July 17th, 2018

साउन ६ गतेदेखि ‘बीमा तालिम इन्स्टिच्युट’ सञ्चालनमा आउँदै

बैंकिङ खबर । साउन ६ गतेदेखि बीमा समितिले बीमा तालिम इन्स्टिच्युट संचालनमा ल्याउने भएको छ । बीमा क्षेत्रमा दक्ष जनशक्तिको उत्पादन गर्ने उद्देश्यले उक्त इन्स्टिच्युट संचालन गर्न लागेको बीमा समितिका निर्देशक राजुरमण पौडेलले बताए । बीमा कम्पनीहरु र बीमा समितिको सहभागितामा हाल एक करोड रुपैयाँको बीमा प्रवद्र्धन कोष खडा गरी उक्त कोष मार्फत बीमा तालिम इन्स्टिच्युट संचालन गर्न लागिएको उनले जानकारी दिए । इन्स्टिच्युटमा बीमा सम्बन्धि सम्पूर्ण गतिविधिहरु सिकाइने छ । 

विगतका वर्षदेखि नै बीमा समितिको रणनीतिक योजनाहरुमा बीमा एकेडेमीको कल्पना गरिएको थियो । सोही कल्पनालाई समितिले कार्यान्वयनमा ल्याउन लागेको हो । ‘अहिले हामीले इन्स्टिच्युटको रुपमा मात्रै सुरु गर्न लागेका छौँ,’ समितिका निर्देशक पौडेलले भने, ‘केही समयपछि यस इन्स्टिच्युटलाई एउटा कम्पनीका रुपमा अगाडि बढाउने हाम्रो योजना छ ।’

बीमा तालिमलाई नाफामुखि नबनाई सर्वसाधारणहरुलाई बढी मात्रामा सेवा प्रदान गर्ने गरी सेवामुखि बनाउने उनले बताए । न्युन आय भएका मानिसहरुलाई बीमाको दायरामा ल्याई उनीहरुको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले यस इन्स्टिच्युटको स्थापना गरिएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]