बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले अब लघुवित्त वित्तीय संस्थाहरु ग्रामीण भेगमा जानुपर्ने बताएका छन् । लघुवित्त संघ नेपालको लघुवित्त कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले लघुवित्तहरु सहज, सहरबाट नजिक र सेवा सुविधाहरु पुगेका स्थानमा विस्तारित भइसकेकाले अब गरिब तथा विपन्न वर्गमा केन्द्रित भएर गाउँगाउँसम्म पुग्नुपर्ने बताए ।
निरपेक्ष गरीबीलाई २१ प्रतिशतमा झार्न लघुवित्त क्षेत्रको उल्लेख्य योगदान रहेको उल्लेख गर्दै अर्थमन्त्री डा. खतिवडाले अब लघुवित्तहरुमाझ कठिन ठाउँहरुमा सेवा विस्तार गर्ने चुनौति रहेको बताए । उनले भने, ‘लघुवित्तहरु जतिजति सेवा विस्तार गर्दै जान्छन्, उति कठिन ठाउँहरु आउँछन् ।’ भौगोलिक हिसाबले कठिन स्थानहरु, वित्तीय चेतना नभएका जनतामाझमा, पूर्वाधार र बजारहरुको विकास भइनसकेका गाउँहरुमा अब लघुवित्तको कार्यक्षेत्र विस्तार हुनुपर्नेमा उनले जोड दिए । यसका लागि स्थानीय तहसँग सहकार्य गरेर अहिलेसम्म वित्तीय सेवा नपुगेका स्थानहरुमा सेवा विस्तार गर्नुपर्ने उनको भनाई थियो ।
लघुवित्त संघ नेपालकी अध्यक्ष पद्यमसना शाक्यको अध्यक्षतामा एवम् अर्थमन्त्री डा. युजराज खतिवडाको प्रमुख आतिथ्यतामा आयोजित गोष्ठी दुई दिनसम्म संचालन हुने छ । गोष्ठीको उद्घाटन सत्रमा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता नारायण पौडेल लगायतको उपस्थिती रहेको थियो ।