बैंकिङ खबर । यूनाईटेड इन्स्योरेन्सले पुँजी बृद्धिको लागि तिन वटा विकल्प अघि सारेको छ । कम्पनीका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईका अनुसार, कम्पनीले मर्जरलाई प्रथम विकल्पको रुपमा राखेको छ । ‘पुँजी वृद्धिपछि त्योअनुसारको व्यव साय विस्तारका लागि बजारको सम्भावना छैन,’ उनले भने, ‘ पुजी बृद्धि अनुसारको ब्यवसाय विस्तारको लागि अहिलेको अवस्थामा पहिलो र उपयूक्त विकल्प भनेको मर्जर नै हो ।’
यदि युनाइटेड सरहको नै अन्य कुनै पनि कम्पनीको राम्रो प्रस्ताव आएको खण्डमा मर्जरमा जान तयार रहेको भट्टराईले बताए । आफैँ एक अर्ब पुँजी पुर्याएर ५०।६० करोड विजनेस गर्दा कर्मचारीलाई तलब खुवाउन मात्रै ठिक्क हुने भन्दै उनले विजनेस बढाउनका लागि मर्जरमा जानु नै उपयुक्त रहेको उल्लेख गरे । ‘अहिले युनाइटेड इन्स्योरेन्सको चुक्तापुँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ । यो पुँजीलाई बढाएर एक अर्ब पुर्याउँला रिटर्न दिन गाह्रो पर्छ,’ उनले भने, ‘लगानीकर्ताले लगानी गरेपछि रिटर्न खोज्छन् । तर, त्यसका लागि अहिले बजार सानो छ ।’
त्यस्तै, विदेशी साझेदारहरु लगानी गर्न आउँछन् भने त्यसका लागि युनाइटेड इन्स्योरेन्सले बाटो खुला गरेको छ । बजार सानै भएपछि अहिले स्थायी सरकार आएका कारण व्यवसाय पनि बढ्दै जाने अवस्था सिर्जना भएको उल्लेख गर्दै भट्टराईले लामो समयको लागि लगानी गर्ने विदेशी तथा स्वदेशी साझेदारका लागि बाटो खुला गरेको बताए ।
तेस्रो तथा अन्तिम विकल्पको रुपमा कम्पनीले हकप्रद निष्काशनलाई राखेको छ । सोचेअनुरुप मर्जर तथा विदेशी साझेदारको विकल्पले काम नगरेको अवस्थामा कम्पनीले २४० प्रतिशत हकप्रद सेयर निष्काशन गरेर समयमा नै एक अर्ब चुक्तापुँजी पुर्याउने योजना बनाएको छ ।


