केही महिनाअघि बिमक संघको उपाध्यक्षबाट राजीनामा दिएका शेखर बरालले अधिवेशनअघि पदमा नफर्किने बताएका छन् । बैंकिङ खबरसंग बिहिबार कुरा गर्दै युनाईटेड इन्स्योरेन्सका सिइओसमेत रहेका बरालले आगामी मंसिरमा हुने भनिएको अधिवेशनअघि पदमा फर्केर नजाने बताएका हुन् । उनले बिमक संघ आफुहरुको छाता संगठन भएकाले यसप्रतिको जिम्मेवारी भएपनि अहिलेको कार्यसमितिको नेतृत्व पंक्तिको कार्यशैलीप्रतिमात्र आफ्नो असन्तुष्टि रहेको प्रष्ट पारे ।
बरालले केही महिनाअघि सर्भेयरको ‘आउटस्टेट’ शुल्क बृद्धि गर्दा अध्यक्ष विजयबहादुर शाहले एकलौटी ढंगले निर्णय गरेको भन्दै गत चैतमा राजीनामा दिएका थिए । संघले काठमाडौं उपत्यकादेखि ३५ किलोमिटरको दूरीमा स्थलगत रिपोर्ट तयार गर्न जाने सर्भेयरलाई दिइने आउटस्टेट शुल्क १५ सयबाट बढाएर २५ सय रुपैयाँ दिने निर्णय गरेको थियो । सो निर्णयमा बरालले असहमति जनाउँदै राजीनामा दिएका हुन् । यद्यपी उनले निर्णयमा भन्दा पनि निर्णय प्रक्रियामा आफ्नो असहमति रहेको स्पष्ट पारे । बरालका अनुसार सर्भेयरलाई दिइने शुल्क बृद्धि गर्दा अध्यक्ष शाहलगायतका चारजनाले मात्र निर्णय लिएका थिए ।
गएको बैशाख १ गतेदेखि नियुक्त हुने सर्भेयरको ‘आउटस्टेट’ शुल्क कार्यान्वयनमा पनि आइसकेको छ । काठमाडौं उपत्यकादेखि ३५ किलोमिटरको दूरीमा स्थलगत रिपोर्ट तयार गर्न जाने सर्भेयरलाई दिइने ‘आउटस्टेट’ शुल्क १५ सयबाट बढाएर २५ सय रुपैयाँ दिने निर्णय कार्यान्वयनमा आएको हो । सो निर्णयमा पनि बरालले असहमति जनाएका थिए । सर्भेयरको वर्गिकरण नगरी सबैलाई उही रकम दिनुपर्ने निर्णय भएकाले यो निर्णयबाट क्षमतावान सर्भेयरलाई मार परेको उनको तर्क थियो ।
यसअघि तत्कालीन अध्यक्ष केवलकृष्ण श्रेष्ठ घरेलु तथा साना उद्योग विकास बैंकको किर्ते फाइल बनाएको आरोपमा प्रहरीद्धारा पक्राउ परेपछि बीमक संघ लामो समयसम्म निष्कृय बनेको थियो । त्यसपछि २०७१ साल मंसिरमा अर्को कार्यसमिति चयन भएको १६ महिनापछि बीमक संघमा फेरी विवाद शुरु भएको थियो ।


