रुपा कोइराला/निर्जला खड्का–बैंकिङ खबर । आर्थिक वर्ष २०७४।७५ मा निक्षेप तथा कर्जा सुरक्षण कोषमा ८९ वटा बैंक तथा वित्तीय संस्थाको चार खर्ब ३० अर्ब रुपैयाँ बराबरको निक्षेपको सुरक्षण भएको छ । सुरक्षण रकम वार्षिक लक्ष्यको तुलनामा १०७.६८ प्रतिशत बढी हो । कुल एक करोड ९३ लाख प्राकृतिक व्यक्तिको नाममा रहेको बचत, चल्ती, कल तथा मुद्धति निक्षेपको सुरक्षणबाट ८१ करोड २८ लाख रुपैयाँ बराबरको सुरक्षण शूल्क प्राप्त भएको कोषले जनाएको छ । सुरक्षण शूल्क कोषको वार्षिक लक्ष्यभन्दा १०१.६१ प्रतिशत बढी हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप सुरक्षण भएका बैंक तथा वित्तीय संस्थाको संख्यामा २३ प्रतिशतले कमी आएको छ भने निक्षेपकर्ताको संख्या २६ प्रतिशत अर्थात ४० लाख ४७ हजार पाँच सय ५७ ले बढेको छ । त्यस्तै, निक्षेप रकम १३ प्रतिशत अर्थात ४८ अर्ब ८४ करोड ९१ लाख रुपैयाँले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा ११५ वटा बैंक तथा वित्तीय संस्थाका एक करोड ५३ लाख २१ हजार पाँच सय ४४ निक्षेपकर्ताको तीन अर्ब ८१ अर्ब ८९ करोड एक लाख रुपैयाँ निक्षेपको सुरक्षण भएको थियो ।
कोषको तथ्यांकअनुसार, गत आर्थिक वर्षमा २८ वाणिज्य बैंकका एक करोड ५९ लाख एक सय ६३ निक्षेपकर्ताको तीन खर्ब ५८ अर्ब ३८ करोड ६९ लाख रुपैयाँ निक्षेपको सुरक्षण भएको छ । यसबाट, ६७ करोड ७८ लाख ९५ हजार रुपैयाँ सुरक्षण शूल्क संकलन भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेपकर्ताको संख्या ३१ प्रतिशत अर्थात ३७ लाख ५६ हजार नौ सय ५५ ले बढेको हो । सुरक्षण भएको निक्षेप रकम भने १७.८८ प्रतिशत अर्थात ५४ अर्ब ३५ करोड ७७ लाख रुपैयाँले बढी हो ।
त्यस्तै, अघिल्लो वर्ष ५३ वटा विकास बैंकका २७ लाख ५३ हजार छ सय २४ निक्षेपकर्ताको ६७ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ निक्षेपको सुरक्षण भएकोमा गत वर्ष जम्मा ३५ वटा विकास बैंकका २९ लाख ८३ हजार चार सय निक्षेपकर्ताको ६३ अर्ब २१ करोड ९४ लाख रुपैयाँ निक्षेपको सुरक्षण भएको छ । जसबाट, कुल ११ करोड ७६ लाख १५ हजार रुपैयाँ सुरक्षण शूल्क प्राप्त भएको कोषको तथ्यांक छ । निक्षेपकर्ताको संख्या आठ प्रतिशत अर्थात दुई लाख २९ हजार सात सय ७६ रुपैयाँले बढेको भए तापनि मर्जरका कारण विकास बैंकको संख्या उल्लेख्य गिरावट आएका कारण निक्षेप रकम भने ६.९४ प्रतिशत अर्थात् चार अर्ब ७१ करोड ४३ लाख रुपैयाँले घटेको हो ।
यसबाहेक, २४ वटा वित्त कम्पनीका चार लाख ४१ हजार आठ सय ९६ निक्षेपकर्ताको आठ अर्ब ३३ करोड २६ लाख रुपैयाँ निक्षेपको सुरक्षण भएको छ । यसबाट, एक करोड ५८ लाख ६७ हजार रुपैयाँ सुरक्षण शूल्क प्राप्त भएको छ । जबकी, अघिल्लो आर्थिक वर्षमा ३२ वटा वित्त कम्पनीका तीन लाख ८५ हजार नौ सय ८६ निक्षेपकर्ताको नौ अर्ब २० करोड एक लाख रुपैयाँ निक्षेपको सुरक्षण भएको थियो । यसआधारमा, वित्त कम्पनीहरुको संख्या घटे तापनि निक्षेपकर्ताको संख्या १४ प्रतिशत अर्थात ५५ हजार नौ सय १० ले बढेको देखिन्छ । निक्षेप रकम भने ९.४३ प्रतिशत अर्थात ८६ करोड ७५ लाख रुपैयाँले घटेको हो ।
निक्षेप तथा कर्जा सुरक्षण कोषमा निक्षेप सुरक्षण गर्ने लघुवित्त वित्तीय संस्था भने दुई वटा मात्रै रहेका छन् । जसका ४३ हजार छ सय ४२ निक्षेपकर्ताको ८० करोड तीन लाख रुपैयाँ निक्षेपको सुरक्षण हुँदा १४ लाख ७९ हजार रुपैयाँ सुरक्षण शूल्क प्राप्त भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेपकर्ताको संख्या १३ प्रतिशत अर्थात् चार हजार नौ सय १६ र निक्षेप रकम १०.०७ प्रतिशत अर्थात सात करोड ३२ लाख रुपैयाँ बढी हो । आर्थिक वर्ष २०७३।७४ मा दुई वटा लघुवित्तका ३८ हजार सात सय ३६ निक्षेपकर्ताको ७२ करोड ७१ लाख रुपैयाँ निक्षेपको सुरक्षण भएको थियो ।