बैंकिङ खबर । शाखा सञ्जालमा निजी क्षेत्रकै सबैभन्दा ठूलो बैंक हो एनआइसी एशिया बैंक । सरकारी स्वामित्वको कृषि विकास बैंकपछि सबैभन्दा धेरै शाखा विस्तार गर्ने दोस्रो बैंक एनआईसी एशिया बैंकले कुल २३१ शाखा संचालनमा ल्याएको छ । साथमा २२० एटिएम, १४ एक्सटेन्सन काउन्टर र १५ शाखारहित बैंकिङमार्फत आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ । त्यस्तै, हालसम्म बैंकले १५२० वटा पस मेसिन विक्री गरिसकेको छ । बैंकका झन्डै ६२०० पेआउट एजेन्टहरु रहेका छन् ।
६९ जिल्लामा शाखा
नेपालका कुल ७७ जिल्लामध्ये ६९ वटामा एनआईसी एशिया बैंकका शाखा विस्तार भइसकेका छन् । अरु वाणिज्य बैंकहरुको शाखा विस्तार नभएका ३४ स्थानीय निकायमा एनआईसी एशिया बैंकका शाखा विस्तारित छन् । एनआईसी एशिया बैंकका शाखा पुग्न बाँकी आठ जिल्लाहरु सोलुखुम्बु, सल्यान, मुस्ताङ, हुम्ला, खोटाङ, डोल्पा, मनाङ र दोलखा रहेका छन् । यी जिल्लाहरुमा पनि बैंकले छिटै नै शाखा पुर्याउन लागेको छ ।
एक वर्षमा ११२ नयाँ शाखा
गत आर्थिक वर्षमा बैंकले शाखा विस्तारलाई आक्रामक ढंगले अघि बढाएको थियो । आर्थिक वर्ष २०७४।७५ मा मात्रै एनआईसी एशिया बैंकले ११२ नयाँ शाखाहरु संचालनमा ल्याएको छ । यसबाहेक, गत आर्थिक वर्षभित्र बैंकले १० वटा एक्सटेन्सन काउन्टर, १५ शाखारहित बैंकिङ र १५० एटिएम थप गरेको छ ।
कुन प्रदेशमा कति शाखा ?
एनआआईसी एशिया बैंकका कुल २३१ शाखामध्ये ४१ वटा काठमाडौँ उपत्यकाभित्र रहेका छन् । बाँकी १९० वटा शाखा उपत्यका बाहिरका विभिन्न स्थानहरुमा रहेका छन् । बैंकको सबैभन्दा धेरै शाखा प्रदेश नं. ३ मा रहेका छन् । यहाँ एनआईसी एशिया बैंकका कुल ६३ शाखा संचालनमा छन् । त्यस्तै, प्रदेश नं. ६ मा सबैभन्दा कम सात शाखा मात्रै संचालनमा छन् । यसबाहेक, प्रदेश नं. १ मा ३८ वटा, प्रदेश नं. २ मा ३३ वटा शाखा,
प्रदेश नं. ४ मा २५ वटा, प्रदेश नं. ५ मा ४९ वटा र प्रदेश नं. ७ मा १६ वटा शाखा शाखा संचालनमा रहेका छन् ।
क्षेत्रीय कार्यालय १० वटा
एनआईसी एशिया बैंकका क्षेत्रीय कार्यालयहरु १० वटा रहेका छन् । दमक, विराटनगर, लाहान, वर्दिबास, विरगञ्ज, पोखरा, वुटवल, काठमाडौं, नेपालगञ्ज र धनगढीमा एनआईसी एशिया बैंकले क्षेत्रीय कार्यालय स्थापना गरेको छ ।
चालू आर्थिक वर्षमा ४६ शाखा थपिँदै
एनआईसी एशिया बैंकले चालू आर्थिक वर्षमा पनि शाखा विस्तारलाई प्राथमिकतामा राखेको छ । यो वर्ष बैंकले ४६ वटा शाखा विस्तार गर्ने योजना बनाएको छ । हालसम्म आफ्नो शाखा नपुगेका आठ जिल्लामा पनि बैंकले शाखा विस्तार गर्नेछ । सबै स्थानीय तहमा बैंक शाखा पुर्याउने सरकारी योजनालाई सघाउ पुग्ने गरी बैंकिङ पहुँच नपुगेका दुर्गम भेगहरुमा शाखा विस्तार गर्ने बैंकको योजना छ ।