माधव निर्दोष, संयोजक, वित्तीय जागरण : राष्ट्रिय अभियान । लघुवित्त दुई वटा शब्द मिलेर बनेको हुन्छ – लघु र वित्त । लघु भन्नाले सानो र वित्त भन्नाले पुँजी भन्ने बुझिन्छ । लघुवित्तलाई अङग्रेजीमा माइक्रोफाइनान्स भनिन्छ । सामान्य अर्थमा लघुवित्त वित्तीय संस्था भनेको सानो पुँजी हो । तर, विस्तृत रुपमा भन्नुपर्दा ग्रामीण भेगमा बसोबास गर्ने गरिब तथा विपन्न व्यक्तिहरुको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले स्थापना भएका संस्थाहरु नै लघुवित्त संस्थाहरु हुन् । लघुवित्तले आर्थिक रुपमा कमजोर भएका मानिसहरुलाई बिना धितो कर्जा प्रवाह गरेर टेवा पर्याउँदै आएको छ ।
खासगरी लघुवित्त वित्तीय संस्थाहरुले ग्रामीण भेगमा बसोबास गर्ने, कम आयस्तर भएका, विपन्न वर्गलाई नै मुख्य केन्द्रविन्दु बनाएका हुन्छन् । बिशेष गरी महिलाहरु लघुवित्त वित्तीय संस्थाबाट लाभान्वित भएका छन् । यस्ता लघुवित्त वित्तीय संस्थाहरुले महिलाहरुलाई घरायशी हिसाबकिताब लगायत आयआर्जनमा सक्षम बनाउन तथा उद्यमशील बन्ने वातावरण बनाउँदै आएका छन् । लघुवित्त वित्तीय संस्थाले गरीब तथा विपन्न मानिसहरुलाई आर्थिक तथा सामाजिक रुपमा अघि बढाउन महत्वपुर्ण भुमिका खेलेका हुन्छन् । लघुवित्त वित्तीय संस्थाले महिला सम्बन्धि विभिन्न सिपमुलक तालिम तथा कार्यक्रमहरुलाई अघि सारेर महिला सशक्तिकरणमा सहयोग गरेको छ । हिजो आफ्नो घरको हिसाब किताब गर्न नसक्ने महिलाहरु आज विभिन्न महिला समुह खोलेर ५०÷६० जनाको समुहलाई व्यवस्थापन गर्न सक्षम भएका छन्, जसको आधार लघुवित्त हो ।
लघुवित्तले कर्जा प्रवाह मात्र हैन, वित्तीय चेतना पनि प्रवाह गर्ने गर्दछ । लघुवित्त वित्तीय संस्थाले उद्यम गर्ने व्यक्तिहरुको लागि चेतनामुलक सन्देश प्रवाह गरेर सबैलाई उद्यमशील बन्नतर्फ प्रेरित गर्दछ । ग्रामीण भेगका मानिसहरुलाई बैकिङ पहुँच विस्तार गर्ने उद्देश्यले लघुवित्त वित्तीय संस्थाहरुको स्थापना भएका हुन् । लघुवित्त वित्तीय संस्थाले उत्पादनमुलक कार्यका लागि उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्दछ ।
उद्यमशील कसरी बन्ने ?
लघुवित्त वित्तीय संस्थाहरुले सर्वसाधरणहरुलाई उद्यमशील बनाउन निकै ठुलो भुमिका खेलेका हुन्छन् । लघुवित्तले कर्जा प्रवाह गर्नुका साथै कर्जालाई परिचालन गर्न समेत सिकाउँछ । जो मानिसले पुँजीलाई सहि रुपमा पचिालन गर्ने सक्छ, त्यो व्यक्ति उद्यमशील बन्न सक्छ । सानो सानो पुँजीलाई सहि रुपमा परिचान गरेर उद्यम व्यवसायमा सफलता पाउन सकिन्छ । यदि, कसैले आफूसँग भएको पाँच हजार रुपैयाँ खर्च गरेर सक्छ भने त्यसलाई पुँजीको सहित परिचालन मान्न सकिँदैन । तर, त्यही पाँच हजार रुपैयाँले २५ वटा कुखुराको चल्ला किनेर व्यवसाय गर्यो भने यसलाई पुँजीको सहि परिचालन मान्न सकिन्छ । किनकि, यसमा केही महिनापछि उसले आम्दानी गर्न सक्छ र व्यवसायलाई निरन्तरता दिन सक्छ ।
धेरै पैसालाई घरमा थुपारेर पुँजी परिचालन हुँदैन बरु थोरै पैसालाई उद्यम व्यवसायमा लगानी गर्यो भने त्यहाँबाट आम्दानी भित्राउन सकिन्छ । पैसाबाट पैसा फलाउन पुँजीलाई सक्दो रुपमा परिचालन गर्ने क्षमता हुनुपर्छ । सानो पैसालाई पनि व्यवसायिक रुपमा लगानी गरेर धेरै पैसा कमाउन सकिन्छ । पैसा परिचालन त्यति बेला हुन्छ, जति बेला पैसा लगानी गरेर केही आम्दानी हुन्छ ।
गरिब र अशिक्षित व्यक्तिले पनि थोरै पैसालाई उचित ठाउँमा परिचालन गर्न सक्छन् । गरिब मानिसले पनि पैसाको उचित परिचालन गर्न जान्यो भने राम्रो आम्दानी गरी सफलता हात गर्न सक्दछन् । आफुसँग भएको थोरै पैसालाई सहि रुपमा उचित ठाउँमा परिचालन भयो भने अवश्य सफलता पाउन सकिन्छ र उद्यमी बन्न सकिन्छ ।
एउटी महिलाको जीवन कथा
म बैकिङ एक्सपो इटहरीमा जाँदा त्यही गाउँकी महिला जितनीदेवी खाले भाषण गर्नु भएको थियो । उहाँले भाषण गरेको सुन्दा सबै मानिसको आँखाभरी आँसु आयो । उहाँले भन्नुभयो “मसँग पैसा थिएन । श्रीमानले हेला गर्नु हुन्थ्यो । सबै घरपरिवारले हेला गर्थे । बोक्सीको आरोप लगाउँथे । दाइजो नल्याएको भनेर सासु ससुराले हेला गर्नुहुन्थ्यो । एक छाक मासु खानलाई छिमेकीसँग ऋण माग्न जाँदा तिर्न सक्दैनौ भनेर पैसा दिएनन् । त्यो वर्षको दशै मेरो लागि सदाझैँ सामान्य दिनचर्या नै भयो । त्यसपछि म केही गर्छु भनेर साहस बोकेर लघुवित्तमा गएँ र १५ हजार कर्जा लिएँ । त्यसबाट पाँच वटा बङगुर ल्याएर पाल्न सुरु गरेँ । मलाई फाइदा हुँदै गएपछि थप बंगुर ल्याए र २०० वटा बनाएँ । साथमा, तरकारी खेती पनि सुरु गरेँ । अहिले मसँग ट्रयाक्टर छ, मेरो व्यवसाय पनि राम्रो चल्दै आएको छ । अहिले मेरो राम्रो आम्दानी हुन्छ । पहिला पहिला मलाई एक सय रुपैयाँ ऋण नदिने मान्छेहरु अहिले मलाई भेट्न घरमै आउँछन् ।”
उनको जीवन कथा सुनेर सबै मानिसहरु लघुवित्तको सहायताले उद्यमी बन्नतर्फ प्रेरित भएका छन् । सानो स्तरबाट पनि व्यवसाय गरेर उद्यमी बन्न सकिन्छ भन्ने सबैमा साहस आएको छ, जसको आधार ती महिला नै हुन् । यसबाट के सिक्न सकिन्छ भने, आफूसँग पैसा छैन, अशिक्षित छु भनेर हिम्मत हार्नु हुँदैन । लघुवित्तले पैसा नहुनेलाई विना धितो कर्जा दिन्छ र व्यवसाय गर्छु भन्नेलाई तालिम पनि दिने गर्दछ । जस्तै ५ वटा बाख्रा ल्याएर बाख्रा मर्छ कि मेरो व्यवसाय डुब्छ कि भनेर हिम्मत हार्नु हुँदैन । साहस गरेर आफ्नो व्यवसायलाई अगाडी बढाउँदै लगियो भने अवश्य सफलता मिल्छ ।
लघुस्तरबाट विकास सम्भव छ
लघुस्तरबाट विकास सम्भव छ । लघुवित्तले थोरै लगानीबाट उद्यमशीलता हासिल गर्न प्रेरित गर्दछ । सानो कामबाट पुँजी परिचालन गरेर व्यवसाय सञ्चालन गर्नेहरु सफल भएका छन् । ग्रामीण भेगका जनताहरु बैंकमा कर्जा माग्न जाँदा धेरै प्रक्रिया खोज्दछ र धितो पनि राख्नुपर्दछ । त्यसकारण लघुवित्तबाट बिना धितो थोरै कर्जा लिएर व्यवसाय सुरु गर्यो भने अवश्य सफलता हात पार्न सकिन्छ । जस्तै, हरि भन्ने व्यक्तिले २५ हजारमा ४ वटा बाख्रा ल्याएर व्यवसाय सुरु गर्छ । त्यसको ६ महिनापछि ४ वटा बाख्रा ८० हजारमा बिक्री गरेर फेरी उसले १० वटा बाख्रा थप्छ । ६ महिनापछि फेरी दुई लाख कमाउँछ । यसरी व्यवसाय दिन प्रतिदिन नाफा हुँदै जान्छ । लघुवित्तले मिहिनेती र साहस गर्ने व्यक्तिलाई झन् बढी प्रोत्साहन गर्ने गर्दछ ।
सानो सानो पुँजीलाई सही बाटोमा लगानी गर्न सकियो भने आर्थिक समृद्धितर्फ जान सकिन्छ । सानो पुँजीलाई परिचालन गरेर उद्यमी बन्न सकियो भने गरीबी न्युनीकरणमा पनि सहयोग पुग्दछ । लघुवित्तलाई बुझेर लघुवित्तसँग सहकार्य गर्ने हो भने हाम्रो आर्थिक अवस्थमा टेवा पुग्ने कुरामा दुई मत देखिँदैन । त्यसैले सानो पुँजीलाई पनि सहि रुपमा लगानी गर्नुपर्दछ, अनि मात्र सफलता पाउन सकिन्छ ।