैंक चार वटा छन् ।  

खराब कर्जा बढेका ११ बैंकहरु
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खराब कर्जा ३.७७ प्रतिशतबाट बढेर ४.२५ प्रतिशत पुगेको छ । 
कृषि विकास बैंक लिमिटेडको खराब कर्जा दुई दशमलव ९७ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत पुगेको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडको खराब कर्जा १.२९ प्रतिशतबाट बढेर १.३२ प्रतिशत पुगेको छ ।
लक्ष्मी बैंक लिमिटेडको खराब कर्जा ०.९३ प्रतिशतबाट बढेर १.२९ प्रतिशत पुगेको छ ।
नेपाल बंगलादेश बैंक लिमिटेडको खराब कर्जा ०.७६ प्रतिशतबाट बढेर १.१३ प्रतिशत पुगेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको खराब कर्जा ०.८३ प्रतिशतबाट बढेर १.०३ प्रतिशत पुगेको छ ।
हिमालयन बैंक लिमिटेडको खराब कर्जा ०.८७ प्रतिशतबाट बढेर ०.९८ प्रतिशत पुगेको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेड पनि खराब कर्जा घटाउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा १.६० प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात गत आर्थिक वर्षको अन्त्यमा ०.६९ प्रतिशत कायम  भएको छ । 
नेपाल एसबीआई बैंक लिमिटेडको खराब कर्जा ०.१० प्रतिशतबाट बढेर ०.२० प्रतिशत पुगेको छ । 
सानिमा बैंकको खराब कर्जा ०.०३ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खराब कर्जा ०.०१ प्रतिशत मात्रै थियो ।

खराब कर्जामा सुधार गर्न सफल १७ बैंकहरु
एनसीसी बैंक लिमिटेडको खराब कर्जा ४.८० प्रतिशतबाट ३.८९ प्रतिशतमा झरेको छ ।
प्रभु बैंक लिमिटेडको खराब कर्जामा हरेक वर्ष सुधार आइरहेको छ । अघिल्लो आर्थिक वर्षमा ४.२९ प्रतिशत रहेको खराब कर्जा अनुपातलाई बैंकले गत आर्थिक वर्षको अन्त्यमा ३.५५ प्रतिशतमा सिमित पारेको छ । 
नेपाल बैंक लिमिटेडको खराब कर्जा ३.३२ प्रतिशतबाट घटेर २.९० प्रतिशत कायम भएको छ ।
सिभिल बैंक लिमिटेडको खराब कर्जा ३.९६ प्रतिशतबाट घटेर २.६५ प्रतिशत कायम भएको छ । 
जनता बैंक नेपाल लिमिटेडको खराब कर्जा २.०९ प्रतिशतबाट घटेर १.३२ प्रतिशत कायम भएको छ ।
सनराइज बैंक लिमिटेडको खराब कर्जा १.३७ प्रतिशतबाट १.२८ प्रतिशतमा झरेको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको खराब कर्जा २.०२ प्रतिशतबाट घटेर १.२५ प्रतिशत कायम भएको छ ।
सिद्धार्थ बैंक लिमिटेडको खराब कर्जा १.१५ प्रतिशतबाट १.०५ प्रतिशतका झरेको छ ।
कुमारी बैंक लिमिटेडको खराब कर्जा १.८६ प्रतिशतबाट घटेर १.०१ प्रतिशत कायम भएको छ ।
एनएमबि बैंक लिमिटेडको खराब कर्जा १.६८ प्रतिशतबाट ०.८८ प्रतिशतका कायम भएको छ ।
मेगा बैंक नेपाल लिमिटेडको खराब कर्जा १.३६ प्रतिशतबाट घटेर ०.८२ प्रतिशत कायम भएको छ ।
प्राइम कमर्सियल बैंकको खराब कर्जा ०.८८ प्रतिशतबाट घटेर ०.६६ प्रतिशत कायम भएको छ ।
नविल बैंक लिमिटेडको खराब कर्जा ०.८० प्रतिशतबाट ०.५५ प्रतिशतका झरेको छ ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पनि खराब कर्जा १.१५ प्रतिशतबाट ०.४० प्रतिशतमा झार्न सफल भएको छ ।
माछापूच्छ्रे बैंक लिमिटेडले  आफ्नो खराब कर्जा स्थीर राख्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा जस्तै गत आर्थिक वर्षको अन्त्यमा पनि यो बैंकको खराब कर्जा अनुपात ०.३८ प्रतिशत रहेको छ ।
एभरेष्ट बैंक लिमिटेडको खराब कर्जा ०.२५ प्रतिशतबाट ०.२० प्रतिशतका झरेको छ ।
स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडको खराब कर्जा ०.१९ प्रतिशतबाट गत असार मसान्तमा ०.१८ प्रतिशतमा झरेको छ ।
एनआईसी एशिया बैंकले खराब कर्जा ०.०६ प्रतिशत कायम गरेको थियो । अघिल्लो आर्थिक वर्षमा बैंकको खराब कर्जा ०.३६ प्रतिशत रहेको थियो । 

खराब कर्जा के हो ?
बैंकले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई एनपिएल (नन पर्फमिङ लोन – non performing loan_ अर्थात खराब कर्जा भनिन्छ । निश्चित समयभित्र भुक्तान गर्ने गरी कुनै पनि बैंक तथा वित्तीय संस्थाले ऋणीलाई निश्चित रकम उपलब्ध गराउँछ । यद्यपि, कहिलेकाहीँ ऋणीले निर्धा्रित समयमा ऋण चुक्ता नगर्ने अवस्था आउँछ । ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछि सम्म पनि बैंकले ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराबकर्जा अन्तर्गत राखिन्छ । सम्भव भएसम्म यस्तो कर्जा ऋण लिँदा राखिएको धितो लिलाम गरेर उठाइन्छ । कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराबकर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ ।

कसरी पुग्छ बैंकलाई हानी ?
सर्वसाधारणबाट उठाएको निक्षेप विभिन्न क्षेत्रमा लगानी गरेर बैंकले नाफा आर्जन गर्ने गर्दछ । यद्यपि, लगानी गरेको पैसा नै नउठ्दा बैंकको नाफामा गिरावट आउँछ । खराब कर्जा बढेर समस्याग्रस्त अवस्थामा पुगेको बैंकलाई सर्वसाधारणले विश्वास गर्दैनन् । खराबकर्जाले बैंकको छविलाई नै गिराउने हुन्छ । बैंकहरुले जथाभावी रुपमा कर्जा लगानी गर्दा यस्तो समस्या आउँछ । अनुत्पादनमूलक क्षेत्रमा गरिएको लगानी डुब्ने खतरा बढी हुन्छ । लगानी गर्न लागेको क्षेत्रको अध्ययन नगर्दा पनि यस्तो समस्या निम्तिन्छ । कतिपयले चिनेजानेको भरमा कर्जा पास गराउने गरेका कारण पनि बैंकले घाटा व्यहोर्ने स्थिती आइपर्ने गरेको छ । यस्ता क्रियाकलापहरुका लागि बैंकप्रतिको विश्वास घट्दै जाने हुन्छ । फलस्वरु बैंकमा कारोबार कम हुन गई व्यवसायमा उल्लेख्य ह्रास आउँछ र संस्था समस्याग्रस्त हुन जान्छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]