बैंकिङ खबर । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले साउन १ गतेदेखि चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । भदौ ४ गतेसम्म खुला रहने सेयरमा असार २१ गतेसम्म कायम शेयरधनीले १० कित्ता बराबर छ कित्ताको दरले आवेदन दिन पाउनेछन् ।
कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ९९ करोड ३६ लाख रुपैयाँ बराबरको ९९ लाख ३६ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआइविएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
हकप्रद आवेदन एनआइविएल एस क्यापिटल तथा शाखा कार्यालयहरु, नेशनल लाइफको सम्पूर्ण शाखा कार्यालयहरु र धितोपत्र बोर्डबाट अनुमति पाएका सम्पुर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट दिन सकिनेछ । कम्पनीको इक्रा रेटिङ “इक्रा एनपि आइपिओ ग्रेड ३“ रहेको छ । यो ग्रेडलाई राम्रो मानिन्छ ।
कम्पनीको पूँजी संरचना संस्थापक सेयर (नेपालीको) ४५ प्रतिशत, संस्थापक तर्फनै विदेशी लगानीकर्ताको १० प्रतिशत, सर्वसाधारण सेयरधनीको ३५ प्रतिशत र राष्ट्रिय बाणिज्य बैंकको १० प्रतिशत रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी एक अर्ब ६५ करोड रुपैयाँ रहेको छ । बीमा समितिले यही असार मसान्तसम्ममा जीवन बीमा कम्पनीले न्यूनतम चुक्ता पूँजी दुई अर्ब रुपैया पुर्याउनुपर्ने निर्देशन दिएको छ । ६० प्रतिशत हकप्रद जारी गरेसँगै कम्पनीको चुक्तापुँजी दुई अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ ।



