June 20th, 2018

बैंकिङ क्षेत्रमा KYC को महत्व

बैंकिङ खबर । कुनै पनि कम्पनीले आफ्नो ग्राहकको पहिचान थाहा पाउने प्रक्रियालाई केवाईसी(KYC) अर्थात नो योर कस्टुमर(Know your costumer) भनिन्छ । अझ प्रष्ट रुपमा भन्नुपर्दा, व्यक्तिगत विवरणका साथमा पारिवारिक विवरण एवम् व्यवसायिक विवरण समेत प्रष्ट रुपमा खुल्ने समग्र विवरणलाई केवाईसी भनिन्छ ।

बैंकिङ क्षेत्रमा केवाईसीलाई अझ महत्वका साथ हेरिन्छ । यस प्रक्रियाअन्तर्गत बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकहरुको पहिचान, ठेगाना, पृष्ठभूमि, व्यवसायिक संलग्नता, आम्दानी लगायतका विषयमा जानकारी संकलन गर्दछ । कुनै पनि बैंक अवैधानिक सम्पत्ति लुकाउने थलो नबनोस् भन्नका लागि ग्राहकले कुनै पनि खाता खोल्नुभन्दा अघि बैंकले केवाईसी फर्म भराउने गर्दछ । हरेक बैंकमा खाता खोल्दा केवाईसी फर्म पनि अनिवार्य रुपमा समावेश गरिएको हुन्छ ।

भर्नुपर्ने विवरणहरु
सामान्यतया बैंकहरूले केवाईसी फर्ममा भर्न लगाउने विवरणहरु उस्तै हुन्छन् । उक्त फर्ममा निम्न शीर्षकहरु राखिएको हुन्छ ः 
खाता नम्बर
नाम (आफ्नो¸ बुवारआमा र हजुरबुवाको नाम)
पेशा
औषत वार्षिक आय
नागरिकता वा पासपोर्ट वा  सवारी लाइसेन्स नम्बर
डेभिड वा क्रेडिट कार्ड लिएको भए त्यसको नम्बर
यदि कुनै व्यवसाय गर्ने भए
व्यवसायको विवरण (व्यापार¸ उद्योग वा सेवामुलक के हो खुलाउने)
औषत वार्षिक कारोबार
पान नम्बर वा भ्याट नम्बर
ठेगाना
स्थायी ठेगाना (कागजपत्रमा हुने अनुसारको)
अस्थायी ठेगाना (अहिले बसिरहेको ठाँउको ठेगाना)

आवश्यक कागजपत्रहरू
कुनै पनि बैंकमा गएर केवाई फर्म भर्दा निम्न कागजातहरु पनि पेश गर्नुपर्ने हुन्छ ः
स्थायी ठेगाना भए घरधनीको पहिचान खुल्ने कागजपत्र
अस्थायी ठेगाना भए घरमुलकीको विवरण भएको कागजपत्रको फोटोकपी
परिवारका सदस्यहरूको नाम थर¸ नागरिकता नं¸ नागरिकता जारी भएको ठेगाना र मिति
हाल बसोबास गरिरहेको स्थानसम्म पुग्ने नक्सा (नक्सा बनाउने ठाँउ फर्ममै हुन्छ)
हालसालै खिचिएको फोटो
देशमा कारोबार हुने पैसालाई शुद्ध राख्नु सबै नागरिकको कर्तव्य पनि हो । त्यसैले यदि यो फर्म भर्नुभएको छैन भने जतिसक्दो चाँडो गएर भरिहाल्नुहोस् ।

किन भर्ने केवाईसी फर्म ?
केवाईसी फर्म भरेपछि बैंकसँग तपाईको बारेमा पछिल्लो जानकारी हुन्छ, जसले तपाईलाई कारोबार गर्न सजिलो बनाउँछ ।
नेपाल राष्ट्र बैंकलेनै बैंकहरूलाई केवाईसी अनिवार्य रूपमा भर्न लगाएकाले यसलाई नभर्दा पछि बैंकिङ्ग कारोबारमा झण्झट हुन सक्छ ।

केवाईसी अन्तर्गत कसैले कालोधन जम्मा गर्नका लागि अथवा भ्रष्टाचार गरेको पैसा लुकाउनका लागि बैंकको प्रयोग नगरोस भनेर बैंकमा पैसा जम्मा गर्न आउने ग्राहकको पृष्ठभूमिदेखि लिएर हरेक कुराको जाँच गरिन्छ । त्यसैले, केवाईसीले बैंकको सुरक्षामा मद्धत गर्छ । त्यस्तै, ग्राहक तथा अन्य वित्तीय साझेदारसँगको सम्बन्ध मजबुद बनाउनका लागि समेत केवाईसी सहयोगी बन्दै आएको छ ।

बैंकहरुले आवश्यकताअनुसार, यसको प्रक्रियामा परिमार्जन गर्ने गर्दछन् । सम्पत्ति शुद्धिकरण, भ्रष्टाचार, चोरी, ठगी लगायतका वित्तीय अपराध रोक्नका लागि केवाईसी को अवधारणा ल्याइएको हो । केवाईसीले कुनै पनि बैंक तथा वित्तीय संस्थालाई अपराधिक क्रियाकलापमा प्रयोग हुनबाट जोगाउँछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]