Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कर्जा र निक्षेपबीचको असन्तुलनका कारण व्याजदरमा चाप

२०७५ जेष्ठ २९ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको कर्जा र निक्षेपबीचको असन्तुलनका कारण व्याजदर प्रभावित भएको बताएको छ । चालू आर्थिक वर्षको पहिलो १० महिना अर्थात वैशाख मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थितीको समीक्षा गर्दै केन्द्रीय बैंकले यस्तो बताएको हो । ‘कर्जा र निक्षेपबीचको असन्तुलनले कर्जाको ब्याजमा चाप पारिरहेको छ,’ राष्ट्र बैंकद्धारा सोमबार सार्वजनिक गरिएको समीक्षा प्रतिवेदनमा उल्लेख भनिएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार, वैशाख मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप वार्षिक विन्दुगत आधारमा १६ प्रतिशतले बढेको छ । यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.६ प्रतिशत, ३५.० प्रतिशत र ४५.२ प्रतिशत रहेको छ । मुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.१४ प्रतिशतका झरेको छ ।

सोही अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा भने १९.८ प्रतिशतले बढेको छ । कुल प्रवाहित कर्जामध्ये, वाणिज्य बैंकहरुको कर्जा प्रवाह १८.३ प्रतिशत, विकास बैंकहरुको १८.२ प्रतिशत र वित्त कम्पनीहरुको ११.४ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १५.० प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । त्यस्तै, ट्रष्ट रिसिट (आयात) कर्जा ८०.२ प्रतिशत (रु.५१ अर्ब ७६ करोड) ले वृद्धि भई रु. ११६ अर्ब २९ करोड पुगेको छ भने हायर पर्चेज कर्जा ११.१ प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा १३.६ प्रतिशतले बढेको छ । रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) भने १४.० प्रतिशतले बढेको छ । 

‘वार्षिक विन्दुगत आधारमा दश महिनासम्ममा कर्जा प्रवाहको वृद्धिदर (१९.८ प्रतिशत) ले निरन्तर रुपमा निक्षेप परिचालनको वृद्धिदर (१६ प्रतिशत) लाई उछिनेको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘तथापि, २०७५ वैशाखमा निक्षेपको भारित औसत ब्याजदर ६.६ प्रतिशत रहेबाट यसले कर्जाको ब्याजलाई अंकुशित गर्नुपर्ने देखिन्छ ।’

Ad