बैंकिङ खबर । व्याजदरको सम्बन्धमा बैंकर्सहरुबीच भएको भद्र सहमति तोडिएसँगै बैंकहरुबीच व्याजदरमा प्रतिष्पर्धा सुरु भएको छ । बैंकर्स संघले ११ प्रतिशतभन्दा बढी व्याज नदिने भन्दै गरेको सहमति आइतबार खारेज गरेको थियो । उक्त सहमति खारेज भएसँगै बैंकहरु धमाधम व्याजदर बढाउन थालेका छन् ।
एनआईसी एशिया बैंकको मुद्दतिमा १२ प्रतिशत व्याज
सहमति खारेज भएको दिन नै एनआईसी एशिया बैंकले मासिक रुपमा व्याज दिने गरी १२ प्रतिशत वार्षिक व्याजदर भएको धनवर्षा मुद्दती निक्षेप योजना सार्वजनिक गर्यो । सोमबारदेखि लागू भएको यस योजनाअन्तर्गत देशभर रहेका एनआईसी एसिया बैंकको कुनैपनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाता खोल्न सकिने छ । साथै एक बर्षको अवधिको लागि खोल्न सकिने यस मुद्दति योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशतसम्म कर्जा सुबिधा समेत उपलब्ध गराउन सकिने छ ।
यसअघि पनि बैंकले सञ्चालनमा ल्याएको सर्वा्िधक उच्च व्याजदर सहितको धनबर्षा मुद्दती निक्षेप योजना ग्राहकहरुमाझ अत्यन्त लोकप्रिय भएको थियो । निजी क्षेत्रका बैंकहरुमध्ये २०७४ साल चैत्र मसान्तसम्मको बित्तिय बिवरण बमोजिम सबैभन्दा बढि निक्षेप संकलन गर्न सफल तथा कर्जा प्रवाहको हिसावले निजी क्षेत्रको बैंकहरुमध्ये दोश्रो ठुलो बैंकको रुपमा स्थापित भैसकेको बैंकले धनवर्षा मुद्दती निक्षेप योजनाप्रति ग्राहकहरुकोे आकर्षण र लोकप्रियताबाट उत्साहित भएर पुनः यो योजना ल्याएको जनाएको छ । यस पटक पनि यस योजनाबाट बढिभन्दा बढि व्यक्तिगत एवम् संस्थागत ग्राहकमहरुले लाभ उठाउने विश्वास बैंकले लिएको छ ।
सिभिलको बचतमा १० प्रतिशत
एनआईसी एशिया बैंकलाई पनि उछिन्दै सिभिल बैंकले लिमिटेडले सोमबारदेखि नै लागू हुने गरी व्याजदर बढायो । बैंकले मुद्दतिमा मात्र नभएर बचत खातामा समेत व्याजदर बढाएको छ । सिभिलले बचतकर्तालाई उच्च प्रतिफल दिने भन्दै २२२ दिने मुद्धती खातामा १२.२२ प्रतिशत र चन्द्रसूर्य बचत खातामा १० प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बचत खातामा न्यूनतम १० हजार र मुद्धती बचतमा तीन लाख रुपैयाँ मौज्दात हुनुपर्ने छ । बैंकले साधारण बचत खातामा १० प्रतिशत वार्षिक ब्याजदरका अतिरिक्त निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एस.एम.एस. र मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा शतप्रतिशत छूट तथा पाँच लाख रुपैयाँसम्मको दुर्घटना मृत्युरअपाङ्गताको निःशुल्क बीमा ग्राहकहरुकै घरदैलोमा सेवा प्रदान गर्ने जनाएको छ । सिभिल बैंकले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा तथा योजनाहरु प्रदान गर्दै जाने प्रतिवद्धता समेत जनाएको छ ।
प्राइम बैंकले पनि मुद्दतिमा १२ प्रतिशत पुर्यायो
व्याजदर बढाउने प्रतिष्पर्धामा प्राइम कमर्सियल बैंक पनि मिसिएको छ । बैंकले मंगलबारदेखि लागू हुनेगरि एक बर्ष वा सोभन्दा बढी अवधिको मुद्धती निक्षेपमा बार्षिक १२ प्रतिशत ब्याजदर प्रदान गर्ने बताएको छ । यसका लागि न्यूनतम मौज्दात ५० हजार रुपैयाँदेखि मुद्धती खाता खोल्न सकिने बैंकले जनाएको छ ।
सेञ्चुरी बैंकले सबैलाई उछिन्यो
सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकलाई उच्च ब्याजदरसहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले ३ महिनादेखि ६ महिनासम्मको मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२ प्रतिशत र ६ महिनादेखि १ वर्षसम्मको मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२.५ प्रतिशत प्रदान गर्ने गरि दुई नयाँं योजना ल्याएको छ ।